ललितपुर महानगरले भोलि देखि नगरबासीको घर घरमा गएर सुर्तीजन्य पदार्थ नखान आग्रह गर्ने

ललितपुर प्रहरी प्रमुखको घोषणा : 'विद्यालयको १०० मिटर वरपर हुने गरेको सुर्तीजन्य पदार्थ विक्री बितरण १५ दिन भित्र रोक लगाउँछौँ'

काठमाडौँ, १६ जेठ । ललितपुर महानगरपालिकाले भोलि देखि आफना नागरिकलाई घर घरमा पुगेर सुर्तीजन्य पदार्थ नखान आग्रह गर्ने भएको छ ।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सो घोषणा गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च नेपाल र एक्सन नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख महर्जनले नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ भएको र यसलाई नियन्त्रण गरी ललितपुरलाई हेल्दी सिटीमा रुपान्तरण गर्नु अबको आवश्यकता भएको बताए ।

उनले त्यसका लागि विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसर पारि मंगलाबार (भोलि देखि) नै अभियान सञ्चालन गर्ने जानकारी दिए ।

‘हामी भोलिबाट नै घर घर मै जान्छौँ नमस्कार गर्छौं र सुर्तीजन्य पदार्थ प्रयोग गर्ने बारेमा सोझ्छौँ । यदि प्रयोग गर्ने हुनुहुदो रहेछ भने प्रयोग नगर्नुस भनेर दुई हात जोडेर अनुरोध गर्दछौँ,’ महर्जनले भने ।

उनले संविधानको धारा ८ को उपधारा १ बमोजिम नगरपालिकाको काम कर्तव्य अधिकारको बारेमा प्रष्ट लेखिएको भन्दै त्यसको प्रयोग गर्दै अभियान सञ्चालन सुरु गर्ने बताए ।

उनले अहिले महानगरपालिकाले चार वटा ठाँउमा नो स्मोकिङ जोन घोषणा गरी त्यसलाई कार्यान्वयनमा ल्याएको भन्दै यसलाई थप स्थानमा बढाउने बताए ।

 

कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानुन बनिसकेको र यसको कार्यान्वयनमा देखिएको जटिलतालाई न्युनिकरण गर्दै पुर्ण कार्यान्वयनका लागि पहल गर्ने बताईन् । उनले आफु कुरामा भन्दा काममा विश्वास गर्ने गरेको भन्दै नीति कार्यान्वयन अघि बढ्ने बताईन् ।

यस्तै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्याम सुन्दर यादवले सुर्तीजन्य पदार्थको प्रयोगकै कारण नसर्ने रोगको जोखिम बढी रहेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले कानून कार्यान्वयन र जनचेतना अभियानलाई संगसंगै अघि बढाउनु पर्ने बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानुन कार्यान्वयनका लागि स्थानीय प्रशासनले सहजीकरण गर्ने बताए । उनले नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थ कुलतमा लाग्नबाट जोगाउँने गरी कामहरु अघि बढाउने बताए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण विरुद्धको कानुन कार्यान्वयनका लागि संघ प्रदेश र स्थानीय तहसंग समन्वय गरेर अघि बढेको जानकारी दिए । उनले कानुन कार्यान्वयनका लागि अन्य सरोकारवालासंग समन्वय गरेर अघि बढ्ने बताए ।

ललितपुर प्रहरी प्रमुखको घोषणा : ‘विद्यालयको १०० मिटर वरपर हुने गरेको सूर्तिजन्य पदार्थ विक्री बितरण १५ दिन भित्र रोक लगाउँछौँ’

अन्तरक्रिया कार्यक्रममा सहभागी भएका ललितपुरका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले अवको १५ दिनमा जिल्लाका हरेक विद्यालयको १०० मिटर वरपर सुर्तीजन्य पदार्थ बेचविखन गर्न नपाईने नियमलाई पुर्ण कार्यान्वयन ल्याउने बताए ।

उनले कानूनमा भएका व्यवस्थालाई सरोकारवालासंग समन्वय गरेर लागु गर्न आफ्नो पहल हुने बताए ।

‘सुर्तीजन्य पदार्थले जनस्वास्थ्यलाई हानी त भएकै छ यसले दुरव्यसनलाई समेत बढावा दिन्छ । त्यसैले हामी यसमा गम्भीर छौँ सबै सरोकारवाला मिलेर ललितपुरलाई हेल्दी सिटी बनाउने अभियानमा सक्रिय ढंगले लाग्छौँ,’ उनले भने ।

कार्यक्रममा पाटन अस्पतालका निर्देशक प्रा डा रबि शाक्यले नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थको कुलतमा लाग्न नदिनका लागि अव विशेष अभियान चलाउनु पर्ने बताए । उनले अस्पताल र वरपरका क्षेत्रलाई धुमपान मुक्त क्षेत्र बनाउन आफ्नो तर्फबाट पहल गर्ने बताए ।

सुर्तीजन्य पदार्थ विरुद्ध अभियान सञ्चालन गर्दै आएको संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले ललितपुरलाई दीगो रुपमा स्वस्थ शहर बनाउन महानगरले चालेको कदमको सराहाना गर्दै कानुन कार्यान्वयनका अझ लाग्नुपर्ने बताए । उनले खिल्ली चुरोट विक्रीमा रोक लगाउने, सार्वजनिक स्थललाई धुमपान निषेधित क्षेत्र घोषणा गर्नुपर्ने लगायतका कार्यक्रमहरु अघि बढाउनु पर्ने बताए ।

ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले नगरलाई स्वस्थ शहर बनाउन सुर्तिजन्य पदार्थको प्रयोगलाई उल्लेख्य रुपमा घटाउने बताए । उनले मंगलबारबाट ५ जना नगरप्रहरी सुर्तीजन्य पदार्थ विरुद्धको अभियान खटिने जानकारी दिए । उनले केही वर्ष भित्रै ललितपुरलाई सुर्तीजन्य पदार्थ मुक्त नगर बनाउने घोषणा गरे ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि घ्याम्पोले नेपालले सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि चालेका कदम आफैमा उत्कृष्ठ रहेको भन्दै यो उपलव्धीलाई संस्थागत गर्दै थप प्रयासहरु अघि बढाउनु पर्ने बताए ।

सेन्ट जेभियर्स स्कुलका फादर साइमल सिनिकले पछिल्लो समय शहरी क्षेत्रका कतिपय बालबालिकाहरु समेत सुर्तीजन्य पदार्थको कुलतमा फसेको भन्दै यसका लागि विद्यालय, शिक्षक र अभिभावकहरु चनाखो हुनुपर्ने बताए । उनले जनचेतनाका माध्यमबाट बालबालिकालाई कुलतमा लाग्नबाट जोगाउन सकिने बताए ।

कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईँले सुर्तीजन्य पदार्थले क्यान्सर सहितका नसर्ने रोगको जोखिम बढाउने गरेको भन्दै यसको प्रयोग नियन्त्रणका लागि सबै पक्ष चनाखो हुनुपर्ने बताईन । उनले सुर्तिजन्य पदार्थमा ७ हजार बढी केमिकल हुने भन्दै यसबारेमा आम सर्वसाधारणलाई जानकारी हुनुपर्ने बताए । नेपालले कानुन राम्रो बनाईसकेको भन्दै यसको पुर्ण कार्यान्वयन हुनुपर्ने बताईन ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वाथ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीले सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनाएको कानुन र कार्यान्वयनको अवस्थाको बारेमा प्रस्तुती गरेका थिए ।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि मञ्चले अभियानको रुपमा कार्य गर्दै आएको भन्दै जनताको स्वास्थ्यको लागि आफुहरुले निरन्तर खवरदारी गर्दै आएको बताए ।

महानगरका नगर प्रहरी प्रमुख हाछेथुलाई सम्मान


यसैबीच सुर्तिजन्य पदार्थ विरुद्धको अभियानमा उत्कृष्ठ कार्य गरेको भन्दै सुर्तीजन्य पदार्थ विरुद्ध काम गर्दै आएको संस्था एक्सन नेपालले ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुलाई सम्मान गरेको छ । उनलाई ललितपुरका प्रमुख चिरीबाबु महर्जन, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं, एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *