माओवादीको भाग नमिल्दा नर्सिङ काउन्सिलको पदाधिकारी नियुक्तीमा ढिलाई

काठमाडौँ, ९ पुस । सत्ता गठवन्धन दल नेकपा (माओवादी केन्द्र)ले समेत पदाधकारी नियुक्तीमा भाग खोजेपछि नेपाल नर्सिङ काउन्सिलको पदाधिकारी नियुक्तिमा ढिलाई भएको छ ।

काउन्सिलमा नियुक्तीका लागि स्वास्थ्य मन्त्री विरोध खतिवडाले गत १६ मंसिरमै अध्यक्ष र अरु तीन सदस्यको नाम पठाएका थिए । तर, माओवादीले काउन्सिल पदाधिकारीमा आफ्नो पनि सहभागीता हुनुपर्ने अडान राखेपछि त्यसको निर्णय हुन् सकेको छैन् ।

स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रीपरिषदका हरेक बैठकमा काउन्सिलको नियुक्तीको विषयलाई टुंगोमा पुर्‍याउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएपनि प्रधानमन्त्री देउवाले पदाधिकारी नियुक्तीमा केही मिलाउन बाँकी रहेको भन्दै फाइल अघि बढाउन मानेका छैनन् ।

स्रोतका अनुसार माओवादी स्वास्थ्य विभाग प्रमुख कल्पना धमलाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मार्फत आफ्नो पार्टीको कोटामा पनि भाग राख्नुपर्ने भन्दै नाम पठाएकी छन् । तर काउन्सिल ऐन अनुसार उक्त नाममा सहमति गर्न सहज देखिएको छैन् ।

‘माओवादीको तर्फबाट यो विषय उठाएको हो तर सदस्यमा नियुक्तिमा पनि क्षेत्र छुट्याएको हुँदो रहेछ । हामीले क्याम्पस प्रमुखको तर्फबाट कोही पठाउनु भनेका पनि हौँ तर उहाँहरुले पठाएका नाम जनरल नर्सिङ छ । यसमा अलि मिलिरहेको छैन् । त्यसैमा थप होमवर्क भइरहेको छ सायद । तर अब धेरै ढिलाई नहोला,’ स्वास्थ्य मन्त्री खतिवडाका एक जना सचिवालय सदस्यले भने ।

यसअघि मन्त्री खतिवडाले काउन्सिलको अध्यक्षमा प्राध्यापक सरला केसी सिफारिस गरेका थिए । उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ नर्सिङकी डिन हुन् । यस्तै, काउन्सिलका सदस्यहरुमा रोशनी तुईतुई, रमा पाण्डे र शारदा अर्याललाई सिफारिस गरेका थिए । तुईतुई वीर अस्पतालको नर्सिङ प्रमुख हुन् भने पाण्डे विनायक नर्सिङ क्याम्पसकी प्रिन्सिपल हुन् । यस्तै, सदस्यमा सिफारिस भएकी अर्याल वीर अस्पतालकी नर्स हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *