बैतडीमा ७५ हजारले लगाए पूर्ण खोप

बैतडी, २ पुस । बैतडीमा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लाभरि ७५ हजार ३४५ ले खोपको पूर्ण मात्रा लगाएका हुन् ।

खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ ले लगाएका छन् । पछिल्लो विवरणअनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १५ हजार ४०२ ले पहिलो मात्रा र १८ हजार ३५६ ले पूर्ण मात्रा खोप लगाएका छन् । डिलाशैनी गाउँपालिकामा १५ हजार २८३ ले पहिलो मात्रा र आठ हजार ४४३ ले पूर्ण मात्रा खोप लगाएका छन् । पुर्चौंडी नगरपालिकामा ११ हजार २८१ जनाले पहिलो मात्रा र सात हजार ८२१ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

यसैगरी मेलौली नगरपालिकामा नौ हजार १३६ ले पहिलो मात्रा र पाँच हजार २१८ ले पूर्ण मात्रा खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा आठ हजार ९९५ ले पूर्ण खोप पाएका छन् । सिगास गाउँपालिकामा आठ हजार ३९५ ले पहिलो मात्रा र तीन हजार ३३७ ले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको पाटन नगरपालिकामा छ हजार १६१ ले पहिलो मात्रा र आठ हजार ७५३ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

सुर्नया गाउँपालिकामा तीन हजार ७१८ ले पहिलो मात्रा र ४ हजार ९२ ले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । पञ्चेश्वर गाउँपालिकामा पाँच हजार ९३७ ले पहिलो मात्रा र छ हजार ९९५ ले पूर्ण मात्रा खोप लगाएका छन् । शिवनाथ गाउँपालिकामा पाँच हजार १३६ ले पहिलो मात्रा र तीन हजार ७३५ ले पूर्ण मात्रा खोप लगाएका छन् । १८ वर्षभन्दा माथि नागरिकलाई खोप लगाउने कार्य अहिले पनि जिल्लाका सबै स्थानीय तहमा खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

यसैबीच बैतडीमा १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । जिल्लामा १८ वर्ष माथिका नागरिकलाई खोप लगाउने अभियान जारी रहेको र अब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको हो ।

सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए । त्यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *