खोपको विवरण अध्याबधिक गर्न डा. लोहनीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन

काठमाडौँ, १६ माघ । स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्धको खोपको विवरण अध्यावधिक गर्न प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले आज मन्त्रीस्तरीय निर्णय गर्दै समिति बनाएका हुन् । उक्त समितिलाई दुई साता भित्र कोभिडविरुद्धको खोपको विवरण अध्यावधिक गरि प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगिता मिश्राले यो समितिले कोभिडविरुद्धको खोप सुरुको मिति देखि अहिले आएको, खोप लगाएको र मौज्दात रहेको सम्पूर्ण विवरणको अध्यावधिक गर्ने बताइन ।
उनले भनिन्, ‘गतवर्ष १४ माघ देखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरियो, त्यस यता कति खोप आए ? कति लगाइए ? कति खेर गए ? सबै विवरण आउँछ ।’
दुई साता अघि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्यबाट प्रतिनिधित्व गर्न गएका जिम्मेवार अधिकारीहरुले २४ लाख खोप हराएको भन्ने अभिव्यक्ति दिएपछि खोपको व्यवस्थापन फितलो भएको भन्दै चर्को आवाज उठेको छ ।
आलोचना बढ्दै गएपछि मन्त्रालयका अधिकारीहरुले विवरण अध्यावधिक नभएको बताउँन थालेका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




