फाइजर खोपका लागि अभाव भएको ‘घोलक’ भोलि आईपुग्ने

काठमाडौँ, १३ पुस । स्वास्थ्य मन्त्रालयले यसअघि नै काठमाडौँ उपत्यकाका तीन सहित आठ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई १३ पुस (आज) देखि कोभिडविरुद्धको फाइजर खोप दिने घोषणा गरेको थियो ।

तर, खोप सुरु हुने एक दिन अघि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सिरिन्ज (०.३ एमएल वाला) अभावका कारण यसअघि तय भएको समय र स्थानका बालबालिकालाई सो खोप दिन नसकिएको जनाएको छ ।

तर विभागकै आपूर्ति व्यवस्थापन शाखाले भने अभाव भएको भनिएको सिरिन्जको जोहो तत्कालका लागि भइसकेको स्पष्ट पारेको छ । शाखा प्रमुख सुरेन्द्र चौरसियाले भने, ‘अहिले आएको खोपका लागि आवश्यक पर्ने सिरिन्ज हामीले व्यवस्थापन गरिसकेका छौँ । बरु अहिले अभाव भएको भनेको खोपको घोलक हो त्यो पनि भोलिसम्म आईपुग्छ ।’

के हो यो घोलक ?
फाइजर खोप पातलो बनाउन सोडियम क्लोराइड भएको घोलक प्रयोग गर्नु पर्ने हुन्छ । फाइजर खोपका लागि प्रतिभाइल १.८ मिलिलिटर ०.९ प्रतिशत घोलक हाल्नुपर्ने हुन्छ । यसले खोपको बाक्लोपन केही मात्रा घटाउने, रसायनहरूको सन्तुलन मिलाउने र खोपको प्रभावकारिता बढाउने काम समेत गर्छ।

खोप छिटै सुरु हुन्छ तर कुन दिन देखि भनेर अहिल्यै भन्न सक्दैनौँ

यता विभागको परिवार कल्याण महशाखा अन्तरगत रहेको खोप शाखाले पछिल्लो समयमा स्थगित भएको खोप कार्यक्रम कहिले देखि सुरु गर्ने भन्ने विषयमा टुंगो नभएको बताउँछ ।

शाखाका प्रमुख सागर दाहालले भने, ‘अहिलेसम्म हामीलाई सुई र घोलकको अभाव भएको भन्ने जानकारी थियो । त्यसको व्यवस्थापन भयो भने पहिलो चरणमा अहिले आएको खोप सक्ने गरी अभियान सुरु हुन्छ होला । तर अहिले नै यो दिनबाट खोप सुरु हुन्छ भन्ने टुंगो भईसकेको छैन् ।’

सरकारले ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरुलाई भने मोडर्ना खोप दिईरहेको छ । बाँकी २० जिल्लाका बालबालिकालाई फाइजर खोप दिने भनिएको हो ।

त्यसमध्ये काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेत गरी ८ जिल्लाका बालबालिकालाई आजैबाट फाइजर खोप दिने भनिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *