मिर्गौला पीडितलाई उपचार गर्ने बहानामा चन्दा उठाउने तीनजना पक्राउ

कास्की, ५ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ।

युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा मिर्गौला पीडितको नाममा चन्दा सङ्कलन गर्ने संस्थाकी अध्यक्ष झापाको विर्तामोडकी ३४ वर्षीया एलिजा बस्नेत र सदस्यद्वय हल्दीबारीका ४४ वर्षीय धनबहादुर सेञ्चुरी तथा विर्तामोडका ३२ वर्षीय टेकबहादुर बस्नेतलाई पक्राउ गरिएको हो।

प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका–२६ विजयपुरस्थित न्यू हाई वे स्टाफ होटल एण्ड लजबाट उनीहरुलाई चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा र चार लाख छ हजार ४०६ रुपैयाँ नगदसहित पक्राउ गरिएको हो।

उनीहरुले १२ जना बिरामीको नाममा समूह बनाएर १० अटो ट्याम्पो भाडामा लिई कास्की, तनहुँ, स्याङ्जा, दैलेख, सुनसरी, चितवन, नवलपरासी, पाल्पालगायतका जिल्लाबाट चन्दा सङ्कलन गर्दै आएको उनले जानकारी दिए। चन्दा ऐन २०३० अन्तर्गत उनीहरुको जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *