कोभिड कहर आत्मबृतान्त :

बहिनी सुमन ……! उ त केही नभएको मान्छे, कसरी यस्तो हुनसक्छ ?

– नरेन्द्र वि. बज्राचार्य

२२ बैशाख २०७८ को दिन थियो, एकाविहानै मेरी बहिनी सुमनको फोन आयो । माईली दिदी ( रुपा) र भिनाजु (बाबुकाजी) दुबैजना घरमा अचेत अवस्थामा हुनुहुन्छ ……..।

सुमनले थप्दै गईन, ……भिनाजुले मान्छे चिन्न पनि सक्नु भएको छैन् । खाना पु र्‍याउँन जाँदा एक टक लगाएर खानालाई हेर्नुहुन्छ । हामीलाई पनि सशंकित भावले हेर्नुहुन्छ । खाना नलिईकन माथि कोठामा उक्लिनुहुन्छ ………………….।

बीचमै मैले बहिनीको कुरा रोकेर सोधें । कति दिन भयो यस्तो भएको ? ………….. ‘करिब ७ दिन भईसक्यो,’ उनले जवाफ दिईन् । के भएर यस्तो भयो ? ……उनले छोटो जवाफ दिईन्, ….’कोरोनाले ।’

उनले त्यसैमा थपिन, ‘दुबै जनालाई कोरोना लागेकोले हामीले नै पछिल्लो ६÷७ दिनदेखि खाना गेटसम्म लैदिने फर्कने गरेका छौँ ।’

…………………………………………………………………………………………….

यता म र मेरी श्रीमती रुबी पनि कोभिडले समातेको कारण घरकै कोठामा होम आईसोलेसन बनाएर बसेका थियौँ ।
अचानक वहिनीको यस्तो फोन आएपछि आफ्नो चिन्तालाई थाति राखी मैले माईली दिदीलाई फोन गरें ।

दिदीले फोनमा मसिनो स्वरमा भन्नुभयो, ‘हामीलाई कोभिड भएको ७ दिन भई सक्यो । औषधि खाएर बसेका छौं । रोगले झन् झन् च्याप्दै गएको छ ।

दिदीको कुराले निकै नै पिरल्यो । तर त्यसबेला आफूलाई र श्रीमतीलाई पनि ज्वरोले सताईराखेको थियो । मेरो ज्वर १०२ डिग्री देखि १०३ डिग्री सम्म आईरहेको थियो ।

बहिनीको त्रासदी फोन र दिदीको सुस्त स्वरको संवादले गर्दा मनमा धेरै अशान्ती मच्चियो । तुरुन्त कोभिड एम्बुलेन्स १०२ मा फोन गरें । आफ्नो परिचय दिएँ र एम्बुलेन्सबाट मेरो दिदी भिनाजुलाई अस्पतालसम्म पु र्‍याईदिन आग्रह गरें ।

एम्बुलेन्सवालाले जवाफ फर्कायो, ‘पहिले कुन अस्पताल लाने हो निश्चित गर्नुस र हामीलाई फोन गर्नुहोस् । हामीसँग समय एकदम अभाव थियो । मैले तुरुन्त भने हामीले अस्पतालमा कुरा गरिसकेका छौं । तपाईँ तुरुन्त आउनुहोला ।’

एम्बुलेन्सवालाले ठेगाना सोध्यो । मैले डल्लु आवासको पुरानो आयोजना कार्यालयको अगाडी पट्टी भनेर बताईदिएँ ।

कोभिडको ज्वरोले मेरो जीउ आगो जस्तै भतभती पोलिरहेको थियो ।

तर दिदी भिनाजुको अवस्था मेरो भन्दा दयनिय भएको महसुस गरी म आईसोलेसनबाट निस्कें ।

करिब १५ मिनेट पछि डल्लु आवासमा रहेको दिदीको घरमा पुगें । घरको मुल ढोका उघारेर माथि उक्लें । पहिलो तल्लाको कोठामा भिनाजु पश्चिम दिशामा फर्केर सुस्ताउदै हुनुहुन्थ्यो । दिदी पूर्व दिशामा फर्केर हँ- हु गर्दै थिईन् । घर सून्य जस्तै थियो । त्यो देख्दा एकछिन त म पनि सून्य भएँ ।

मैले सोचें जीवनको मूल्य त कौडीको भाउमा पनि नविक्ने रहेछ । यही जीवनलाई हामीले अहंकार गरी म जस्तो महत्वपुर्ण भएको व्यक्ति, मेरो आफ्नो परिचय, सामाजिक प्रतिष्ठा छ भन्ने सोच त केवल क्षणिक हो भनी ब’झ्नु पर्दछ । करिब ३ मिनेटको कोठामा बसाई र दृश्यावलोकनले मेरो मन झन छिया छिया भयो । म मा शक्तिको ह्रास हुँदै गएको महशुस गरें । तर भिनाजुलाई मेरो उपस्थितिको कुनै आभाष नै भएन ।

यहि बीचमा एम्बलेन्सको चालकको मेरो मोबाईलमा घण्टी बझ्न थाल्यो । म तल ओर्ले र एम्बुलेन्सलाई लोकेसन बताएँ । दुई मिनेटमा घरमै आईपुग्यो । त्यसबेलासम्म मेरो वहिनी र ज्वाई विजय पनि आईपुगे ।

मैले उनीहरुलाई सुनाए । दिदी भिनाजुलाई बालाजुस्थित जनमैत्री अस्पताल पठाउन लागेको छु । उनीहरुले समहमति जनाए । एम्बुलेन्समा दिदी र भिनाजुलाई राखेर म मेरी वहिनी र ज्वाई सँगै अर्को गाडी र मोटर साईकलमा गए । करिब २५ मिनेट पछि जनमैत्री अस्पतालको गेटमा पुग्यौँ । तर अस्पतालको गेटमा रहेको सुरक्षाकर्मीले गेट खोल्न मानेन । मैले अस्पतालको जिम्मेवार व्यक्तिलाई फोन गरेर आएको हो भने तर पनि उसले पत्याएन ।

अन्तिममा उसले पहिला भित्र गएर सोध्नुस त्यसपछि मात्रै गेट खोल्ने नखोल्ने निर्णय गरौँला भन्यो । म सोधपुछका लागि भित्र गएँ । तर एक छिन अघि कुरा गरेर लगेको अस्पतालमा भित्रबाट बेड खाली छैन् भन्ने जवाफ आयो । अझ अक्सिजन सिलिण्डर समेत छैन् भन्ने आयो । मैले माथि कुरा गरेको छ भनें तर उनीहरुले जो संग कुरा गरेको हो उसैलाई भन्नु भन्दै झर्किए । हामी अवाक भयौँ ।

हामीलाई उनीहरुसंग सवाल जवाफ गर्ने समय पनि थिएन । अवस्था पनि थिएन । अब कहाँ जाने ? कसलाई गुहार्ने ? तनाव भयो । त्यतिकैमा बहिनी दगुर्दै म भए ठाँउ आईपुगी । उसले एम्बुलेन्स चालकले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लैजान सकिने कुरा गरेको सुनाई । मैले तत्कालै हुन्छ भने । किनकी दिदी र भिनाजुको अवस्था झन झन् नाजुक हुँदै गएको थियो ।

……………………………………………………………………..

करीब आधा घण्टापछि त्रिवि शिक्षण अस्पताल आईपुग्यौँ । तर त्यहाँ देखेको दृश्यबाट मन झन चिसो भयो ।

इमरजेन्सी वार्ड बाहिर टेक्ने ठाँउ छैन् । सबै कोभिडका बिरामीहरुको भिडले टन्न छ । चिनेको डाक्टरलाई फोन गर्दा पहिला खबर गर्नु पर्ने अहिले त व्यवस्था गर्न गाह्रो हुन्छ भन्छ ।

इमर्जेन्सीका डाक्टरले यहाँ बेड खाली छैन सकिन्छ भने अर्को अस्पतालमा लानु भनी सल्लाह दिए । के गर्नेे के नगर्ने, सोच हिन भएँ । एम्बुलेन्स चालकले आफूहरु अन्त पनि जानु पर्ने भन्दै बिरामीलाई भने । हामीले त्यहि झार्न बाध्य भयौँ । तर त्यसपछि झनै बिचल्लीमा परे जस्तो भयो ।

यही बीचमा मेरी भतिजी करिश्माको फोन आयो, अंकल कान्तिपुर अस्पतालमा जानु त्यहाँ एकजना चिनेको डाक्टरसंग कुरा भएको छ उहाँले त्यहाँ बेड मिलाईदिन्छु भन्नु भएको छ । मैले भतिजीलाई सोधे, काठमाडौंका सबै अस्पतालहरुमा बेड खाली छैन भन्दैछन् , जान उचित होला र एकपटक फेरी रिकन्फर्म गरत भने । उसले पुरा कन्फर्म भएर नै फोन गरेको भनेर विश्वास दिलाई । त्यसपछि कोभिडका बिरामीलाई सेवा दिने ट्याक्सीलाई आग्रह गरेर बसुन्धरास्थित कान्तिपुर जनरल हस्पिटल तर्फ हान्नियौँ ।

कान्तिपुर अस्पतालको गेटमा बिना अनुमति भित्र पसें । सुरक्षाकर्मीले अनौठो तरिकाले हेर्यो । उनीहरुबीच खासखुस कुरा भएपछि हामीलाई सोधे । के कारणले आउनु भयो ? मैले त’रुन्त जवाफ दिए, डाक्टर फलानाले पठाएर आएको । एकछिन पछि नाम लिएकै डाक्टर आए र भन्न थाले मैले कसैलाई बचन दिएको छैन्, यहाँ बेड खाली छैन । तपाईहरु जहाँबाट आएको हो त्यही फर्कनोस् ।

मैले त’रुन्तै मेरी भतिजीलाई फोन गरे र डाक्टरको जवाफ सुनाएँ ।

इमरजेन्सीका नर्सले पनि यस्तै जवाफ दिए, हामीकहाँ बेड खाली छैन । सिलिण्डर पनि छैन । हामीले कोभिडको विरामीका सेवा पनि दिएको छैन । के गर्ने के नगर्ने । बडो विचल्लीमा परें । फेरी एकछिन पछि टेक्सिवालालाई भने र टिचिङ लगिदिन भनें । चालकले माने । हामी टिचिङकै इमरजेन्सी अगाडी ओर्लियौँ र बाहिर पेटीमा पालो पर्खेर बस्यौँ । त्यतिन्जेलसम्म मलाई ज्वरोले तात्तिएर असमर्थ बनाइरहेको थियो ।

मैले बहिनीसँग शरीरले असक्त भएकोले घर जान विदा मागे । मलाई धेरै गाह्रो भएकोले म आराम गर्न घर गएँ । साँझको ६÷७ वजेतिर मैले वहिनीलाई फोन गरे र सोधें, दिदीहरुलाई अस्पतालमा भर्ना गरियो ? उनले भनीन् बल्ल प्रवेश पायो । मैले मनमनै सोचे र भने धन्यवाद छ भगवान अब केही आश जाग्यो ।
…………………………………………………………………………….

यता मलाई र मेरी श्रीमतिलाई झन झन कोभिडको ज्वरोले च्याप्दै गयो । कुनै औषधि दवाईले काम गरेन । हामी दुबैजना शिथिल हुँदै गयौँ ।

औषधि खान र काउन्सिलिङ गर्न मेरी शाली रीतू र ज्वाई विजय श्रीले अमेरीका निवासी डा. संविव ह्योजूसँग अनलाइनमा च्याट गर्न सुझाव दिनुभयो । उहाँहरुको सल्लाह सुझाब अनुसार मेरी श्रीमतिले अमेरिकाको डाक्टर संग सरसल्लाह गर्न थालिन् । उतैबाट औषधिको नाम र उपचार गर्ने विधि अनलाइनबाटै सिकाएर पठाउनु भयो । सो अनुसार हामीले ३ दिन घरमै बसेर औषधि उपचार गरेम । तर रोग झन् गाढिंदै गयो ।

पछि त मलाई सास फेर्न गाह्रो हुँदै गयो । मैले मेरो छोरालाई भने बाबु नविब क्षेत्रपाटी चिकित्सालयको डा. मनोज कहाँ गएर एउटा चिठी लिनु र त्रिपूरेश्वरमा गएर अक्सिजन सिलिण्डर ल्याउनु । हाम्रो सहयोगी बनेको छोरालाई पनि गाह्रो हुँदै गएको हामीले महशुस गरेका थियौँ ।

…………………………………………………………….

घरमा हामी जम्मा तीन जना मात्र छौं । मेरो आमा बित्नु भएको २०७६ सालको फागुनमा हो । आमा वितेको चोट नपुरिदै मेरो एक्लो दाजु पनि साढे तीन महिना पछि वित्नुभएको थियो । घर परिवारको देहावशान पश्चात एक्लो र टुहरो भएको हामी मनमा धेरै आहट नै आहट छ । छोराले हामीलाई स्याहार सुसार गर्न परेको र ऊ पनि क्रमश कमजोर हँ’दै गएको देखिई राखेको छ ।

उसलाइ पनि अलि अलि ज्वर आउन थालिसक्यो । तैपनि उसले हामीलाई स्याहार गरिरहेको छ । उ विहान देखि राती सम्म हामीलाई खानपानको व्यवस्था गरी दिन्थ्यो । औषधि नभए किनेर ल्याईदिन्थ्यो । तर पनि रोग विसेक नभए पछि अक्सिजन ल्याउन उसलाई अह्राए ।

मैले क्षेत्रपाटीका चिकित्सक डा.मनोज श्रेष्ठलाई फोनबाट आफुलाई र मेरी श्रीमतिलाई कोभिड भएको ३ दिन भैसक्यो रोग गाढ्दै गएको र श्वास फेर्न समेत गाह्रो भएकोले एक सिलिण्डर अति आवश्यक भएकोले डा.साबको सिफारिस चाहियो भनी अनुरोध गरेँ । उहाँले कसैलाई अस्पतालमा पठाइदिनु भन्नुभयो । मैले छोरालाई भने । उसले जेठी सासुको छोरा सरललाई लिएर अक्सिजन सिलिण्डर लिन गयो । त्रिपूरेश्वरमा अक्सिजनको सिलिण्डर लिइदिन साथीले मद्दत गरिदियो । किनभने त्यो बेला सिलिण्डरको धेरै अभाव थियो ।

छोराले ल्याएको अक्सिजनबाट सास लिंदै दवाई औषधि खाएर बसें । तरपनि निको हुने छाँटकाँट नै देखिन । ओठ एकदम सुखा र निलो हुँदै गयो ।  घाँटीमा थुक निल्नै गाह्रो हुँदै गयो । श्रीमतीलाई पनि उस्तै समस्या बढ्दै गयो ।

मेरी श्रीमतीलाई पनि यस्तै हुँदै गयो । छोरालाई अलिअलि ज्वर आउन सुरु भयो । खाटबाट उठ्दा एकदम चक्कर आउन थाल्यो । यताको अवस्था दिनहुँ अपडेट लिईरहेको देशबाहिर रहेको जेठो छोरा नरुजलाई झन चिन्ता थियो । उसले सुरुको ज्वरो आएको दिनदेखि फोनबाट हाम्रो स्वास्थ्य अवस्था र दवाई औषधि खान र डा.सँग परामर्श गर्न सुझाव दिंदै आएको थियो ।

कोभिडले गर्दा हामी ३ जना परिवार इन्तु न चिन्तु भयौँ । हामीलाई हेर्ने व्यक्ति कोही भएन । पहिला पहिला आमा हुनुहुन्थ्यो । आमाको ढाढस र आशिर्वादले हामीमा उत्साह र साहस आउथ्यो । तर अहिले घरमा आमा नहुँदा र उता दाई नहुँदा टुहुरो र असाहाय जस्तो महसुस गरेँ ।

कोभिड भएको चौथो दिनसम्म छोरालाई बोलाएर भने, बाबु हामी अस्पताल जानुपर्ने भयो । यहाँ बसेर निको होला जस्तो देखिएन । छोराले पनि हुन्छ भन्यो । तर उसको हालत पनि उस्तै थियो ।

अस्पतालमा भर्ना भएको मेरो दिदी भिनाजुको स्वास्थ्यमा सुधार आएको जानकारी पाएँ । तर यता बहिनीलाई अलि अलि ज्वरो आउन थालेछ । मैले वहिनीलाई औषधि खान र आराम गर्नु भनी सल्लाह दिए ।

…………………………………………………………………………

घरमा हामी दुबैको स्वास्थ्य अवस्था विग्रँदै गईरहेको थियो । मैले अब घरमा बसेर हुँदैन । अस्पताल नै जानुपर्छ भन्ने सोचें । तत्कालै १०२ नम्बरमा फोन घुमाउन थालें । श्रीमतीलाई तयार हुँन भने ।

एम्बुलेन्सको लागि १०२ मा फोन गरेँ । टिचिङ पुरयाईदिन आग्रह गरें ।

जिन्दगीमा कहिले पनि अस्पतालमा भर्ना नभएको मान्छे जीवनमा पहिलो पटक अस्पताल जानुपर्दा मन साह्रै डराईरहेको थियो ।

अस्पताल पुग्यौँ तर दिदी भिनाजुको पालामा जस्तै दिनभर बाहिर पालो पर्खेर बस्यौँ । बेला बेलामा राउण्डमा आउने डाक्टर र नर्सले हामीलाई सोध्नुहुन्थ्यो । को छ कुरुवा भनेर । किनभने औषधि लगायत सिरिन्ज किन्न आफ्नो मान्छे चाहिने रहेछ । जेठान अशोक र ज्वाई बिजयलाई बोलायौँ । उनीहरु तत्कालै आए र सहयोग गरे । बेलुका अन्तिममा भर्ना हुन पनि पायौँ ।

जीवनको मृत्यु र सम्झन थालेँ । आफन्त इष्ट मित्र नाता सबको सम्झना आयो । मानिसको जीवनमा ह’ने अभिमान, गौरब र अहंपनालाई बारम्बार दोहोर्याएर सम्झिरहें ।

जे होस् त्यो अस्पतालमा भर्ना पाउनु भनेको जीवनको अध्यारो कुनामा किरणको एक छिद्र पाए सरह झिनो आशा जागेको थियो । त्यो पनि ठुलो राहतको कुरा भयो । हामी बुढा बुढीलाई । अस्पतालको वार्डमा लगेपछि नाकमा अक्सिजनको पाईप चढाएपछि अलि चैनको सास फेर्न पाईयो ।

हामी दुबैलाई औषधि र स्लाईन पानी चढाइयो । हातमा विभिन्न खाले सुई दिए पछि मनलाई धेरै राहत भएको महशुस गरें । तर अस्पतालको वार्डको छेवैको शैय्यामा मान्छे रोएको आवाज सुन्दा मनमा एक किसिमको भारी बोझ भएको जस्तो हुन्थ्यो । केही घण्टा पछि हामी सामुबाट कोभिडका कारणले मृत्युवरण गरेको लाश लग्दा आफ्नो मन थामी नसक्नु भएर आउथ्यो ।

मन भारी भएर आउथ्यो । भक्कानिएर रुन मन लाग्थ्यो । आँखा भरी आश’ छचल्किएर आउथ्यो । सँुक सुक गर्दै रुन थाले । मेरी श्रीमति ऊ आफुपनि विरामी भएर पनि मलाई ढाढस दिंदै नरुन आग्रह गरिरहन्थिन । तर मेरो मन थामी नसक्नु भईरहेको थियो ।

बीच बीचमा कान्छो छोराले फोन गरेर हाम्रो हालखवर सोध्थ्यो । तर ऊ पनि घरमा कोभिडले ग्रस्त भइ असक्त्त भएर बसेको थियो । हामीले उसलाई केही औषधि उपचार गर्न सक्ने क्षमता भएन सिवाए दवाई किनेर खान सल्लाह मात्र दिन सक्थौं ।

धन्न मेरो जेठी सासु छिमेकी भएकोले उसको जेठो छोरो सूलभले मेरो कान्छो छोरालाई कोभिडको बेला औषधि किनिदिन्थे । हेर विचार गरिदिन्थे । खाजाको व्यवस्था गरिदिन्थ्यो । अनि मेरी भतिजीले विहान वेलुकाको खाना तयार गरेर मेरो घरको गेट सम्म झुण्ड्याएर फर्किन्थे ।
भनिन्छ मर्दा र पर्दा छिमेकीको अति जरुरी हुन्छ । मेरो जीवनमा सार्थक भएको थियो । नत्र हामी ३ जनाको परिवारमा तीनै जना कोभिड भएकोबेला आफुलाई सम्हाल्न, स्याहार्न नसकेको अवस्थामा यस्तो दुर्दशामा कसरी उम्कन सकिन्छ ।

हाम्रो उपचार हुँदै गयो । तर मेरो अक्सिजनको मात्रा भने घट्दै गयो । दिनहँु मानिसको लाश आफु सामुबाट लगेको देख्दा मनोवल झन झन कमजोर हँुदै गयो । मैले यस्तो देख्न नपरोस् भनी डा.साबलाई मैले अनुरोध गरें । मलाई आई.सि.यू. मा पठाईदेओस् । यस्तो कुरा सुनेपछि मेरी श्रीमति र डा. साहेबले रिसाएर भन्यो, किन आई. सि. यू. ? यतै ठिक छ ।

अक्सिजनको मात्रालाई बढाउने कोशिस गर्नोस् । मेरी श्रीमतीले पनि रिसाएर नचाईने क’रा नगर भनिन् । दुबै जनाको रिस देखें र छिमेकी शैयामा बसेका अरु विरामीहरुले पनि यतै ठिक छ भने पछि अनि मैले जीउने सपना साँचेर आफ्नो मनोवललाई दृद्ध र बलियो पार्न सोंचे । जसरी हुन्छ मेरो अक्सिजनको मात्रालाई बढाउदै लाने छु । यहीं सोंचले मैले आज भन्दा भोली र भोली भन्दा पर्सि अक्सिजनको पाईपलाई धारण गर्ने समय क्रमशः घटाउदै लगे ।

केही दिनमा सानी दिदीको फोन आयो । वहिनी पनि यही अस्पतालमा भर्ना हुन आईन रे । फेरी अर्को चिन्ताको विषय थपियो ।

मैले दिदीलाई भने, किन फेरी बहिनी यहाँ आइपुगेको ? सकभर घरमै बसेर उपचार गरे हून्थ्यो । यहाँ नआए हून्थ्यो । दिदीले भनिन् होइन उनी हिजो आएकी थिइन् रे तर अस्पतालको डा.ले अस्पतालमा भर्ना हुन पर्दैन भनी फर्काएको रे । तर आज फेरी अलि गाह्रो भएकोले अस्पतालमा नै भर्ना हुन आएकी रे ।
……………………………………………………..
दैबको कस्तो लिला । हामी तीन दिदी भाई र परिवार एउटै अस्पतालमा, एउटै रोगले ग्रस्त भई एकै समयमा अस्पतालमा रोगसँग जुध्न भर्ना भएको । तर विवश भनु वा दुर्भाग्य कसैले कसैलाई भेट्न पाएको छैन । अनुहार देख्न पाएको छैन ।

मन धेरै अशान्त थियो । मैले ज्वाईलाई फोन गरे । फेरी दिदीलाई जस्तै त्यही जिज्ञाशा वहिनीलाई ल्याउनु पर्नाका कारण दोहोर्याए । ज्वाईले पनि दिदीले भने जस्तै त्यही कुरा भन्नुभयो । अनि मैले ज्वाईलाई भनु वहिनीलाई एक्लै नछोड्नु होला र मनोवल वलियो पार्ने उपाय गर्नु होला ।

मेरो अक्सिजनको लेभल घट्दै गएकोले बढाउन प्रयास गर्नु भनी राउण्डींगमा आएको बेला डा.साबले सल्लाह दिन हुन्थ्यो । मैले पनि मनमनै सोचे यो अस्पतालमा म धेरै दिन बस्ने छैन । अक्सिजनको लेभल बढाएर चाँडै घर फर्किन्छु । यो संकल्प लिएर सकभर विना अक्सिजनको पाईपको सहाराले श्वासप्रश्वास गर्न अभ्यास गरें । नतिजा पनि सकारात्मक हँुदै गएको अक्सिमिटरले देखाएपछि मनमा एक किसिमको आत्मविश्वास बढ्न थाल्यो । मन अलि हल्का भएको आभाष हुँन थाल्यो ।

मेरो स्वास्थ्यमा सुधार भएको जस्तो थियो । तर बहिनीको अवस्था विग्रँदै गयो । ज्वाईले भन्नुभयो बहिनीलाई आईसीयूमा भर्ना गर्नु परयो । मनमा साह्रै चिन्ता भयो । तैपनि उपचार गर्नु पर्ने भएकोले ढुक्क भएर बसेको छु । मेरो अक्सिजन राम्रो हुँदै गयो । डाक्टरले यस्तै सुधार भयो भने तपाईँलाई भोली नै डिस्चार्ज गर्न सक्छौँ । यति भनेपछि मेरो मनमा कता कताबाट एक किसिमको स्फुर्ति शक्ति आए जस्तो भान भयो । म एकछिन हलुंँगो भए जस्तो महशुस भयो ।

……………………………………………………………..

कोभिडको उपचारको लागि यो अस्पतालमा भर्ना भएको आज ७ दिन सकेर ८ दिन भयो । म र मेरी श्रीमती फर्कने आशमा दुबै खुशी थियौँ । सबै प्रक्रिया पुरा गरेर घर फर्किन आतुर थियौँ हामी । अपरान्ह ४ः३० बजेतिर अस्पतालबाट डिस्चार्ज भयौँ ।

अस्पतालको हातामा रहेको ट्याक्सि लिएर घर तिर लायौँ । बाटो भरी सुनसान र सन्नाटा थियो । कुनै चहलपहल थिएन । डर र त्रासले भरेको वातावरण थियो । फाट्ट फुट्ट ट्याक्सि गुडेको देखिन्थ्यो भने एम्बुलेन्सको आवाजमात्र सुनिरहेको थियो ।

बाटो र शहर भरी सुनसान र अट्टहास देखिन्थ्यो ।

रिब आधा घण्टाको शफर पछि हामी घरमा आइपुग्यौँ । घरमा छोरो एक्लै बस्दै थियो । हेर्दाखेरी साह्रै असक्त र असमर्थ देखिन्थ्यो । छोरालाई सोधें, बाबु तिमीलाई कस्तो छ ? छोरोले भन्यो साह्रै कमजोर भएको छ’ । भित्र मनदेखि नै साह्रै माया लाग्यो । एकहप्ता देखि उ एक्लै घर बसिरहेको छ । घर पुरा सुनसान थियो ।

उसको अगाडी रुन सकेन खाली आँखा भरी आँशु मात्र छचल्कियो ।

अनि हामीले छोरोलाई भने, बाबु हामी यहाँ नबस्ने । हामी आईसोलेशनमा बस्न जाने । अहिले हामी स्वयम्भुस्थीत आईसोलेशनमा बस्न जाने । छोरोले पनि सहमति जनायो । हामी १ २ घण्टा जति घरका सामान आ आफ्नो ठाउमा राख्यौँ ।

छिमेकीलाई हाम्रो घर पनि यसो समय समयमा हेरी दिनुहोला भनी आग्रह गरें । छिमेकीले हुन्छ भनी सहमति जनाएपछि म, श्रीमती र मेरो कान्छो छोरा स्वयम्भुमा रहेको आईसोलेसन केन्द्रमा बस्नकालागि गयौँ ।

त्यहाँ करिब १ घण्टाको प्रक्रिया पछि आईसोलेसन केन्द्रमा भर्ना हुँने मौका पायौँ । अनि हामी ३ नै जना भित्र पसेर एउटै कोठामा तीन ओटा बेड भएको रुममा बस्न थाल्यौँ ।

बिहानको बसाई अस्पतालबाट साँझको बसाई स्वयम्भुको शान्त वातावरणमा स्थानान्तरण गरियो । यो बसाई अस्पतालको बसाई भन्दा सुखद लाग्यो । यहाँ कोलाहल छैन भने अस्पतालको जस्तो डरयुक्त भयावह दृष्य छैन ।

हावापानी स्वच्छ छ भने हरियाली चारैतिर देखिन्छ । हुनत यहाँ पनि आईसोलेशनमा बस्न आउने कोभिडका विरामी हामी जस्तै भर्खरैमात्र निको पारेर आएकाहरु धेरै छन् । तर नगण्यमात्रामा छन् । तर मनमा धेरै शान्ती पाएको छ । खासगरी भन्नु पर्दा यहाँ हामी तीनै जना परिवार सँगै बस्न पायौं । सँगै एउटा कोठामा रहन पायौं । एकले अर्कालाई हेरविचार गर्न पायौं । यो हाम्रोलागि अतिनै सुखद क्षण थियो ।

त्यहीं कोठाबाट हाम्रा जेठो छोरालाई एकै समयमा एकै ठाउबाट सबैले अनुहार देख्ने गरी कुरा गर्न पायौं । यो हाम्रोलागि ज्यादै खुशीको क्षण थियो । हामीले यस आईसोलेशन केन्द्रबाट राहतको सास फेर्न पायौं । हामी आईसोलेशन केन्द्रमा नियमित व्यायाम गर्दै बस्न थाल्यौं ।
………………………………………………………………………….

आइसोलेसनमा बसेको पनि ३ दिन हुन थाल्यो । जिउको ढाड साहै्रे चिसो र दुखेको छ । आङ पनि साह्रै द’खेको छ । मेरो छोरो पनि साह्रै कमजोर छ । मेरी श्रीमती पनि साह्रै कमजोरी छे । यो आइसोलेसनको बसाई पनि स्वास्थकोलागि त्यत्तिको हितकर नभएपछि घर फिर्ता जाने सोचमा आयो । मैले श्रीमति र छोरालाई सोद्धा उनीहरुको मनशाय पनि त्यस्तै देखें ।

दिनभरी बस्दा बस्दा थकाई लाग्ने भएकोले यसो सामाजिक संजालमा हेर्ने गर्दथे । आफ्नो मोबाईलमा भएको सामाजिक संजालमा हेर्दा सबै ठाउमा समबेदना र कोभिडका कारणले मृत्य वरण गरेको समाचार मात्र पढ्न पाउथ्यो । त्यस्तो समाचार सुन्दा मन हतोत्साही हुने र दिक्क लाग्ने गर्दथ्यो ।

एकदिन मेरी श्रीमतिले आफ्नो मोबाईलको सामाजिक संजालमा समबेदना प्रकासित भएको फोटो सहित समाचार देखाउन ल्यायो । मैले त्यो फोटो हेर्दा जीउ सिरिंग भयो । उहाँ त मेरो ठुली आमाको माहिली छोरी रहेछ । साइनोमा मेरी दिदी पर्दछ । अनि भनें कोभिडले त कसैलाई बाँकी राखेन ।

हुन पनि यो दोश्रो लटको डेल्टा ल्पसले धेरै मान्छेको ज्यान लियो । किरा फट्यांग्रा जस्तै मर्न थाले । हिजो देखेको मान्छे आज देख्न पाएन । जीवनको सार त केही पनि नभएको रहेछ । यसरी हामीले आईसोलेसनमा दिन विताउदै थिए । आइसोलेसनमा आएको ५ औं दिनमा मेरी श्रीमतिले आफ्नो मोबाईलमा अर्को फोटो देखाउन ल्यायो । त्यो फोटो देख्दा मन साह्रै आत्तियो । यसो फेरी दोहोर्याएर फोटो हेरें । मन झन झस्कियो । उहाँ त मेरो मामाको कान्छो छोरा रहेछ । साईनोमा मेरो मामा भाई पर्यो । मन त साह्रै द’ख्न थाल्यो । हे भगवान यो के भइरहेको ? कत्ति यस्तो कुरा सुन्न परेको ? मान्छेको जीवनमा यस्तो सहनशीलता कहिले सम्म ? किन यस्तो दुःखको ओईरो ? आखिर कहिले सम्म यो मनलाई थाम्ने हो ? मन त झन छिया छिया भईरहेछ ।

यस्तो विषम परिस्थितिको सामाजिक संजालमा आउने समाचार नहेर्न मैले मेरी श्रीमतिलाई भनें । अनि त्यसपछि हामी तीनै जना यो आईसोलशनमा नबस्ने बरु घर जाने विचारले सल्लाह गरें । आईसोलेसनमा आएको ७ औं दिनमा आइसोलेशन केन्द्रका कर्मचारीलाई घर फिर्तिकालागि अनुरोध गरें । उनीहरुले सकारात्मक उत्तर दिएपछि केही घण्टाको प्रक्रियापछि हामी घर जान आईसोलेसन केन्द्रबाट बाहिर निस्क्यौँ ।

हामीलाई कोभिड रोगले सताएको पनि १५ दिन भइसक्यो । कोभिडसँग ज’ध्न र उपचार गर्न हामी अस्पताल गयौं । अस्पतालको १ हप्ता उपचार पछि फर्केर फेरी आईसोलेसनमा बस्न गयौं । त्यहाँ पनि एक हप्ताको बसाईबाट केही शारीरिक आराम लाभ गरेर आज हामी आफ्नै निवासमा फक्र्यौं । यो हाम्रो जीत हो । कोभिडसंग युद्ध गरेको हाम्रो विजय हो । यो कुरालाई मनमा राखी श्वास प्रश्वासबाट हाम्रो पुर्व जीवनमा फर्किन, स्वस्थ हुनको लागि सफलताको एक खुड्किलो थियो ।

घरमा पूगेपछि स्वर्गको अनूभुति भयो । कोभिड कहरले गर्दा अस्पतालमा बस्नू परेको । त्यहाँको दर्दनाक र त्रासदीपुर्ण वातावरणमा बस्नू परेको आदि सबै एकछिन सम्झे । त्यहाँबाट निस्केर आइसोलेसनमा बसेको र सर्दीले जीउनै कर्याक कूर्यक भएको सबै एकपटक नेपथ्यमा सम्झे । अनि घर आउदा जीउ नै हलंूगो भएको अनूभुति गरें ।

जीउ त आधि मात्र बाँकी छ । दूब्लाएर हेर्न लायकको छैन । तीनै जना थकित छौं । असमर्थ र असमंन्जसमा जीवन साँचेर आएको छौं । तैपनि मनोवललाई दह्रो गर्दै जीउने आशा बोकरे आएको । यसरी घरमा तीनै जनाले राहतको स्वास फेर्दै जीवनलाई फेरी नयाँ किरणबाट पून जीउन सुरु गरयौँ ।
………………………………………………………………………
घर आएको तीन दिन भयो । साँझ पख मेरी श्रीमतीको मोबाईलमा फोन आयो । मेरी श्रीमतीले केही बेर मोबाइलमा कूराकानी गरेपछि राखिन । मैले सोधें कस्को फोन हो ? उनले भनिन् भतिजीको हो । मैले सोधें के भनेकी छिन् ? उनले जवाफ दिईन्, हामी घर आईपूग्यौ भनेर सोधेकी र हाम्रो स्वास्थ कस्तो छ भनी सोधेकी । मैले भने ए ।

अनि सधैं झै हामी खानपान गरीसकेपछि राती सुत्ने तरखरमा थियौँ । विस्तारै मेरी श्रीमतीले मलाई हातले समाई अर्को कोठामा लगेर सुस्तरी सानो स्वरमा भन्न थालिन्, अघि भतिजीको फोन आएकोमा मैले तपाईलाई भनेकी थिईनन् एउटा कूरा । मैले सोधें, के कूरा ? मेरी श्रीमतीले तूरुन्तै भन्ने आँट गरिनन् । मैले फेरी सोधें भनन के कुरा …….?

उनले विस्तारै भनिन्, तपाईकी बहिनी अब यस संसारमा रहिनन्……………….। मैले नपत्याएर ठुलो स्वरमा भने के भनेकी ? होईन यो हून सक्दैन । उ त केही नभएको मान्छे । उनलाई कसरी यस्तो हून सक्छे ? कोभिडले सिकिस्त भएको विरामी त म, माहिली दिदी र भिनाजू हो ।
बहिनी कसरी यस्तो………………?

म रोएँ । धेरै रोएँ । रुने सिवाय मैले अरु केही गर्न सकिन । मेरी श्रीमतिले फेरी मेरो टाउकोमा हात सूमसूम्याएर भन्न थालिन्, हो हाम्रो वहिनी, तपाईको वहिनी, मेरी नन्दनी अब रहिनन् ।

धेरै बेर रोएँ । मेरो मूखबाट बोली फूटेन । म छटपटेर रोएँ । खाली रोइमात्र रहें । मेरो घर पहिले नै सूनसान र रोगले गर्दा भययूक्त भएको वातावरणमा फेरी मेरी वहिनीको देहावशानले झन चोट पर्यो ।

कूनै आवाज थिएन । खाली मेरो रोदनको आवाजमात्र गून्जिरहेको थियो । करिब २-३ घण्टाको रोदन पछि मैले रातको ९ः०० वजेतिर विस्तारै ज्वाईलाई फोन गर्न आँट गरें । ज्वाईले फोनमा रुदै भन्न थाले, सूमनले मलाई छोडेर गयो…। मैले ज्वाईलाई केही भन्न सकेन ।

म पनि फोनमा रोईरहे । केही बेरपछि मैले फेरी ज्वाईलाई सोधें । कसरी यस्तो भएको ? उहाँले भन्नूभयो, उनलाई आई.सि.यू.मा राखेर पनि बिसेक नभएपछि डाक्टरले भेन्टिलेटरमा राख्नू पर्छ भन्यो, आज राति करिब ३ बजेतिर सूमनलाई आई.सि.यू.बाट भेन्टिलेटरमा शिफ्ट गरियो ।

उनलाई स्वास फेर्न धेरै गाह्रो भएकीले भेन्टिलेटरमा शिफ्ट गरियो । अनि आज विहान ६ बजेतिर नै सूमनले मलाई छोडेर गईन्………………।

म पनि फोनम रोईरहे । धेरै बेरसम्म रोईरहे ।

यस्तो रोदन मेरो ०७६ सालको फागूण १५ गते देखि सूरु भएको अलि आँशू नसूक्दै २०७७ सालको अषाढमा मेरो दाजूको देहावशानले फेरी रुलायो । अब त केही राहत होला भनेको त मेरी एक्ली वहिनीको २०७८ सालको जेष्ठमा स्वर्गारोहणले झन काँडा विझायो ।

मेरा यी विति गएका अग्रज र वहिनीको सर्वकामना गर्दै प्रार्थना गर्दछु ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।

सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्जन ।।

हामीलाई यस दुखद घडीमा साथ दिनुहुने सबै मित्र तथा आफन्त जनलाई हृदय देखि नै आभार प्रकट गर्दछु ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *