अमेरिकामा मस्तिष्क मृत घोषणा गरिएका मानिसमा ‘सुँगुरको मिर्गौलाले काम गर्‍यो’

बीबीसी । अमेरिकामा शल्यचिकित्सकहरूको एउटा समूहले एक व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण परीक्षण गरिएको र त्यसले अङ्ग प्रत्यारोपणको प्रतीक्षा गरिरहेका गम्भीर बिरामीमा दाताबाट प्राप्त हुने अङ्गको अभावसम्बन्धी समस्या समाधान गर्ने सक्ने विश्वास गरिएको बताएका छन्।

उक्त प्रयोगात्मक अभ्यासका क्रममा त्यस्तो मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति ‘ब्रेन-डेडू अर्थात् ‘मृतमस्तिष्क’ भएको अवस्थामा पुगेका बिरामी थिए।

चिकित्सकीय भाषामा त्यसको अर्थ उनी निको भएर जीवित हुने सम्भावना थिएन र उनलाई चिकित्सा उपकरणको सहायतामा मात्रै जीवित अवस्थामा राखिएको थियो।

उनलाई दिइएको मिर्गौला आनुवंशिक परिवर्तन गरिएको एउटा सुँगुरबाट निकालिएको थियो।

सुँगुरको वंशाणुमा गरिएको त्यस्तो परिवर्तन बिरामीको शरीरले प्रत्यारोपण गरिएको अङ्ग स्वीकार गरोस् र बाहिरी अङ्गको रूपमा त्यसलाई अस्वीकार नगरोस् भन्ने हेतुले गरिएको बताइएको छ।

उक्त चिकित्सकीय परीक्षणका विवरणहरूबारे समकक्षी विज्ञहरूबाट समीक्षात्मक धारणहरू प्रकाशित भइसकेका छैनन्।

तर विज्ञहरूले भने यसलाई एक प्रकारको उन्नत प्रयोग भएको बताएका छन्।

यसअघि पनि त्यस किसिमका परीक्षणहरू भएका मानवबाहेक अन्य प्रजातिका प्राइमेट अर्थात् नरवानरमा गरिएको थियो।

अङ्ग प्रत्यारोपणमा सुँगुरको प्रयोग नौलो भने होइन। सुँगुरको मुटुको भल्भ मानिसको शरीरमा पहिले पनि व्यापक प्रयोग भएको छ। अनि आकारको हिसाबले पनि सुँगुरका भित्री अङ्ग मानिससँग मिल्दोजुल्दो हुन्छ।

न्यूयोर्क विश्वविद्यालयको ल्याङ्गोन मेडिकल सेन्टरमा भएको दुई घण्टा लामो शल्यक्रियामा चिकित्सकले सुँगुरको मिर्गौलालाई मस्तिष्क मृत भएका बिरामीको रक्तनलीसँग जोडिदिएका थिए। उनीहरूले रक्तसञ्चार सञ्चालन भएपछि बिरामीको शरीरले मिर्गौलालाई स्वीकार गरी सहज ढङ्गमा काम गर्छ वा अस्वीकार गर्छ भन्ने हेर्नका लागि त्यसो गरेका हुन्।

शल्यचिकित्सकहरूको उक्त समूहले झन्डै साढे दुई दिन मिर्गौलाको निगरानी गरे, पटकपटक जाँच र परीक्षण गरे।

अनुसन्धानको नेतृत्व गरिरहेका चिकित्सक रोबर्ट मोन्ट्गोमरीले बीबीसीसँग भने, ‘हामीले मानवमिर्गौला प्रत्यारोपण गरे सरह काम गरिरहेको मिर्गौला देख्यौँ जुन एउटा सामान्य मानवमिर्गौलाले गर्ने सबै कुरासँग मिल्दोजुल्दो देखियो।’

‘सुँगुरको मिर्गौलाले मानव शरीरमा पनि सामान्य रूपमा काम गर्‍यो। प्रत्यारोपण गरिएको शरीरले त्यसलाई अस्वीकार गरेन।’

शल्यचिकित्सकहरूले सुँगुरको मिर्गौलासँगै थाइमस ग्रन्थिको केही भाग समेत प्रत्यारोपण गरेका थिए। कण्ठाधारनजिकै हुने उक्त ग्रन्थिले प्रतिरक्षा कोशिकाहरूको विकास गरी मानव शरीरलाई लामो समयसम्म मिर्गौला अस्वीकार गर्न रोक्ने सम्भावना भएकाले त्यसो गरिएको हो।
अङ्ग प्रत्यारोपणको प्रतीक्षा सूचीमा रहेका मानिसहरूको लागि तत्काल अङ्ग खोज्न आवश्यक भएको डा। मोन्ट्गोमरीको धारणा छ। उनले आफूले पनि मुटु प्रत्यारोपण गराएका छन्।

उनी आफ्नो यो कार्य विवादित हुन सक्ने स्वीकार्छन्।

‘एउटा मानिसलाई बचाउनका लागि अर्को मर्नुपर्ने परम्परा सधैँ रहिरहनेछैन,’ उनी भन्छन्,’मलाई थाहा छ यो चिन्ताको विषय हो। अनि यो पनि सत्य हो कि अहिले ४० प्रतिशत बिरामीले अङ्ग प्रत्यारोपण कुर्दाकुर्दै ज्यान गुमाउँछन्।’

उनले मासु र औषधिका लागि प्रयोग गरिने सुँगुर मिर्गौला प्रत्यारोपणका लागि प्रयोग गरिनुमा कुनै समस्या नभएको बताए। यो परीक्षण प्रारम्भिक भएको र यस विषयमा थप अनुसन्धान आवश्यक रहेको बताए।

मिर्गौला प्राप्त गर्ने मानिसका परिवारको अनुमतिपछि शल्यक्रिया गरिएको हो। सुरुमा परिवारकै सदस्य ती बिरामीलाई मिर्गौला दिन तयार थिए।

अमेरिकी नियामक संस्था एफडीएले आनुवंशिक रूपमा परिमार्जित सुँगुरका अङ्गहरू यस्ता किसिमका अनुसन्धानका लागि प्रयोग गर्ने अनुमति दिएको छ।

डा. मोन्ट्गोमरीले आगामी एक दशकमा सुँगुरका अन्य अङ्गहरू मुटु, फोक्सो र कलेजो पनि मानवमा प्रत्यारोपण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

द न्याश्नल हेल्थ सर्भिस इन इङ्ल्यान्डकी ९एनएचएस० सघन उपचारकी चिकित्सक डा। मार्याम खोस्रवीले भनिन्, ‘जनावरबाट मानिसमा प्रत्यारोपण हामीले दशकौँदेखि अध्ययन गरिरहेको विषय हो र एउटा समूहले यो कार्यलाई अघि बढाउनु निकै रोचक विषय हो।’

नैतिकतासम्बन्धी विषयलाई इङ्गित गर्दै उनले भनिन्,’हामीले यस्तो प्रत्यारोपण गर्न सफल भयौँ भन्दैमा व्यवहारमा गर्नैपर्छ भन्ने होइन। सम्बन्धित पक्षले यस्ता प्रश्नको कस्तो उत्तर दिन्छ त्यो पर्खनुपर्ने हुन्छ।’

एनएचएस ब्लड एन्ड ट्रान्सप्लान्टका प्रवक्ताले भने तत्कालका लागि मिल्दो मानव दाताहरू हुनु प्राथमिकताको विषय भएको बताए।

परीक्षण गरिएको जस्तो प्रत्यारोपण वास्तविक व्यवहारमा हुन अझै समय लाग्ने भएकाले मानव अङ्गदानमै ध्यान पुर्‍याइनुपर्ने उनको धारणा छ।

‘अनुसन्धानकर्ता र चिकित्सकहरूले बिरामीलाई प्रत्यारोपण गराउने सम्भावना बढाउन निरन्तर काम गरिरहे पनि सबै जनाले अङ्ग प्रत्यारोपणबारे निर्णय गरेर यदि अङ्ग प्रत्यारोपण सम्भव छ भने आफूले के चाहेको हो त्यो आफ्नो परिवारलाई जानकारी दिन आवश्यक छ,’ उनले भने।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *