दुई हजार बालबालिकाको आँखा परीक्षण

काभ्रेपलान्चोक, १९ असोज । नमोबुद्ध नगरपालिकामा दुई हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण तथा उपचार गरिएको छ ।

अनलाइन कक्षा पढ्दै आएका उनीहरुको घरदैलो अभियानमार्फत आँखा परीक्षण गरिएको हो ।

कोभिड–१९ का कारण विद्यालयमा पठनपाठन बन्द भएपछि कम्प्युटर, ल्यापटप र मोबाइलको प्रयोग गरी निरन्तर अनलाइन कक्षामार्फत अध्ययन गर्दा बालबालिकाको आँखामा समस्या देखिएपछि परीक्षण अभियान सञ्चालन गरिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।

नमोबुद्धले सेवा फाउन्डेसन र बनेपास्थित रेयुकार्य मासुनागा आँखा अस्पतालको सहयोगमा एक महिने अभियान सञ्चालन गरेको हो । आँखा जाँचपश्चात् १११ बालबालिकालाई चस्मा वितरण गर्नुका साथै ३६५ जनालाई निःशुल्क औषधिसमेत उपलब्ध गराएको टिम लिडर प्रफुलराज श्रेष्ठले जानकारी दिए ।

‘परीक्षण गरिएकामध्ये ६४ जनामा मोतियाविन्दु देखिएको छ, १४६ जनालाई थप परीक्षण र उपचारका लागि रेफर गरिएको छ’, उनले भने । दुई सय ४२ आँखाका बिरामीको प्राथमिक उपचार केन्द्र भकुन्डेमा उपचार गरिएको थियो ।

नगरका केही वडामा वृद्धवृद्धाको समेत आँखा परीक्षण गरिएको थियो । नगरले श्रवण शक्ति कम भएका व्यक्तिका लागि निःशुल्क कान सुन्ने मेशिन उपलब्ध गराउने, विद्यालय जाने बालबालिकाको निःशुल्क बीमा गराउने, विपन्न परिवारको स्वास्थ्य बीमा गर्नेलगायत कार्यक्रम सुरु गरेको नगरपालिकाले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *