बिरामीलाई अति आवश्यक हुने रगत र रक्ततत्वको मूल्यमा एकै पटक भारी बृद्धि
दानबाट उपलव्ध एक युनिट रगत लिँदा बिरामी पक्षले ८१० देखि १६४० रुपैयाँसम्म तिर्नुपर्ने
काठमाडौँ, २१ जेठ । सरकारले दानबाट प्राप्त हुने रगतको मूल्य भारी मात्रामा बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दानबाट प्राप्त हुने रगत र रक्त तत्वको मूल्य ६५ देखि ३२० प्रतिशतसम्म बढाएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गत बुधबार सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे जानकारी गराउँदै पठाएको पत्रमा प्रति युनिट रगतको सेवा शुल्क ८१० देखि अधिकतम १६४० सम्म कायम गर्न सकिने बताएको छ । यसअघि प्रति युनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।
जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाले हस्ताक्षर गरेको पत्रमा नयाँ मूल्य गत २२ चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णयबाट भएको उल्लेख छ ।
त्यसमा केही भेराइबल कस्टिङ समेत उल्लेख गरिएको छ । जस्तो कि व्लड व्यागको १५० रुपैयाँ उल्लेख छ । यसअघि यसको मूल्य ८० रुपैयाँ थियो । ट्रान्सफुजन सेट ३० रुपैयाँ थियो । अब त्यसको मूल्य १०० रुपैयाँ कायम गरिएको छ ।
कुनै स्वस्थ व्यक्तिले बिरामीको लागि भन्दै दान दिएको रगत बिरामीले पनि निशुल्क पाउनु पर्छ भन्ने पहिले देखि नै आवाज उठिरहेको छ । तर सरकारले भने एकै पटक भारी मात्रामा मूल्य बढाएको छ । टेष्टिङ देखि रगत राख्नका लागि चाहिने सामग्रीको मूल्य बढेकोले रगत चाहिने व्यक्तिसंग त्यस बापतको शुल्क उठाएको भन्दै आएको छ ।
यसैबीच नेपाल स्वयंसेवी रक्तदाता समाजले रगतको मूल्य बढाएको प्रति बिरोध गरेको छ । समाजका अध्यक्ष प्रेम सागर कर्माचार्यले विज्ञप्ती जारी गर्दै यथाशीघ्र निशुल्क दानमा उपलव्ध हुँदै आएको रगत र रगतबाट तयार पारिएको रक्त तत्वहरु बिरामी समक्ष स्वास्थ्य लाभको निमित्त निशुल्क प्राप्तिको व्यवस्था मिलाउन माग गरेको छ ।
गत वर्ष १५ औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसमा प्रयोगशाला कि निर्देशक डा झाले निशुल्क रगत उपलव्ध गराउने विषयमा केही माग सम्वोधन हुने बताएको स्मरण गर्दै कर्माचार्यले अहिले एकाएक मूल्य गर्दा आफूहरु स्तव्ध भएको बताए । समाजले रगतको मूल्य बृद्धि गर्ने जस्तो कुत्सित कार्यको भत्सर्ना गरेको बताएको छ ।
सम्पर्क इमेल : [email protected]