भरतपुर अस्पतालमा कोभिड संक्रमितका लागि छुट्टै डायलासिस

चितवन, ४ भदौ । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ। डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलासिस उपकरणमा गत साउनमा मात्रै छ कोभिड सङ्क्रमितले १३ पटक सेवा लिएका छन्। अस्पतालमा रहेका १२ डायलासिस उपकरणमध्ये एउटा बिग्रिएको छ भने दुई प्रयोगमा नै आएका छैनन्।

दैनिक चार सिफ्टमा डायलासिसको काम हुँदै आएको यस अस्पतालमा अहिले मासिक १०१ व्यक्तिले नियमित सेवा लिँदै आएका छन्। साउनमा मात्रै १२१ ले सेवा लिएको उनले जानकारी दिए। साउनमा सेवा लिएकामध्ये ४९ महिला र ७२ पुरुष छन्।

डायलासिस विभागकी सुनिता देवकोटाका अनुसार अहिले पालो पर्खेर बसेका बिरामीको सङ्ख्या ४० जना रहेको छ। पालो पर्खेर बसेकाले दुई महिनासम्म पालो कुर्नुपर्ने हुन्छ। उनीहरुले यहाँ लामो समयसम्म पालो कुर्नुपर्ने भएपछि अन्य अस्पतालबाट सेवा लिने गरेका छन्।

अस्पतालमा पालोमा रहेका बिरामीलाई क्रमशः सेवा दिने उनले जानकारी दिइन्। चिकित्सकको सल्लाहले आकस्मिक मिर्गौलाको डायलासिस गर्नुपर्नेलाई भने पालो कुर्नु नपर्ने उनले जानकारी दिइन्। विसं २०७४ मा यस अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएसँगै एक व्यक्तिले ३०९ पटकसम्म सेवा लिएको तथ्याङ्क छ।

आकस्मिक सेवा लिनुपर्दा रु दुई हजार ५०० मा सेवा दिइने गरेको छ। यो सेवा निजीमा भन्दा सस्तो हो। निजी अस्पतालले एकपटकको रु तीन हजार ५०० देखि रु सात हजारसम्म लिने गरेका छन्। सरकारी अस्पतालमा प्रक्रिया पुर्‍याएर उपचारका लागि आए यो सेवा निःशुल्क हुनेछ। सरकारी अस्पतालमा सबै उपकरण सञ्चालन नहुँदा र उपकरणको कमीले चाहेर पनि धेरैले यो सेवा लिन पाएका छैनन्।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *