आज देखि ५ – ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप दिईदै

काठमाडौँ, ९ असार । सरकारले आज देखि ५ बर्ष माथि र १२ बर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई कोभिडबिरुद्धको फाइजर खोप (पेडियाट्रिक डोज) दिन सुरु गर्दैछ ।

दुई चरणमा गरी ७७ जिल्लाका ३९ लाख बालबालिकालाई दिन लागिएको यो खोप आज देखि सुरु हुन लागेको पहिलो चरणमा भने २७ जिल्लामा सुरु गरिदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देखि पहिलो चरणमा सुरु हुन लागेको २७ वटा जिल्लामा १५ असार सम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ।

त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुनेछ।

पहिलो चरणको खोपका लागि कोभ्याक्सले २२ लाख डोज फाइजर खोप पठाईसकेको छ । सो खोप अहिले पहिलो चरणका लागि छनौट भएका जिल्लाहरुमा पुगिसकेको छ ।

आज देखि खोप सुरु हुने २७ जिल्ला कुन कुन हुन् ?

प्रदेश १ : झापा, इलाम, मोरङ र सुनसरी जिल्ला

मधेश प्रदेश : सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्ला

बागमती प्रदेश : काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर जिल्ला

गण्डकी प्रदेश :  कास्की र नवलपरासी पूर्व जिल्ला

लुम्बिनी प्रदेश : नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया जिल्ला

कर्णाली प्रदेश : सुर्खेत जिल्ला

सुदूरपश्चिम प्रदेश : कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्लामा खोप दिइनेछ।

यो खोप कस कसले नलगाउने ?

पाँच वर्षभन्दा कम र १२ वर्षभन्दा बढी उमेरकाले, पहिलो मात्रा खोप लगाएर कुनै गम्भीर प्रकारको एलर्जी भएमा, कोभिड भएका, गम्भीर बिरामी भएका वा उच्च ज्वरो आएका इम्युनोग्लोबुलिन, कन्भलेसेन्ट प्लाज्मा उपचारमा बस्नुभएका बिरामीलाई खोप नलगाउन चिकित्सकको आग्रह छ । इम्युनोग्लोबुलिन, कन्भलेसेन्ट प्लाज्मा उपचार लिएको ९० दिनपछि यो खोप लगाउन मिल्ने चिकित्सक बताउँछन् ।

कोभिड सङ्क्रमण भएको ३० दिनसम्म खोप लगाउन मिल्दैन ।

खोप लगाएपछि हुनसक्ने असर

खोप लगाएका १० जनामध्ये सरदर १ जनामा सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, आलस्य हुने, जाडो हुने, ज्वरो आउने हुनसक्छ ।

यस्तै, खोप लगाइसकेपछि सामान्यतया हुने १०० जनामध्ये एकजनामा वाकवाकी लाग्ने, वान्ता लाग्ने, सुई लगाएको रातो ठाउँमा रातो हुने हुनसक्छ ।

एक हजार जनाले खोप लगाउँदा एकजनामा कम मात्रामा शरीर चिलाउने, बिमिरा आउने, डाबर आउने, आलस्य महसुस हुने, सुई लगाएको ठाउँमा चिलाउने हुन सक्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *