पर्वत : विद्यार्थी बिरामी पर्न थालेपछि दुई विद्यालय बन्द

पर्वत, १० असोज । धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका–११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ ।  स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको हो ।

विगत एक सातादेखि विद्यार्थीमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको विश्वज्योति प्राविधिक तथा व्यावसायिक माविका प्रअ गणेश तिमिल्सिनाले जानकारी दिए ।

सुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेका थिए । त्यसको एक सातापछि शनिबारदेखि अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको प्रअ तिमिल्सिनाले बताए।

पकुवाको साविक वडा नं ३ रानीस्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी परेका छन् । बालबालिका तथा विद्यार्थी बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रावि पनि बन्द गरिएको छ । सुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको भइनसकेका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको हो । थप विद्यार्थीमा सङ्क्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको तिमल्सिनाको भनाइ छ ।

अहिले झण्डै ५० विद्यार्थी बिरामी परेका छन् । उनीहरु सबैको पिसिआर परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउन पहल भइरहेको छ । वडाध्यक्ष शिवप्रसाद पौडेलले बिरामी परेका विद्यार्थीको पिसिआर वा एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीलाई बोलाइएको बताए । भाइरल र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले थप सजगता अपनाउन विद्यार्थीलाई भनिएको छ ।

उनीहरुले स्थानीय स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गरेर औषधि सेवन गरिरहेको प्रअ तिमिल्सिनाले जानकारी दिए । जिल्लामा यसै सातादेखि विद्यालयको भौतिक उपस्थितिमा पढाइ गरिएको छ । यही असोज १ गतेदेखि विद्यालय खुलेका हुन् । विद्यालय खुलेको केही दिनमै बिरामी परेपछि पढाइ प्रभावित बनेको प्रद्यानाध्यापक तिमिल्सिनाले बताए । जिल्लामा कोरोना सङ्क्रमण दर भने न्यून छ । अहिले जिल्लाभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *