६० लाख डोज फाइजर र ४० लाख डोज मोडर्ना खोप खरीद गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, २३ कात्तिक । सरकारले ६० लाख डोज फाइजर र ४० लाख डोज मोडर्ना खोप खरिदका लागि स्वीकृति दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदका लागि गरेको प्रस्तावलाई स्वीकृति दिने निर्णय गरेको हो ।

यो संगै बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषद्ट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए ।

स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको बताए । ‘अब फाइजर र मोर्डना खोप छिट्टै आउनेछ, मन्त्री खतिवडाले भने’, “मन्त्रिपरिषद्ले खोप ल्याउने निर्णय गरेसँगै खोप आइहाल्छ ।”

सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरिसकेको छ । मोर्डना र फाइजर खोप १२ वर्षदेखि माथिकालाई लगाउन सकिन्छ । कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध उक्त फ्रिज युनिसेफमार्फत नेपाल आएको हो । उक्त फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल, एस्ट्राजनिका, जोन्सन एन्ड जोन्सनलगायतका खोप आएका छन् । ती खोपहरू दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

यसअघि एक लाख मात्रा खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपाल आइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *