‘चिटिङ’ गरेर ‘गोल्डमेडलिष्ट’ डाक्टर हुने दाउ

काठमाडौँ, ३१ भदौ ।

घटना – १ : हल भित्र चलाखी पूर्ण नजर डुलाउने एक परीक्षार्थीको हाउभाउ हेर्दा कतैबाट निर्देशित जस्तो देखिन्थ्यो । जतिवेला परीक्षा निरीक्षक उनी नजिक पुग्थे उनी आत्तिएका जस्तो देखिन्थे । चिटचिट पसिना निस्कन्थ्यो । लेख्न खोज्दथे अल्मलिन्थे । परीक्षा निरीक्षकलाई उनको गतिविधिमा शंका लाग्यो । परीक्षामा चिट गरिरहेको छ कि भनेर शरीरमा खानतलासी लिन थालियो । शरीरको लुगामा नदेखिएपछि जुत्ता मोजा समेत खोल्न लगाईयो । मोजा खोल्न लगाउँदा बायाँ मोजा मात्रै खोले । दायाँ खोल्न मानेनन् । जव दायाँ मोजा झिकियो त्यहाँ चिप्काएर राखेको नानो हेयरिङ एयाड्सको रिसिभर फेला परयो । त्यसपछि खान तलासी गर्दा कानको भित्री भागसम्म लुकाएर राख्न मिल्ने नानो हेयरिङ डिभाइस भेटियो ।

घटना – २ : एक जना परीक्षार्थीको हेयर स्टाइल निकै आकर्षक छ । पढ्ने बेलाभर भुत्ते कपालमा देखिएका उनी परीक्षाका बेलामा भने केही लामो र चिटिक्क परेको हेयरस्टायलका साथ प्रस्तुत भएका थिए । तर उनी पनि परीक्षा निरीक्षक नजिक आउनासाथ केही असहज महसुस गर्दथे । उनी आकर्षक कपालकै कारण निरीक्षकको नजरमा पर्न थाले । निरीक्षकको ध्यान उनको टाउको वरपर नै पुगेर रोकिन्थ्यो । तर जव निरीक्षक नजिक आउँथे उनी लेख्न हडवड गर्दथे । निरीक्षकलाई उनको चाल निको लाग्दैन । शरीरको कपडा, जुत्ता मोजा चेक गर्दछन् केही भेटिदैन । अन्तमा लामो कपालमा केही छुपाएका छन् कि भनेर हेर्छन् । उनले तत्काल थाहा पाउँछन् । उनको टाउकोमा नक्कली कपाल टासिएको छ । जब निरीक्षकले यो के हो कपाल त टाँसिएको जस्तो छ नि भन्दै हल्का तान्छन् । टाउँकोमा नक्कली कपालको चुल्ठो सहित चिप्काएर राखेको नानो हेयरिङको रिसिभर निस्कन्छ । त्यो कपाल र रिसिभर टाँस्नका लागि उनले टाउकाको माथिल्लो भाग खौरेका थिए । कानको भित्रपट्ट नानो हेयरिङ डिभाइस फिट गरेका उनलाई एक व्यक्तिले बाहिरबाट प्रश्नको उत्तर भनिरहेका थिए ।

यी दुई घटना पछिल्लो पटक विश्वविद्यालयले लिएको  चिकित्साशास्त्र तर्फ एमबीबीएसको परीक्षाको थियो ।

उपत्यका बाहिरको एक मेडिकल कलेजमा परीक्षा दिईरहेका विद्यार्थीहरु नपक्रेका भए यी विद्यार्थीहरु उत्कृष्ठ नम्बरका साथ पास हुन्थे । पछि गोल्ड मेडलिष्ट डाक्टर कहलाउथे । तर निरीक्षकको सावधानीले त्यो ठूलो दुर्घटना टरेको छ । तर यी दुई घटना मात्रै होईन । पछिल्लो पटक चिकित्साशास्त्रका धेरै परीक्षामा यस्ता गतिविधि भएको अनुमान गर्न थालिएको छ ।

यसरी परीक्षा दिनेहरुले प्रश्नपत्र बाहिर पास गर्ने र सहयोगी साथीले टेलिफोनबाट हरेक प्रश्नको उत्तर सुनेर लेख्ने गर्दछन् ।

नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा कृष्णप्रसाद अधिकारी अहिले चिकित्साशास्त्रका विद्यार्थीले परीक्षामा नयाँ नयाँ डिभाइसको साथ सहभागी हुने गरेको आफूले जानकारी पाएको बताउँछन् । त्यसमा कतिपय कलेजका शिक्षकहरु समेतको मिलोमतो हुनसक्ने उनले आशंका गर्छन् ।

अहिले परीक्षाका लागि परीक्षा केन्द्रमा मेटल डिटेक्टर ९जामर० को समेत प्रयोग गरिन्छ । तर परीक्षार्थीहरु यति चलाख भए कि उनीहरुले प्रयोग गर्ने त्यस्ता डिभाइसहरु  एन्टीजामर अर्थात जामरले समेत थाहा नपाउने खालको रहेको पाइएको छ । डा अधिकारी भन्छन्, ‘जामरले नै डिटेक्न नगर्ने डिभाईस आउन थालेछ । यसले हाम्रो परीक्षा प्रणालीमा चुनौती थपेको छ ।’

उनले पछिल्लो समय यस्ता डिभाइसको प्रयोग गर्नेहरु बढ्न थालेको आफूले जानकारी पाएको समेत बताए । ‘देशका विभिन्न परीक्षा केन्द्रमा यस्ता घटना भएको थाहा पाएका छौँ । यसले हामीलाई थप सम्वेदनशील बनाएको छ,’ उनले भने ।

डा अधिकारीले लाइसेन्स परीक्षामा समेत थप कडाई गर्न थालिएको जानकारी दिए । ‘अहिले हामीले परीक्षा हलमा राख्ने सीसीटिभीले परीक्षार्थी यता उता चलेमा पनि वार्निङ दिने सिस्टम राखेका छौँ । यसले परीक्षामा अवान्चित गतिविधि गर्नबाट जोगाउने विश्वास लिएका छौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “‘चिटिङ’ गरेर ‘गोल्डमेडलिष्ट’ डाक्टर हुने दाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *