भरतपुर अस्पतालमा तरल अक्सिजन उपकरण जडान


चितवन, १ पुस । भरतपुर अस्पतालमा तरल (लिक्विड) अक्सिजन उपकरण जडान गरिएको छ। अस्पतालमा पर्याप्त अक्सिजन आपूर्तिका लागि उपकरण जडान गरिएको हो।

अस्पतालका बायो मेडिकल इञ्जिनियर तुलसी खनालका अनुसार २० हजार लिटर क्षमताको उक्त उपकरणले दुई हजार सिलिण्डर बराबरको ग्यास अक्सिजन आपूर्ति गर्दछ। यस उपकरणबाट अस्पतालको सेन्ट्रल सप्लाइमा अक्सिजन जडान गरिँदैछ। यसै हप्ता सम्पूर्ण जडान कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ। अक्सिनको माग उच्च रहेको समयमा यसबाट आपूर्ति गर्न सहज हुने खनालको भनाइ छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार यो उपकरण जडान गरेसँगै अक्सिजन उत्पादनको लागत घट्ने छ। ट्याङ्कीमा तरल अक्सिजन ल्याएर यहाँको ट्याङ्कीमा भरेपछि आवश्यकताअनुसार यसबाट आपूर्ति गर्न सकिने छ। युएसएडको अनुदानमा प्राप्त उपकरण स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई उपलब्ध गराएको पौडेलले जानकारी दिए।

यसअघि अस्पतालमा ग्यास अक्सिजन प्लान्ट रहेको छ। उक्त प्लान्टबाट २४ घण्टामा ७५ सिलिण्डर बराबरको अक्सिजन उत्पादन हुँदै आएको छ। अस्पतालमा आवश्यकताअनुसार अन्यत्रबाट सिलिण्डर मगाएरसमेत माग पूर्ति गरिँदै आएको छ। कोभिड–१९ को महामारीको समयमा जिल्लामा अक्सिजनको आपूर्तिमा कमी आएको थियो। उक्त समयमा उच्च गतिको अक्सिजन आवश्यकता हुँदा पूर्ति गर्न कठिन भएको थियो। सो समयमा भरतपुर अस्पतालमा दैनिक २०० सिलिण्डर अक्सिजन माग भएको थियो।

तरल अक्सिजन उपकरण जडान गरेसँगै अक्सिजनको माग उच्च रहेको समयमा सहज हुने डा पौडेलले बताए। अस्पतालमा अर्को अक्सिजन प्लान्टका लागि भवन निर्माणको कार्य भइरहेको छ । एनआरएनएको सहयोगमा उक्त प्लान्ट जडान गरिँदै छ। चीनबाट उपकरण खरिदको प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए। नयाँ प्लान्ट जडान र तरल अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन किन्नुपर्ने बाध्यता हट्ने छ। सङ्घीय अस्पताल भरतपुरमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन्। सरकारी अस्पतालमा खर्च कम हुने भएकाले यस अस्पतालमा बिरामीको चाप बढ्दो छ।

रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *