एमाले महाधिवेशनको उद्घाटन सत्रमा यसरी भयो स्वास्थ्यकर्मी परिचालन (फोटोफिचर)

चितवन, १० मंसिर । नारायणी नदी किनारमा भएको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रका उपस्थिति लाखौँ देखिएपनि अस्वस्थ धेरै भएनन् ।

स्वास्थ्य समितिले तयार पारेको स्टलमा दिनभरमा करीव १४ जनाले आकस्मिक उपचार सेवा लिएका छन् । ती मध्ये चार जनालाई थप उपचारका लागि अस्पताल पठाएपनि अहिले सबै जना निको भएर घर फर्किसकेको स्वास्थ्यकर्मी परिचालन समितिका सदस्य लिलाधर पौडेलले बताए ।

विशेषज्ञ चिकित्सक, प्यारामेडिक्स, नर्स, प्रयोगशालाकर्मी र फार्मासिस्टहरु गरी करीव २५० जना बढीको स्वास्थ्यकर्मीको टोली आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न महाधिवेशन स्थल खटिएको थियो ।

‘सामान्य विहोस हुने, स्वासप्रस्वासमा कठिनाई (दम बढ्ने) जस्ता समस्या देखिएका करीव १४ जना व्यक्ति उपचारका लागि आए, त्यसमध्ये चार जनालाई एम्बुलेन्समा हालेर अस्पताल पठाएका थियौँ । बाँकी १० जना एकछिनको उपचार पछि निको भइसक्नु भएको थियो । अहिले अस्पतालमा पठाएका चार जना पनि डिस्चार्ज भइसक्नु भएको छ,’ पौडेलले भने ।

उनका अनुसार सामान्य टाउको दुखेको, नियमित खानुपर्ने औषधि विर्षेको भनेर औषधि लिनको संख्या भने करीव १५०० पुगेको उनले सुनाए ।

पौडेलले उदघाटन सत्र पछि स्वास्थ्यकर्मीको टोली सौराहा प्रस्थान गरिसकेको र सेवा दिन थालिसकेको बताए । सौराहामा विरामी हुने महाधिवेशन प्रतिनिधिलाई होटलका कोठा कोठामै पुगेर सेवा दिने योजना रहेको समेत बताए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले महाधिवेशनमा ठूलो स्वास्थ्य समस्या भएको जानकारी आफूले नपाएको बताए । उनले महाधिवेशनका लागि एम्बुलेन्स लगायतका स्वास्थ्य सेवाका लागि कार्यालयले रेडक्रससंग समन्वय गरेर व्यवस्थापन गरिदिएको बताए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *