एकैदिन साढे ५ लाख बढीलाई खोप दिएको खबरले प्रधानमन्त्री खुशी, स्वास्थ्यकर्मीलाई बधाई

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले एकै दिनमा साढे पाँच लाख बढीलाई कोभिडविरुद्धको खोप दिएको भन्ने खबरले खुशी भएका छन् । उनले त्यस कार्यमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई बधाई र धन्यवाद दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांंक अनुसार एक दिनमा ५ लाख ६८ हजार ३१९ जनाले खोप पाएका थिए ।

प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार डा आरपी विच्छाले नेपाली हेल्थसंग भने,  ‘हिजोको कभरेज दरपछि प्रधानमन्त्री ज्यू निकै खुशी हुनु भएको छ । उहाँले खोप कभरेज दर बढाउन सफल भएकोमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको नेतृत्व, खोप अभियानमा खटिएका स्वास्थ्यकमी, समन्वय गर्ने प्रदेश तथा पालिका र यो अभियानलाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने अन्य व्यक्ति तथा निकायलाई विशेषलाई समेत हार्दिक बधाई र धन्यवाद दिनु भएको छ ।’

पुस मसान्त भित्र ६६ प्रतिशत जनतालाई कोभिडविरुद्धको पूर्ण खोप

प्रधानमन्त्री देउवाले पुस मसान्त भित्र ६६ प्रतिशत जनतालाई कोभिडविरुद्धको पूर्ण खोप दिने लक्ष्यका साथ अघि बढ्न स्वास्थ्यका अधिकारीहरुलाई निर्देशन दिएका छन् । सोमबारसम्मको तथ्यांक अनुसार देशमा ३५.५ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

सोमबार बालुवाटारमा स्वास्थ्य सचिव डा रोशन पोखरेलको टोलीलाई बोलाई खोपको कभरेजदरलाई थप तिब्रता दिन निर्देशन दिएका छन् ।
‘सर्वप्रथम एकै दिन साढे पाँच लाखलाई खोप लगाउन सफल भएकोमा स्वास्थ्य सचिव ज्यू र उहाँ मार्फत त्यसमा खटिएका सबै स्वास्थ्यकर्मीलाई बधाई दिनु भयो, यसै गरी कम्तीमा १५ दिनसम्म खोप कार्यक्रम अघि बढाई पूर्ण खोप कभरेज दरलाई कम्तीमा ६६ प्रतिशत पुर्‍याउनु प र्‍यो भन्नुभयो,’डा. विच्छाले भने ।

प्रधानमन्त्रीको निर्देशन पछि स्वास्थ्यले प्रतिदिन पाँच लाख पन्ध्र दिन भन्ने नारा अघि सारेको छ ।

त्यसो त खोप कभरेज दर बढाउनका प्रधानमन्त्री देउवाले गत विहीबार विशेष कार्यक्रम नै राखेका थिए । संघीय सरकारका स्वास्थ्य मन्त्रालय, गृह, अर्थ, संघीयमामिला, सूचना तथा सञ्चार मन्त्रालयका मन्त्री सचिव सहित, सातै प्रदेशका मुख्य मन्त्री , स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सचिवहरु तथा स्थानीय पालिकाका प्रतिनिधिहरुसंग भर्च्युअल बैठक डाकी खोप अभियानको ‘गियर’ बदल्न निर्देशन दिएका थिए ।

‘त्यस बैठकमा सबैले प्रधानमन्त्रीको चासो प्रति समर्थन जनाउँदै कभरेजदर बढाउने प्रतिवद्धता गर्नु भएको थियो । फलस्वरुप हिजो साढे पाँच लाख बढीलाई खोप दिन सकियो,’ डा विच्छाले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *