सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर :

‘अकाल मृत्यु, असाध्य रोग अनि असाध्य खर्च’

'उत्कृष्ठ कानून, फितलो कार्यान्वयन'

काठमाडौँ । नेपाल चिकित्सक संघले गत ४ र ५ असोजका दिन काठमाडौँमा दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलनको आयोजना गरेको थियो । विभिन्न ७ वटा थिम राखेर आयोजना गरेको सो सम्मेलनमा एउटा ‘थिम’ थियो ‘सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर ।’

गत ४ असोजमा सार्वजनिक नयाँ प्रतिवेदनले नेपालमा बार्षिक ३७ हजार ५२९ जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको छ ।

सुर्तीजन्य पदार्थको असरको मूल्यांकन गरी सरकारले झण्डै एघार वर्ष अघि बनाएको कानूनको सही रुपमा कार्यान्वयन हुन नसक्दा त्यसले आम जनमानसमा चर्को क्षति पुर्याएको छ । खासगरी नसर्ने रोगको जोखिम बढाउने काममा यसको प्रमुख भूमिका छ । राज्यले यहि जोखिम घटाउन भन्दै बनाएको कानून कार्यान्वयन गर्न सकेको भएपनि धेरै हदसम्म यसको न्युनिकरण आम बुझाई रहेको छ ।

संघले यसपटक आफ्नो दोस्रो सम्मेलनमा प्रस्तुत गरेको सातवटा विषयमध्ये सुर्तीजन्य पदार्थको विषयलाई प्रमुखताका साथ अघि सार्‍यो ।

कार्की वेङ्क्वेट बबरमहलमा भएको सो सम्मेलनको पहिलो दिन नै ‘सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर’ का  बारेमा समूहगत छलफल (प्यानल डिसकसन) भयो । सो छलफलमा विभिन्न क्षेत्रबाट प्रतिनिधिहरु सहभागी थिए ।

यसपटक हामीले सोही छलफलमा उठेका प्रश्नमा ती प्रनिनिधिहरुले दिएको जवाफको सारसक्षेप प्रस्तुत गर्दैछौँ ।

‘नो मोर सिगरेट फेक्ट्री इन नेपाल’ भन्ने प्रतिवद्धता आउनु पर्छ

  • गणेश साह : पूर्वमन्त्री, एवं बैज्ञानिक (प्यानल चियर)

सुर्तीजन्य पदार्थको सेवनबाट बार्षिक ३७ हजार ५२९ जना नेपालीले ज्यान गुमाउने गरेको तथ्यांक भर्खरै सार्वजनिक भएको छ । यो संख्यालाई हामीले अकाल मृत्युबाट भएको हो भन्न सक्छौँ । हाम्रो जस्तो गरीब मुलुकमा हजारौँको ज्यान लैजाने मात्रै होईन त्यसको प्रयोगका लागि अर्वौ रुपैयाँ खर्च गरिहेका हुन्छौँ । यसले पारिवारिक, सामाजिक, आर्थिक साथै बातावरणीय असर पनि उत्तिकै पारेको छ । तपाईँ हेर्नुहोस न बाटोभरी सुर्तीजन्य पदार्थको खोल फ्याकिएका छन् । न कहिले सड्छ न त्यो कुहिन्छ । जमिनमा मात्रै होईन जल जंगल यत्र तत्र छरिदा बाताबरणीय असर पनि पारिरहेको छ ।

अब यसको नियन्त्रणका लागि हामी गम्भीर भएर सोच्नु पर्ने आवश्यकता छ । सुर्तीजन्य पदार्थ विरुद्ध प्रभावकारी जनचेतना कसरी अभिबृद्धि गर्ने भन्नेमा सोच्नु पर्ने बेला आएको छ । आजको यो छलफलले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सहयोगी बन्नेछ भन्ने विश्वास लिएको छु ।
खासगरेर बातावरण क्षेत्रमा पनि लागेको हुनाले मानिसहरुको पछिल्लो तीस वर्षमा बातावरणीय असरबाट हुने गरेको छ । ‘प्रिम्याचुअर डेथ’ ‘एयर पोलुसन’बाट भएको छ ।

पहिले सुर्तीजन्य पदार्थले चौथो थियो तर अहिले दोस्रो पोजिसनमा आएको छ ।

नेपालमा करको दर निर्णय कम भएको । म जनकपुरको बासिन्दा, सिमावती भारतीय क्षेत्रमा  ‘पहिले पहिले सिगरेट र दारु पिनेकी लिए चलो नेपाल’ भन्ने थियो । जनकपुर चुरोट कारखाना पछिल्लो केही बर्ष देखि बन्द छ तर अहिले सरकारले पुन सञ्चालन गर्न खोजिएको भन्ने हल्ला आएको छ । बास्तविकता के हो ? यदि हो भने जनकपुर चुरोट कारखाना पुन सञ्चालनमा नल्याउने प्रतिवद्धता अब गर्नु पर्छ । नो मोर सिगरेट फेक्ट्री इन नेपाल भन्ने आउनु पर्छ ।

‘सुर्तीजन्य पदार्थको पहिलो सचेतना घर परिवार भित्रैबाट हुनुपर्छ’

  • बबिता परियार चाइल्ड क्लव नेटवर्क टोखा काठमाडौ (प्यानलिष्ट)

पछिल्लो समय युवा तथा किशोर किशोरीहरुमा सुर्तीजन्य पदार्थको सेवन गर्ने दर बढेको जस्तो लाग्छ । विशेषगरी चुरोट, सुर्ती, खैनी, पान पराग । शहरी क्षेत्रका शिक्षित भनिएका युवाहरु धुमपान तथा सुर्तीजन्य पदार्थको कुलतमा लागेका छन् । उनीहरु त्यसरी लाग्नुको पछाडी फेसन र साथीसंगत पहिलो नम्बर आउँछ ।

फिल्म देखि टेलिसिरियलसम्म, म्युजिक भिडियो देखि लाइभ कन्सर्टसम्म कलाकारहरुले गर्ने अभियन र तिनका आनिवानी किशोर किशोरीहरुले छिटो कपि गर्छन् । यो उमेर र बेला पनि त्यस्तै भएर होला ।

अर्को कुरा हाम्रो सास्कृतिक चाडबाडले पनि सुर्तीजन्य पदार्थलाई प्रसय गरेको छ । शिवरात्रीमा शिवको बुटी भनेर खाईने गाँजा युवा पुस्ताका लागि लत बढाउने माध्यम बनेको छ । भगवानले खाने चिज मैले खान किन नहुने भन्ने पनि हुँदो रहेछ ।

यस्तै ग्रामिण क्षेत्रमा पनि चुरोट तथा सुर्ती बोकेर हिड्ने युवा तथा किशोर किशोरीहरुको संख्या बढी नै छ । कापी कलम बोकेर हिडनु पर्ने उमेरमा चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेट बोकेर हिडेको देख्दा निकै नै नराम्रो लाग्छ ।

यस्तै युवा किशोरहरुको कुल बन्ने सोच, बेरोजगारी, खाली समय, फुर्सद, अशिक्षा पनि यसको कारक तत्व हो ।

यस्तै परिवारको सदस्यको आनीवानीले पनि यसको प्रयोगमा प्रभाव पार्दछ । अभिभावकले सुर्तीजन्य पदार्थ सेवन गर्दछ भने त्यसको असर र प्रभाव परिवारका अन्य सदस्य, बालबालिकाहरुमा निश्चयनै पर्दछ । आफूले सुर्ती तथा चुरोट सेवन गर्ने तर छोराछोरीलाई सेवन गर्नु हुदैन भनेर त्यसको मनोवैज्ञानिक असर कस्तो पर्ला ? यसमा पनि बिचार गर्नु पर्दछ ।

यस्तै सुर्ती नियन्त्रण सम्वन्धी कानूनको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा पनि यो समस्या बढेको हो । खिल्ली चुरोट बिक्री गर्न नपाईने, १८ बर्ष मुनिका बालबालिकाहरुलाई खरीद बिक्रीगर्न नपाईने लगायतका व्यवस्था कार्यान्वयन हुने हो भने उपभोग धेरै नै घटन सक्छ । यस्तै करको दर बढाउने र महंगो गराउने हो भने पनि युवा तथा किशोरहरु यो कुलतमा जानबाट जोगिन्छन् जस्तो लाग्छ ।

डा. रिता भण्डारी जोजी (निर्देशक राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र)

सुर्तीजन्य पदार्थसंग जोडिएर आउने एउटा रोग हो क्षयरोग । अहिले नेपालमा ६९ हजार क्षयरोगी भएको अनुमान छ । तर ३८ हजार मात्रै फेला परेका छन् । गतवर्ष यो संख्या २८ हजार मात्रै थियो । खोज्नका लागि समुदायस्तरमा जान जरुरी छ ।

निजी क्षेत्रका अस्पताल तथा क्लिनिकहरुमा पनि क्षयरोगीहरु उपचारका लागि जाने गरेका छन् । तर त्यस्ता संस्थाहरुबाट नियमित रुपमा विवरण अपडेट हुने गरेको छैन् । यसले पनि समस्या भएको छ ।

क्षयरोग विरुद्धको अभियान सञ्चालन गर्दा सुर्तीजन्य पदार्थको विरुद्धको अभियानलाई पनि संगसंगै लैजानु पर्छ र लैजाने गरेका छौँ । तर यसमा हाम्रो मात्रै इफोर्टले हुने होईन् । सबैको संयुक्त ईफोर्ट लगाउनु पर्छ । हामीले सन् २०३० सम्ममा नेपाललाई क्षयरोग मुक्त गराउने योजना बनाएका छौँ र सो अभियानमा सबैले सहयोग गर्नुपर्छ ।

 

‘फोक्सोको क्यान्सर लाग्नुको ८० प्रतिशत कारक तत्व सुर्तीजन्य पदार्थ हो’

  • डा. गिसुपनिख प्रसिको (बरिष्ठ क्यान्सर रोग विशेषज्ञ)

सुर्तीजन्य पदार्थको असर प्रत्यक्ष र अप्रत्यक्ष रुपबाट हेर्नु पर्दछ । यसको प्रयोगले विभिन्न खालका रोग लागेर व्यक्ति निधन हुन्छ । उपचारमा ठूलो रकम खर्च हुन्छ । अप्रत्यक्ष रुपमा हेर्दा देशका नागरिक रोगी हुने भए । राज्यको ठूलो भार सुर्तीजन्य पदार्थको प्रयोगले हुनेको उपचारमा जाने भयो । अहिले मात्रै होईन भावि पुस्तालाई पनि यसको असर देखिन्छ ।

सुर्तीजन्य पदार्थ नसर्ने रोगको प्रमुख कारक हो । यसको सेवन गर्ने व्यक्तिहरुमा क्रोनिक लङ्स डिजिज, क्यान्सर, मधुमेह, मुटुजन्य विभिन्न रोगहरु लाग्ने गर्दछन् । तपाईँलाई थाहा छ फोक्सोको रोग लाग्नुको ८० प्रतिशत कारक तत्व सुर्तीजन्य पदाथ हो । फोक्सो मात्रै होइन, घाटीको क्यान्सर, पेटको क्यान्सर, आन्द्राको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, मिर्गौलाको क्यान्सर आदि सबै खालको क्यान्सर सुर्तीजन्य पदार्थको सेवनसंग जोडिएको हुन्छ ।

चुरोट मात्रै होईन, खैनी गुड्खा, पानपराख, बिडी, लगायतका सबै खालका सुर्तीजन्य पदार्थ हाम्रो शरीरका लागि सबैभन्दा बढी हानिकारक पदार्थ हुन् । यसको सेवनले लाग्ने रोगहरु अत्यन्त खर्चिलो र पिडादायी हुने गर्दछ । त्यसैले यसका लागि सरकारले नीति त बनायो त्यसको कार्यान्वयन गर्न व्यक्ति स्वयं क्रियाशिल हुनुपर्दछ । घर घरबाट नै सुर्ती नियन्त्रणको काम हुनु पर्दछ । अभियान चलाउनु पर्दछ ।

यस्तै हामीले अब अभियान सुरु गर्नु पर्छ । सुर्तीजन्य पदार्थ खान मन लागे पनि त्यो कुरा राम्रो होइन है भनेर आम जनतालाई सिकाउनु पर्छ ।
साइको सोसियल काउन्सिलिङ गर्नु पर्दछ । स्वास्थ्यमा खरावी आईसकेपछि यी सबै कुराको फाइदा छैन् । स्वास्थ्यमा खराबी नआउँदै हामीले उनीहरुलाई जोगाउनका लागि यो अभियान लैजानुपर्छ ।

घरबाटै यो अभियानको थालनी गर्नुपर्छ । सुर्तीजन्य पदार्थ खराब चिज हो । यसको सेवन गर्न हुँदैन भनेर घरमा सिकाउन थालियो भने ठूलो हुँदा उसले त्यो कुलतमा लाग्ने सम्भावना कम हुन्छ ।

  • डा. लोनिम प्रसाई दिक्षित (विश्व स्वास्थ्य संगठन नेपाल)

सबैभन्दा पहिला यो फोरममा तीन जना महिला प्यानलिष्ट देखेर खुशी लागेको छ । नेपालको डिजिज बर्डेन र रिस्क फ्याक्टर हेर्ने हो भने एकदमै छिटो छिटो परिवर्तन हुँदै आएको छ । अहिले नसर्ने रोग बढेको छ र यो राष्ट्रिय मुद्धाको रुपमा प्रस्तुत भएको छ । सुर्तीजन्य पदार्थको सेवन अहिले मोष्ट कन्सर्निङ इस्युको रुपमा आएको छ ।

यो विषयमा डब्लुएचओ, स्वास्थ्य मन्त्रालय र सो अन्तरगर्तका निकाय, मिडियाका साथीहरुले नियमित रुपमा उठाइनै रहनु भएको छ । नेपालले डब्लुएचओ एफसिटीसी रेटिफाइ गरेको सन् २००३ मा हो । १९ वर्ष पुगिसक्यो । यो भनेको एउटा कानूनी हतियार हो र जनस्वास्थ्यका लागि एउटा ठूलो उपलव्धी पनि हो । तर पनि नेपालमा करको दर अघि बढ्न सकेको छैन् ।

यद्धपी पछिल्लो पाँच छ वर्षको अवधीमा २९ प्रतिशतबाट ३९ प्रतिशतसम्म पुगेको छ । यसका लागि धेरै पटक छलफल गरयौँ । मिडियाका साथीहरुले दवाव दिनु भयो र केही बढाउन सफल भयौँ । यद्धपी डब्लुएचओले रिकमेन्ड गरेको ७५ प्रतिशत पुरयाउनु पर्छ भन्ने हो ।

कर बढाएर सुर्तीजन्य पदार्थको सेवन गर्न छोडेका छैनन् भनिन्छ तर एनडीएचएस सर्भे हेर्नुहोस न त्यसमा न्युन मध्यम आय भएका व्यक्तिहरु यसको बढी प्रयोगकर्ता भएको देखिएको छ । करको दर बढाउँदा यसको यो कम हुन्छ । अर्को कुरा करको दर बढाउँदा नसर्ने रोगमा राज्यको आम्दानी पनि बढछ । नसर्ने रोगको उपचारमा यति धेरै खर्च भएको त्यसका लागि पनि सहयोग पुग्छ ।

दक्षिण एशियामा तुलना गर्ने हो भने नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणका विभिन्न उपायहरुमा राम्रो उपलव्धी हासिल पनि गरेको छ तर त्यो भन्दा भन्दै पनि केही कामहरु जो गर्नै पर्ने थियो गर्न सकेको छैन् । यद्धपी काम गर्ने अवसर अझ पनि छ ।

नेपालले सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भाग पिक्टोरियल हेल्थ वार्निङले समेटनु पर्ने निर्णय गर्ने संसारकै पहिलो देश बनेको थियो । त्यसबापत व्लुम्बर्ग अवार्ड समेत जितेको थियो । तर विदेशीहरुले मलाई सोध्ने गर्दछन् ९० प्रतिशत पिक्टोरियल हेल्थ वार्निङ कार्यान्वयन भयो भनेर ? तर मैले अब भन्ने थालेको छु अब नेपालले प्लेन प्याकेजिङमा जाँदै छ ।

नीतिगत कुरा गर्दा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी ऐन, निर्देशिका, नियमावली आएको ११ बर्ष पुगिसकेको छ । अब त्यसमा पनि समिक्षा गर्ने बेला भईसक्यो होला नि ? त्यसबेला बनाएकै कानूनको राम्ररी कार्यान्वयन हुन सकेको छैन् । सुर्य नेपाल जस्ता सुर्ती उद्योगहरुले नियमित रुपमा कानूनको उल्लंघन गरिहेको छ । अन्तशुल्क स्टिकरले सन्देशहरु छोपिएको छ । यसलाई विशेष ध्यान दिनु पर्छ ।

अब टोवाको हेल्थ सेसेन क्लास स्वास्थ्य चौकी देखि नै सुरु गर्नु पर्दछ । त्यसैले अन्तमा ९० प्रतिशत सन्देश छाप्ने व्यवस्था कार्यान्व्यनमा जाउँ, प्लेन प्याकेजमा जाँउँ, करको दर ७५ प्रतिशत पुग्ने गरी बढाउँ । इलिसी ट्रेडको कुरा पनि उठेको छ ।

नेपालले पनि इलिसी ट्रेडको कुरालाई रेटिफाइ गर्न सक्दछ । कानूनले सबै स्थानीय तहका कार्यकारी प्रमुखलाई सुर्तीजन्य पदार्थ नियन्त्रकको रुपमा जिम्मेवारी दिने व्यवस्था छ । यसलाई पनि अलि प्रभावकारी बनाउ । अब यसको तालिम, जनचेतना र क्षमता विकास गरौँ ।

जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक विद्यार्थी, अगुवा सबैले यसको इनिसिएसन लिऔँ । हेल्दी सिटीको कन्सेप्टछ यसलाई अझ अगाडी बढाऔँ । अन्तममा हामीले कोही प्रयोगकर्ता छौँ भने आफूलाई हेरौँ, आफूलाई चिनौँ र आजै प्रण गरौँ सुर्तीजन्य पदार्थको सेवन छाडछु भनेर ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *