किर्ते कागजात बनाई १४ स्वास्थ्यकर्मी सरुवा गर्ने शाखा अधिकृत गजुरेललाई स्वास्थ्य मन्त्रालयले गर्‍यो बर्खास्त

काठमाडौँ, २ कात्तिक । कार्यालयको किर्ते कागजात बनाएर १४ जना स्वास्थ्यकर्मीहरूलाई सरुवा गर्ने तत्कालिन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडाका शाखा अधिकृत बासुदेव गजुरेल सरकारी सेवाबाट बर्खास्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९ पुस २०७५ देखि लागू हुने गरी उनलाई भविस्यमा सरकारी सेवामा समेत अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको हो ।

यसअघि उनलाई जिल्ला अदालत मकवानपुरले १९ पुस २०७५ मा कसुरदार ठहर गर्दै २ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । जिल्ला अदालत मकवानपुरका न्यायाधीश ध्रवकुमार पियाको इजलासको फैसलापछि गजुरेल फरार थिए । मन्त्रालयले अदालतको सोही नजिरलाई समातेर सेवाबाट बर्खास्त गरेको हो ।

के गरेका थिए गजुरेलले ?
शाखा अधिकृत गजुरेलले त्यसबेला निमित्त क्षेत्रीय निर्देशनालयका निर्देशकको किर्ते दस्तखत, छापसहित प्रयोग गरी १४ जना स्वास्थ्यकर्मीलाई सरुवा गर्न मुख्य भूमिका निर्वाह गरेको आरोप थियो ।

त्यसबेला अदालतले सरुवा गर्न संलग्न रहेका बिचौलियाहरू कपिलदेव राय यादव, विजयकुमार यादव, विष्णुप्रसाद साह, इसराइली राइललाई जनही एक वर्ष कैद र ५० रुपैयाँ जरिवान गरेको थियो ।

यादव, साह र राइल स्वास्थ्यकर्मी हुन् । गजुरेलले यादव, साह र राइलको सहयोगमा किर्ते कागज बनाएर राजकिशोर यादव, मदनप्रसाद साह, रामरतन यादव, ज्ञानेन्द महतो, अर्पना महासेठ, शुभलक्ष्मी यादव, गणेशलाल विक, मन्दिरा श्रेष्ठ, दिनेशकुमार साह, प्रदीपकुमार यादव, शान्ता विक, तुलसा थापा र अनुराधा गौतमसहित १४ जना स्वास्थ्यकर्मीलाई २०७३ असार ३१ गते विभिन्न स्वास्थ्य संस्थामा सरुवा गरेका थिए ।

निर्देशनालयले उक्त कुरा जानकारी पाएपछि शाखा अधिकृत गजुरेल, यादव, साह, राइल र किर्ते गरेर सरुवा हुने स्वास्थ्यकर्मीलाई निलम्बन गरेर मुद्दा चलाएको थियो । सरुवा हुने १४ जना स्वास्थ्यकर्मीलाई भने अदालतले सफाइ दिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *