कर्णालीका नौ जिल्लामा मोर्डना खोप लगाइँदै

कर्णाली, ४ पुष । सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ ।

कर्णालीका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा आजदेखि मोर्डना खोपको पहिलो मात्रा दिन थालिएको हो। निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोर्डना खोपको पहिलो मात्रा आजदेखि यही पुस १४ गते र दोस्रो मात्रा आगामी माघ २ देखि १० गतेसम्म लगाइने जानकारी दिए ।

“साविकका गाविसमा नौ वटा केन्द्र र हालका स्थानीय तहका प्रति वडाका दुई स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याइएको छ”, उनले भने, “स्वास्थ्य कर्मचारी, शिक्षक(शिक्षिका र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप केन्द्रमा परिचालन गरिएको छ, विद्यालय नजाने बालबालिकालाई पनि नजिकको केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।”

खोप लगाउन पाँचभन्दा बढी बालबालिका उपस्थित हुनुपर्ने र छ घण्टाभित्र लगाइसक्नुपर्नेछ। कोरोनाविरुद्धको यो खोप ९४ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका नौ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ ।

सुर्खेतमा यही उमेर समूहका दुई हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर’ नामक खोपको पहिलो मात्रा दिइएको छ ।

रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *