एउटा अस्पतालमा एकै दिन चार जनाको मिर्गौला प्रत्यारोपण !

प्रत्यारोपणका लागि अझै करीब ६०० जना प्रतिक्षामा

काठमाडौँ, ३१ असार । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बिहीबार एकै दिन चार जनाको मिर्गौला प्रत्यारोपण भएको छ । अस्पतालका निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सो प्रत्यारोपण भएको हो ।

बुधबार भएको प्रत्यारोपणसंगै त्यहाँ मिर्गौला प्रत्यारोपण गराउनेको संख्या ९०० पुगेको छ । अस्पतालले अहिलेसम्म गरिएका मिर्गौला प्रत्यारोपणमा ९९ प्रतिशत सफलता प्राप्त भएको दावी गरेको छ ।

अस्पतालका निर्देशक डा श्रेष्ठका अनुसार बिहीबारको पहिलो प्रत्यारोपणमा अर्घाखाँचीका २६ बर्षीया महिलाको भएको थियो । उनलाई ४८ बर्षीया आफ्नी आमाले मिर्गौला दान दिएकी हुन् ।

यस्तै दोस्रो प्रत्यारोपण दोलखाका २७ वर्षीय पुरुषको भएको थियो । उनलाई ३८ बर्षीया आफ्नो सौतेनी आमाले मिर्गौला दिएकी हुन् । यस्तै तनहुँका ३६ बर्षीय पुरुषलाई उनकी ३५ बर्षीया श्रीमतीले मिर्गौला दिएकी हुन् ।

यस्तै चौथो प्रत्यारोपणम काभ्रेका ३५ बर्षीय पुरुषको भएको छ । उनलाई आफ्नै ५२ बर्षिय बुबाले मिर्गौला दान गरेका हुन् ।
डा श्रेष्ठले बिहीबार प्रत्यारोपित तथा अङ्ग दाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

प्रत्यारोपणका लागि करीब ६०० जना प्रतिक्षामा
डा श्रेष्ठले मिर्गौला प्रत्यारोपणका लागि अहिले करीब ६०० जना प्रतिक्षामा रहेको बताए । उनले पछिल्लोपटक आफूले नेतृत्व सम्हालेपछि बार्षिक करीब २०० जनाको दरले मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्यका साथ काम भइरहेको दावी गरे ।

‘अहिले यहाँ हप्ताको ६ देखि ८ जनाको दरले मिर्गौला प्रत्यारोपण हुँदे आएको छ । थप संख्यामा प्रत्यारोपण गर्न तत्काल भौतिक पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ,’ उनले भने ।

डा श्रेष्ठले आफूले पछिल्लो पटक नेतृत्व सम्हालेको नौ महिने अवधीमा १३७ जनाको मिर्गौला प्रत्यारोपण भईसकेको बताए ।

मोफसलमा पनि सेवा विस्तार

त्यसो त केन्द्रले मिर्गौला प्रत्यारोपण सेवालाई भक्तपुरमा मात्रै केन्द्रीत गरेको छैन । गण्डकी प्रदेशको पोखरामा स्थानीय अस्पतालसंग सहकार्य गर्दै प्रत्यारोपण सेवा सुरु गरिसकेको छ । यस्तै सेवा कर्णालीको सुर्खेत अस्पतालबाट पनि उपलव्ध गराउने बताएको छ ।

केन्द्रको टोलीले गत ९ असारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको थियो । अब छिटै नै कर्णालीको सुर्खेत अस्पतालमा पनि यो सेवा तत्काल सुरु गर्ने योजनामा रहेको केन्द्रका निर्देशक डा श्रेष्ठ बताउँछन् ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग लिएर प्रत्यारोपण
नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने यो केन्द्र पहिलो हो । डा श्रेष्ठले अहिलेसम्म यस केन्द्रमा मस्तिष्क मृत्युवाट हुने अंङ्गदानवाट जम्मा ८ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भएको बताए ।

उनले आगामी आर्थिक बर्षमा मस्तिष्क मृत्युवाट हुने अङ्ग दान र प्रत्यारोपण कार्यलाई तिब्र रुपमा अगाडी बढाउने योजना रहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *