कान्ति बाल अस्पतालमा आजबाट पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सेवा सुरु
काठमाडौँ, ७ चैत । कान्ति बाल अस्पतालले बच्चाहरुको लागि छातीरोग सम्वन्धी उपचार (पेडियाट्रिक पल्मोनोलोजी ओपिडी) सुरु गरेको छ । पेडियाट्रिक पल्मोनोलोजी एण्ड इन्टेन्सिभ केयरमा डीएम गरेका नेपालकै पहिलो पेडियाट्रिक पल्मोनोलोजिष्ट डा जगतजीवन घिमिरे नेतृत्वको टोलीले यो सेवा सुरु गरेको हो ।
कान्तिमा यसअघि सामान्य रुपमा दम क्लिनिक सञ्चालन थियो । अब भने बच्चाहरुको पल्मोनोलोजी सम्वन्धी सबै उपचार हुनेछ ।
‘यसलाई बच्चाहरुको चेष्ट क्लिनिक हो भनेर बुझ्दा पनि हुन्छ । हामीले पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सुरु गरेका छौँ । यसअघि दमको मात्रै जाँच हुन्थ्यो । त्यो भनेको पल्मोनोलोजी भित्रको एउटा स्वास्थ्य समस्या भयो । अब पल्मोनोलोजी भित्र पर्ने थुप्रै स्वास्थ्य समस्याको निदान तथा उपचार हुन्छ,’ डा घिमिरेले भने ।
उनले पल्मोनोलोजी ओपिडी अन्तर्गत अर्को महत्वपूर्ण मानिने ब्रोन्कोस्कोपिक सेवा पनि छिटै सुरु गर्ने बताए ।
डा घिमिरेले अहिले चलिरहेको पीआईसीयूमा समेत थप उपकरण राखेर अझ व्यवस्थित गर्न लागेको समेत जानकारी दिए ।
‘बच्चामा दम मात्रै रोग होइन । सयौँ किसिमको छातीसम्बन्धी रोगहरु छन् । ती सबैलाई कभर गर्न पेडियाट्रिक पल्मोनोलोली ओपिडी भनेर सुरु गरेको हौँ,’ उनले भने ।
उनले सो ओपिडीमा बच्चामा हुने दम, निमोनिया, सास फेर्न गाह्रो हुने, निद्राको समस्या, निद्रामा घुर्ने लगायतका छातीरोग सम्वन्धी सबै उपचार हुने उनले बताए ।
आज देखि सुरु भएको पेडियाट्रिक पल्मोनोलोजी ओपिडी अहिले हप्तामा दुई दिन सोमबार र विहीबार सञ्चालन हुनेछ ।
सम्पर्क इमेल : [email protected]