पाँच दिनमा पाँच गुणाले बढ्यो कोरोना !

काठमाडौँ, २७ पुस । पाँच दिन अघि अर्थात गत २२ पुसमा देशभर कोरोना संक्रमितको संख्या ५४० थियो, तर आज एकै दिन २ हजार ४४४ जनामा संक्रमण देखियो । पाँच दिनको संक्रमण दर तुलना गर्दा करीव करीव पाँच गुणाले बढी हो ।

एक दिन अघिकै तथ्यांंक हेर्दा पनि करीव दोब्बरले बढेको छ । सोमबार देशभर १ हजार ४४६ जना संक्रमित थिए ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेल संक्रमण दरले कोरोनाको नयाँ भेरियन्टको प्रभावको संकेत गरेको बताउँछन् ।

‘ओमिक्रोन भेरियन्टको संक्रमण दर डेल्टाको भन्दा बढी छ । किनभने डेल्टाले ४ देखि ६ जनालाई संक्रमण गर्दथ्यो भने । ओमिक्रोनले ८ देखि १२ जनालाई संक्रमण गर्छ भन्ने अनुसन्धानले पुष्टि गरेको छ । हाम्रो पछिल्लो तथ्यांकले पनि हरेक दुई देखि तीन दिनमा संक्रमण दोब्बरले बढेको देखिएको छ,’ डा पौेडेलले भने ।

यता शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनले अहिलेको संक्रमण दरले तेस्रो लहरको चर्चालाई थप बलियो बनाएको बताउँछन् । तर उनले डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन केही कमजोर रहेको दावी गर्छन् ।

‘कमजोरको अर्थ यसलाई सामान्य अर्थमा लिनु भन्ने होइन । तर पहिले कोरोना संक्रमणमा परिसकेको व्यक्तिलाई, खोप लगाएको व्यक्तिलाई यसले धेरै गम्भीर असर तुलनात्मक रुपमा कम गरेको छ । भन्ने हो । भारतमा पनि अहिले ५ देखि १० प्रतिशत मात्रै अस्पताल जानेको संख्या देखिएको छ । यसले पनि पुष्टि गर्दछ,’ उनले भने ।

सरकारले भने संक्रमण दर बढ्दै जाँदा थप कडाईका व्यवस्थाहरु अघि सारेको छ । विद्यालय बन्द गर्ने देखि सार्वजनिक र भिडभाड हुने गतिविधि रोक्नका लागि स्थानीय प्रशासनले निर्देशनात्मक आदेश जारी गरेको छ ।

यस्तै संक्रमण रोकथामका मापदण्डहरुको पूर्ण पालना गर्न तथा खोप लगाउन समेत आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *