डेढ अर्बको लगानीमा अस्पताल

चितवन, १८ मंसिर । मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।

कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो ।

अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भवन तथा सहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार साततले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

दुई सय जना शेयर धनी रहेको यस अस्पतालको संस्थागत शेयर धनीका रुपमा श्री मेडिकल एण्ड टेक्निकल कलेज रहेको छ । अधिकारीका अनुसार १०० शय्या सञ्चालनमा आउँदै गर्दा यसको लगानी रु एक अर्ब ५० करोड पुग्ने छ । उनले भने, “जिल्लामा उत्कृष्ट, सुविधा सम्पन्न अस्पताल हाम्रो हुने छ ।”

अस्पतालका सञ्चालक एवं श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालका अनुसार भवनमा २०० शय्यासम्म सञ्चालन गर्न सक्ने गरी निर्माण गरिएको छ । उनका अनुसार अत्याधुनिक र आधुनिक प्रविधिका उपकरण भित्र्याइँदै छ । कतिपय उपकरण आइसकेका छन् भने कतिपय आउने क्रममा रहेको छ । मेडिकल कलेजपछिको ठूलो लगानीको अस्पतालको रुपमा यसलाई विकास गर्न लागिएको छ ।

अस्पतालका अर्का सञ्चालक कल्याण जोशीका अनुसार १३ वर्षअघि रु पाँच करोडको लागतमा नारायणगढमा स्थापना गरिएको यस अस्पताल हाल भरतपुरको चौबिसकोठीमा रहेको छ । करिब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो । अस्पतालमा विशिष्टिकृतसहित सबै सेवा उपलव्ध गराइने उनको भनाइ छ ।

अस्पतालले जग्गा आफैँले खरिद गरी स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसारको भवन निर्माण र आधुनिक उपकरण जडान गर्न लागेकाले लगानी ठूलो भएको जोशीले जानकारी दिए । कतिपय उपकरण मेडिकल कलेजमा समेत नभएका आधुनिक उपकरण राखेर सेवा दिने उनको भनाइ छ ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *