स्वास्थ्यको १२ औँ तह बढुवाका लागि दुई जना डाक्टरको नाम सिफारिस
काठमाडौँ, १४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवा गर्न दुई जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रालयमा मंगलबार (आज) बसेको बढुवा समितिको बैठकले १ नम्बरमा डा टंकप्रसाद बराकोटी र २ नम्बरमा डा संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो ।
नाम सिफारिसमा पर्ने डा बराकोटी मेची अस्पतालमा कार्यरत छन् । यस्तै डा मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रायको समन्वय महाशाखामा कार्यरत छिन् ।
स्वास्थ्यमा अहिले १२ औँ तहको एउटा पद रिक्त छ ।
मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख मदन भुजेलले आज बसेको बढुवा समितिको बैठकले डा बराकोटी र डा मिश्राको नाम सिफारिस गरेको पुष्टि गरे । उनले दुई मध्ये एक जनालाई मन्त्रिपरिषद बैठकले १२ औँ तहमा सिफारिस गर्ने बताए ।
स्वास्थ्यमा अहिले उमेर हदका कारण गत २ माघमा अवकाश पाएका प्रमुख विशेषज्ञ डा भीमसिंह तिंकरीको स्थान खाली छ । सो स्थानमा बढुवा गर्नका लागि गत ६ चैतमै सूचना निकालेको थियो ।
सम्पर्क इमेल : [email protected]