कोभिड घटेपछि भरतपुर अस्पतालमा बिहीबारबाट नियमित सेवा

76
Shares

चितवन, १९ माघ । कोरोना सङ्क्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ । अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन गर्न लागेको हो । माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्ण पौडेलका अनुसार कोरोना जोखिमका कारण बन्द गरिएको सेवा सञ्चालनमा ल्याउन लागिएको हो । उनले भने, “अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको चाप घटेसँंगै स्थगित गरिएका सेवा सञ्चालन गर्न लागिएको हो ।”

चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुने क्रम बढेपछि अत्यावश्यक सेवाका लागि जनशक्ति कम भएकाले यी सेवा स्थगित गरिएको थियो । कोरोना कहरपछि शल्यक्रिया नगरेपनि हुने खालका बिरामीलाई सेवा बन्द गरिएको थियो । यसैगरी बहिरंग सेवामा चाप बढेपछि अस्पतालले बिहान ८स्३० बजेबाट ओपिडी सेवा सञ्चालन गर्दै आएको थियो ।

अस्पतालले एक सूचना प्रकाशन गरी कोरोना सङ्क्रमणको जोखिम अझै कायम रहेको हुँदा अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई पूर्णपालना गर्न आग्रह समेत गरेको छ । अस्पतालमा हाल ४१ जना सङ्क्रमित भर्ना भएर सेवा लिइरहेका छन् ।

अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यो केन्द्रीय अस्पताल हो ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *