तल्लो तहबाट माग सुनुवाई नभएपछि वीरको कर्मचारी युनियनले गर्यो माथिल्लो तहको ध्यानाकर्षण
प्रतिष्ठानका कुलपति र सहकुलपति समक्ष ४४ बुँदे मागपत्र पेश
काठमाडौँ, ११ चैत । आफूहरुले उठाएका मागलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति र मातहतका पदाधिकारीहरुले वेवास्ता गरेपछि कर्मचारी युनियन वीर अस्पतालले सो माग प्रष्ठिानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा समक्ष पेश गरेको छ । उसले प्रतिष्ठानको सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री विरोध खतिवडालाई भने भेटेरै माग पत्र बुझाएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कर्मचारी युनियन वीर अस्पतालका सचिव दीपक मुडभरीले स्वायत्त प्रतिष्ठान ऐनको कार्यान्वयन, प्रतिष्ठान सभा, दीक्षान्त समारोह, प्रतिष्ठान सेवा आयोग गठन, प्रतिष्ठा सेवा तर्फको ओएनएम सर्भे, लगायतका विभिन्न ४४ वुँधे माग अघि सारेको बताए ।
उनले माग पत्रमा नयाँ सर्जिकल भवनमा कम्तिमा १०० वेड आईसीयू सहित पूर्ण रुपमा सञ्चालन हुनुपर्ने, दुवाकोट परियोजना निर्माण कार्यमा त्रिवता, ब्रिगिएका उपकरण मर्मत र सन्चालन, आकस्मिक सेवा बिस्तार र गुणस्तरीयता, रेडियोलोजी ,सर्जरी , र आइसीयू सेवा चुस्त र गुणस्तरीय बनाउन निर्देशन दिन भनिएको बताए ।
यसैगरी प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीको बृत्तिविकास, स्तरबृद्धि, प्रतिष्ठान सेवाको शिक्षक तथा कर्मचारीलाई जिम्मेवारी दिदा समानता, ट्रमा सेन्टर तथा कर्मचारी समन्धमा सर्वोच्च अदालत को आदेशको कार्यान्वयन, सेवा बिस्तार भत्ता, उपदान कोष सञ्चालन, ऐनेस्थेसिया तथा प्याथोलोजि भत्तामा समानता लगायता विषयमा प्रतिष्ठान पदाधिकारीलाई आवश्यक निर्देशन दिन समेत माग गरिएको छ ।
‘हामीले जेनयुन माग उठाउँदै आएका छौँ । यी मागका विषयमा उपकुलपति र उहाँका मातहतका पदाधिकारीको धेरै पटक ध्यानाकर्षण गराउने कोशिश गरयौँ तर त्यसको कुनै सुनुवाई नै भएन । त्यसैले बाध्य भएर सहकुलपति र कुलपतिकै ध्यानाकर्षण गराएका हौँ,’ मुडभरीले बताए ।
शुक्रबार आफूहरुको ज्ञापन पत्र बुझ्ने क्रममा सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री खतिवडाले तत्काल पुरा हुने मागको लागि प्रतिष्ठान पदाधिकारीलाई निर्देशन दिने र केही समय लाग्न सक्ने नीतिगत सुधारका विषयलाई प्रतिष्ठान सभामा लैजाने प्रतिवद्धता व्यक्त गरे ।
सम्पर्क इमेल : [email protected]