मिर्गौला तस्करको निसानामा काठमाडौंका सडक बालबालिका
मिर्गौलाका लागि बालबालिका तस्करी गर्ने पाँच जना पक्राउ
काठमाडौँ, १ साउन । मिर्गौला तस्करी गर्ने गिरोहले पछिल्लो समय काठमाडौंका सडकपेटीका बस्ने बालबालिका र सोही क्षेत्रमा जीवन बिताउनेहरूलाई निसाना बनाएको देखिएको छ । उनीहरुले विभिन्न प्रलोभन देखाई बालबालिकाहरुलाई भारत लगेर मिर्गौला तस्करी गरेको पाईएको हो ।
आइतबार नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पाँच जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–५ घर घई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ बस्दै आएका २८ वर्षीय विधान, हिमाल भनिने धनबहादुर रोका, गुल्मीको तम्घास नगरपालिका–२ घर भई काठमाडौंका गौशाला बस्दै आएका ३१ वर्षीय विजय कुँवर, दोलखाको चामुण्डा विन्द्रासयनी नगरपालिका–६ घर भई काठमाडौंको कालोपुल बस्दै आएका २८ वर्षीय धुपेन्द्र शाही, दोलखाकै चामुण्डा विन्द्रासयनी नगरपालिका–६ घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३२ वर्षीय विमलबहादुर शाही र झापाको पृथ्वीनगर नगरपालिका–१ घर भई थिमि बस्दै आएका २१ वर्षीय छोटे भनिने आशिष तामाङ छन् ।
पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएको छ।
तस्कर समूह कसरी परे प्रहरीको फन्दामा ?
मिहिन ढंगले अनुसन्धानमा लागेको प्रहरीले गत १५ असारका दिन शाहीद्वय र कुँवरलाई पक्राउ गरिएको थियो । रोका र तामाङलाई २८ असारमा । सुरुमा शाहीद्वय र कुँवरलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेर ब्यूरोलाई बुझाएको थियो। उनीहरुमाथि गरेको अनुसन्धानको क्रममा थप दुई जना पनि तस्करीमा संलग्न भएको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
ब्युरोका एसपी दानबहादुर मल्लका अनुसार उनीहरूले सुरुमा काठमाडौंका सडकपेटीका बालबालिकासँग चिनजान गर्थे । चिनजानपछि शरीरमा दुई मिर्गौला हुने र एक बेच्दा केही फरक नपर्ने बताउँथे ।
एसपी मल्लले भने, “उनीहरूले अनेक कुरा गरेर प्रलोभन देखाउँदा रहेछन् । भारतको कोलकाता गई मिर्गौला बेच्दा पाँच लाख रुपैया पाइने र नेपाल फर्किंदा ५० हजार पर्ने मोबाइल समेत पाइने भनेर प्रलोभन दिएको पाइयो । यसबाहेक हामीले पनि मिर्गौला बेचेका हौँ भनेर विमलबहादुर र धनबहादुरले देखाउँदा रहेछन् ।”
मिर्गौला बेच्न सहमत भइसकेपछि उनीहरूले काठमाडौंकै भव्य होटेलमा राखेर रगतलगायत परीक्षण गराउने गरेको खुलेको छ । मिर्गौला दिन योग्य देखिएपछि उनीहरूले भारत लैजाने गरेको पाइएको छ ।
पक्राउ परेका पाँचैजनाले विभिन्न भूमिका निर्वाह गर्दै आएका थिए । उनीहरूले सडकपेटीमा जीवन निर्वाह गर्ने र विभिन्न निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई आफ्नो जालमा पार्ने गरेको खुलेको एसपी मल्ले बताए ।
सम्पर्क इमेल : [email protected]