चाडपर्व, खानपिन र व्यक्तिगत स्वास्थ्यको हेरचाह

शरद ऋतुको सुरुवातसँगै नेपालमा चाडपर्वको मौसम सुरु हुने गर्दछ । जनैपूर्णिमा, हरितालिका तीज सकिए लगत्तै बडा दशैं, तिहार, नेपाल सम्बत, छठ, ईद, क्रिसमस लगायत चाडपर्वहरु हाम्रो घरदैलोमा आईसकेका छन् । चाडपर्व भन्ने वित्तिकै जनमानसमा मिठो खाने, राम्रो लगाउने, आफन्तहरु, साथीहरु, छरछिमेक जमघट हुने र पेय पदार्थ लगायत स्पाइसी खानेकुराहरु खाएर रमाईलो गर्ने भन्ने चलन रही आएको छ ।

मिठो खाने भन्नाले प्राय गरेर माछामासु, तेल लगायतका चिलो पदार्थमा तारेका खानेकुरा, गुलियोजन्य खानेकुरा, मदिराजन्य पेय पदार्थ, चिसो पेय पदार्थ, खाना लामो समयसम्म टिकाउन प्रयोग गरिने केमिकलयुक्त खानेकुरा तथा विभिन्न रङ्गहरु प्रयोग गरिएका खानेकुराहरुलाई लिने गरिछ ।

अझ पछिल्लो समयमा सामान्य पर्व तथा ऋतिरिवाजमा पनि केक अनिवार्य साधनको रुपमा प्रयोग भई विभिन्न प्रकारका केक काटेर उत्सव मनाउने चलन बढ्दै गईरहेको छ । देखावटी र प्रतिस्पर्धाको कारण पछिल्ला हरेक चाडपर्वहरुमा स्वास्थ्यका दृष्टिकोणले सन्तुलित र स्वस्थकर खानेकुरा भन्दा पनि स्वादिलोको लागि बढी चिल्लो, तारेका, मिसावटयुक्त थरि थरिका खानेकुराहरु बनाएर सामाजिक संजालहरुमा देखाउने चलन बढ्दै गईरहेको छ । यस्ता चाडपर्वहरुलाई रमाईलो र खुसीको रुपमा लिंदै गर्दा व्यक्तिगत स्वास्थ्य तथा पारिवारिक र सामाजिक स्वास्थ्यलाई समेत ध्यान दिनु आवश्यक हुन्छ किनकि चाडपर्व भनेका व्यक्तिगत मात्र नभएर पारिवारिक, सामाजिक, मानसिक र संवेगात्मक भावनासंग पनि सम्बन्धित हुने गर्दछन् ।

दशैं तथा अन्य चाडपर्वको अवसर पारेर पारिवारिक घुमघाम गर्ने प्रचलन हिजोआज बढेर गएको छ । आफैमा यो चलन राम्रो पनि हो, वर्ष भरि गरिने काम र त्यसबाट मानसिक रुपमा हुने थकान अनि मानिसलाई आवश्यक पर्ने मनोरंजनको पनि उत्तिकै महत्व हुने गर्दछ । यसरी पारिवारिक र साथीहरुसंगको घुमफिरले मानसिक रुपमा प्रफुल्लित तुल्याउने काम गर्दछ भने आन्तरिक पर्यटनमा समेत टेवा पुग्दछ । तर नेपालको भौगोलिक अवस्था सडकको उपलब्धता र बाटोको गुणस्तरको कारण दुर्घटना भएर कतिको ज्यानै समेत जाने गरेको छ । त्यसैले चाडपर्वको समयमा विशेष ख्याल गर्नुपर्ने महत्वपूर्ण विषय भनेको सवारी साधनको दुर्घटना पनि हो ।

अझ चाडपर्वमा मदिराजन्य पदार्थको सेवान गरेर सवारी साधन चलाउने र त्यसबाट हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्ने हरेक व्यक्ति उत्तिकै जिम्मेवार बन्नु पर्ने हुन्छ । अतस् चाडपर्वलाई मनोरंजन र हर्षोल्लासका साथ मनाउन, परम्पराको जगेर्ना गर्न र त्यसलाई स्वास्थ्यका दृष्टिकोणले स्वस्थवर्दक बनाउन आवश्यक छ ।

जसको लागि यी कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ ।

क) खानपिनमा विशेष ध्यान पुर्‍याउने :

चाडपर्वको समयमा सबैभन्दा बढी विचार गर्नुपर्ने र ध्यान दिनुपर्ने कुरा भनेको नै खानपिन हो । विशेष गरि यो बेलामा मिठो खाने नाममा जथाभावी बढी चिल्लो, तारेको, पोलेको, गुलियो खालका खानेकुरा एकै पटक खाने चलन हुन्छ । अझै मासुजन्य परिकार बिना त चाडबाड खल्लो भएको महसुस गर्ने हाम्रो परम्परा नै हो ।

रातो मासुका विभिन्न परिकार अझ बढी मसला राखेर स्पाइसी र टक्क जिब्रोमा लाग्ने गरि नुन र अजिनामोटोको प्रयोग बिना खानको लागि भाग नै नबस्ने बानी नै भैसकेको छ । त्यसै माथि रक्सिजन्य पीय पदार्थ र असिड मिसिएको चिसो पेय पदार्थ अनिवार्य जस्तै बनिरहेका छन् । चाडपर्वको बेला त हो भनेर जथाभावी खाना खानले केहि दिनमा नै स्वास्थ्यमा प्रतिकुल असर गर्ने र मोटोपना पनि बढ्न सक्दछ ।

हामीहरु चाडपर्वको समयमा खान्छौ मात्रै शारीरिक व्यायम (कसरत) नै गर्दैनौं जसको कारण उच्च रक्तचाप हुने, मस्तिष्कघात हुने जस्ता समस्याहरु देखिन सक्छ । उसै पनि नेपालीहरुको भान्छामा अरु जे जे परिकार पाके पनि फलफुल, ग्रिन सलाद, हरियो सागपात, दहीको मात्रा कमै हुने गर्दछ भने तिर्खा लागे पछि मात्रै पानी पिउने अर्को खराब बानी पनि हाम्रो मौलिकता नै हो ।

यसरी हामीले खाने खानामा सन्तुलन मिलाउन नजान्दा शरीरमा विभिन्न खालका तुरुतै देखिने र दीर्घकालीन असर गर्ने समस्याहरु देखिन सक्छ ।
तुरुन्तै देखिन सक्ने समस्याहरु :

  • पेट तथा पाचन प्रणालीका विभिन्न समस्याहरु : पेट पोल्ने, अपच हुने, पखाला लाग्ने, बान्ता हुने, एसिडिटी बढ्ने (ग्यास्टिक), फुड पोइजन आदि,
  •  मुटु सम्बन्धि : उच्च रक्तचाप हुने, कोलेस्ट्रोल बढ्ने, टिजी (ट्राईग्लिसेराइड्) को लेभल बढ्ने, मुटुको छाल बढ्ने, हृदयघात हुने, मस्तिष्कघात हुने,
  • चोटपटक लाग्ने तथा दुर्घटना हुने,
  • रगतमा चिनीको मात्रा बढ्ने (मधुमेह),
  • केहि समयको अन्तरमा देखिन सक्ने समस्याहरु
  • पेटको अल्सर हुने,
  • प्याङ्क्रियाटाईटिस हुने,
  • युरिक एसिडको मात्रा बढ्ने,
  • पिसाब नलीको संक्रमण हुने,
  • कलेजोको समस्या,
  • तौल बढ्ने समस्या,
  • पाईल्सको समस्या

तसर्थ चाडपर्वको समयमा बजारमा पाईने मिसावटयुक्त खानेकुरा भन्दा घरमा कम तेल प्रयोग भएको, मसला कम प्रयोग गरेको, सागपात, ग्रिन सलाद, फलफुल, दही, रेसेदार खाना समावेश भएको खानेकुरा स्वास्थ्यको लागि फाईदाजनक हुन्छ । घरमा परिकार तयार गर्दा बच्चा, बृद्धा, रोगी, सुत्केरी, गर्भवती सबैलाई मिल्ने गरि तयार पार्नुपर्दछ । आउँदै गरेका चाडपर्वको खानालाई स्वस्थकर बनाउन यी कुराहरुमा ध्यान दिएर स्वस्थ रहन सकिन्छ ।

  • सकेसम्म रातो मासु (खसी, राँगा, भैसी, बँदेल) को कम प्रयोग गर्ने,
  • बढी चिल्लो भएका खानेकुरा नखाने,
  • तारेका, पोलेका, भुटेका स्न्याक्सहरुको ठाउँमा उसिनेका खाना खाने,
  • अजिनामोटो र अन्य मरमसलाहरुको कम प्रयोग भएका खानेकुरा खाने,
  • मदिरा तथा कृतिम पेय पदार्थको साटो ताजा फलफुल वा तीनको जुसको प्रयोग गर्ने,
  • खानामा गुलियो मात्राको प्रयोग कम गर्ने,
  • ग्रिन सलाद र हरियो सागपात अनिवार्य खाने,
  • रातो मासुको सट्टा कुखुराको मासु तथा माछाको परिकार कम तेल प्रयोग गरि र फ्राई गरेको भन्दा उसिनेको खाने,
  • खानामा फाइबरजन्य तत्व भएको खाना (जस्तै मुला, गाजर, सलगम, चुकन्दर) को मात्र बढाउने,
  •  सकेसम्म टुसा उमारेका गेडागुडीको प्रयोग गर्ने,
  • प्रशस्त मात्रामा पानी पिउने,
  • खाना खाँदा एकै पटक टन्न हुने गरि भन्दा थोरै थोरै गरि पटक पटक खाने,
  • खाना खाईसकेपछि मिठाई (गुलियो) सहितको डेजर्टको सट्टा दहि र फलफूल मिसाएको डेजर्ट खाने,

ख) दुर्घटनाबाट बच्ने उपाएको अवलम्बन गर्नेः
चाडपर्वको समयमा हुने विभिन्न समस्याहरु मध्ये खानपिनले स्वास्थ्यमा पार्ने समस्या पछि सबैभन्दा हुने बढी हुने अर्को समस्या भनेको दुर्घटना हो । चाडबाडमा बालबालिका देखि ठुला मान्छेहरु सम्मको मन फुरुङ्ग हुने हुँदा विभिन्न किसिमका दुर्घटना निम्तिन सक्छ ।

रमाइलो गर्ने नाममा बालालिकाहरु घरको छत, गाडी हिड्ने सडक, भिरालो र अग्लो जमिन जस्ता ठाउँमा जम्मा भएर चङ्ग उडाउने, पटका पड्काउने, पिङ खेल्ने, घरदेखि टाढा घुम्न जाने गर्दछन । यसरी खेल्नु, रमाउनु स्वाभाविक भएता पनि अभिभावकहरुको प्रत्यक्ष निगरानी नभएमा विभिन्न किसिमका दुर्घटनाहरु घट्न सक्छन । चङ्ग उडाउँदा घरको छतबाट खस्ने, पटका पड्काउँदा आँखामा समस्या हुने, चोटपटक लाग्ने जस्ता समस्याहरु हुन् सक्छन ।

चाडपर्वको बेलामा साथीहरु, घर परिवार, इस्टमित्र जमघट भएर मदिराको सेवन गर्ने र सवारी साधन चलाउने तथा मानिसको ओसारपसार गर्दा क्षमता भन्दा बढी यात्रुहरु राखेर गाडी चलाउने जस्ता कार्य गर्दा पनि दुर्घटना भएर मानिसको ज्यान समेत जान सक्दछ यस्ता क्रियाकलापबाट पनि सचेत रहन त्यतिकै आवश्यक छ ।

रमाइलोको लागि जुवातास खेल्ने, कौडा खेल्ने, झन्डीझपट खेल्ने र आर्थिक रुपमा पराजय भएपछि तनावग्रस्त भएर साथिसंगी, घरपरिवार, छरछिमेकमा अनावश्यक झगडा गर्ने प्रवृत्तिले पनि विभिन्न खालका समस्याहरु उत्पन्न हुनसक्छ । त्यसैगरि चाडपर्वको समयमा नियमित भन्दा घरको घरायसी काम पनि बढ्ने हुँदा मानिसहरु बढी प्रेसर गरेर काम गर्दा पनि दुर्घटना निम्तिन सक्छ । त्यसबाट बच्नु पनि त्यतिकै आवश्यक हुन्छ । नेपाली परम्परा अनुसार टिकाटालो गर्नु पुर्व चोखो र शुद्ध भएर पुजा गर्ने र टिकाटालो गर्ने नाममा उपवास बस्ने प्रचलनले पनि स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखिन सक्छ । यसको निराकरणको लागि स्वास्थ्यमा ध्यान दिएर काम गर्नु जरुरी हुन्छ ।

गाउँघर तिर घर पोत्ने माटो खन्न जाँदा खाल्डो भित्र पुरिने, दाउरा काट्न जाँदा रुखबाट लड्ने, गाईबस्तुलाई घाँस काट्दा लड्ने जस्ता समस्याहरु पनि चाडपर्वको समयमा हुने प्राय समस्याहरु हुन् भने चाडपर्वको समयमा घर आगन रङ्गरोगन गर्ने क्रममा हुने दुर्घटना पनि यदाकदा हुने समस्या नै हो ।

विशेष गरि घर भित्रका काममा पुरुष भन्दा बढी महिलाहरु खटिने र त्यसको प्रेसर एक्लैलाई मात्र पर्ने हुँदा महिलाहरुमा शारीरिक रुपमा कमजोर हुने, मानसिक रुपमा उदास हुने, रिङ्गटा लाग्ने,टाउको दुख्ने, रक्तचाप कम भई चक्कर लागेर ढल्ने, शरीरमा पानीको मात्रा कम हुने, जस्ता समस्याहरु देखिन सक्छ । यस्ता विभिन्न प्रकृतिका समस्याहरुबाट जोगिनको लागि परिवारका सबै सदस्यहरु मिलेर समुहमा काम गर्ने, एकले अर्कोलाई सघाउने र सबैजना बसेर रमाईलो गर्ने वातावरणको सिर्जना गर्नु पर्दछ ।

त्यसैले चाडबाड भनेका टाढा टाढाबाट आएका आफन्त, इस्टमित्र, परिवारजन, साथीहरुको भेटघाट, आपसी सौहार्दतामा रमाइलो गर्ने स्वस्थवर्दक खानेकुराहरु खाने, सुख दुस्ख साट्ने, बालबालिकाहरुलाई आफ्नो रीतिरिवाज,संस्कृति, चालचलनको बारेमा ज्ञान प्रदान गर्ने, सिक्ने सिकाउने रुपमा लिएर पश्चिमा मुलुकहरुको जस्तो भड्किलो नबनाई शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक र भावनात्मक रुपमा खुसि बढाउन, स्वस्थ, कम खर्चिलो र रमाइलोको पर्यावाचिको रुपमा हरेक चाडपर्वलाई मनाउन सिकौं र सकौं ।

आफ्नो, घरपरिवारको र समाजको स्वास्थ्यलाई समेत ख्याल गर्दै यो वर्षका चाडपर्वहरु सुसम्पन्न हुन् िघर आँगन छाएका नेपाली चाडबाडहरु बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत्, छठ, ईद, क्रिसमस सबैको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *