राष्ट्रिय आविष्कार केन्द्रद्धारा सरकारलाई ‘अतिकम तापक्रम’को खोप राख्न सकिने फ्रिज हस्तान्तरण

काठमाडौँ, १७ मंसिर ।  राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई अति कम तापक्रम (अल्ट्रा लो टेम्प्रेचर) को खोप राख्न सकिने फ्रिज हस्तान्तरण गरेको छ । आविष्कार केन्द्रले कोभिडविरुद्धको फाइजर तथा मोडर्ना खोप भण्डारण गर्न मिल्ने एक हजार लिटर क्षमताको फ्रिज स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगत आपूर्ति व्यवस्थापन शाखालाई हस्तान्तरण गरेको हो ।

विहीबार आयोजित कार्यक्रममा आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सो फ्रिज व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीलाई हस्तान्तरण गरे । उक्त फ्रिजमा माइनस ८६ डिग्री सेल्सियस सम्म चिसो हुने केन्द्रका अध्यक्ष पुनले बताए ।

उनले ति फ्रिजहरु खास गरि कोरोना विरुद्धको फाइजर खोप राख्नको लागि अमेरिकामा बस्ने नेपालीहरुको आर्थिक सहयोगमा २७ लाख ५० हजार रुपैयाँमा खरीद गरिएको बताए । सो फ्रिजमा १० लाख डोज अति कम तापक्रममा भण्डारण गर्नुपर्ने खोपहरु राख्न सकिने बताइएको छ ।

यसअघि आविष्कार केन्द्रले नै स्वास्थ्य मन्त्रालयलाई अतिकम तापक्रमका दुईवटा फ्रिजहरु आफूसंग रहेको र ती फ्रिजहरु निशुल्क रुपमा उपलव्ध गराउने भन्दै पत्र पठाएको थियो । आविष्कार केन्द्रको पत्र पछि मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई पत्र लेख्दै प्रयोगका लागि व्यवस्थापन मिलाउन निर्देशन दिएको थियो ।

विभागलाई यसअघि युनिसेफले करीव १ लाख २० हजार डोज खोप भण्डारण गर्न मिल्ने चारवटा अल्ट्रा लो टेम्प्रेचर फ्रिज उपलव्ध गराएको थियो ।

आज १ लाख ८८ हजार डोज मोडर्ना खोप आउँदै

यसैबीच कोभिडविरुद्धको खोपको सूचीमा नेपालले थप नयाँ खोप प्राप्त गर्ने भएको छ । कोभ्याक्स सुविधा अन्तरगर्त नेपालमा आज १ लाख ८८ हजार डोज मोडर्ना खोप आउने भएको छ ।

यो खोप आइसकेपछि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने तयारी सरकारी अधिकारीहरुले गरेका छन् । यद्धपी औपचारिक निर्णय भने भइसकेको छैन् ।

‘कुन उमेर समूहकालाई दिने भनेर अहिलेसम्म निर्णय भइसकेको छैन् । आइतबार खोप सल्लाहकार समितिको बैठक बस्दैछ, त्यसले निर्णय गर्छ होला,’ स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले भने ।

त्यसो त विश्व स्वास्थ्य संगठनले मोडर्ना खोप १२ वर्ष माथिको उमेर समूहलाई लगाउन सक्ने गरी अनुमति दिएको छ । नेपालले डव्लुएचओको नीति अनुसरण गर्ने भएकोले यो खोप पनि १२ देखि १७ वर्ष उमेर समूहलाई दिने योजना बनाइएको बताइएको छ ।

यसअघि अमेरिकी अर्को खोप फाइजर आउँदा सो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो ।
मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

नेपालमा अहिलेसम्म कोभिडविरुद्धका लागि भनेर बनाइएका कोभिसिल्ड, भेरोसेल, एस्टाजेनेका, जानसन र फाइजर खोप लगाईसकिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *