काठमाडौँमा एस्ट्राजेनेकाको पहिलो मात्रा दिन थालियो, प्राथमिकतामा को – को ?
काठमाडौँ, १ भदौ । कोभिडविरुद्धको खोप अभियान अन्तरगत स्वास्थ्य कार्यालय काठमाडौँले मंगलबार (आज) देखि जिल्लाभर एस्ट्राजेनेकाको पहिलो मात्रा खोप दिन थालेको छ । कोभिड खोप लगाउन बाँकीहरुमध्ये प्राथमिकता निर्धारण गरी महानगर र नगरपालिकामा पहिलो मात्रा खोप दिन थालेको हो ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले पहिलो डोज एस्ट्राजेनेका खोप लिनका लागि महानगरभित्र, राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, परोपकार प्रसूति गृह अस्पताल थापाथली, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर र सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा खोप केन्द्र तोकिएको बताए ।
यस्तै उनले कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नागार्जुन नगरपालिका, गोकर्णेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, टोखा नगरपालिकामा पनि अभियान सञ्चालन हुने जानकारी दिए ।
खोप प्राथमिकतामा को को ?
स्वास्थ्य कार्यालय प्रमुख खड्काका अनुसार यसपटक विश्वविद्यालय तहको परीक्षा दिने प्रवेश पत्र लिईसकेका विद्यार्थी, नयाँ संसद भवन निर्माणमा सम्लग्न कर्मचारी तथा मजदुर, बैदेशिक रोजगारी, अध्ययन, र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिहरु, मिर्गौलाले काम नगरी डायलासिस गर्नु पर्ने र गरेका व्यक्तिहरु, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका विरामीहरु तोकिएका छन् ।
यस्तै रिहाव सेन्टरमा रहेका व्यक्ति र सो स्थानमा काम गर्ने कर्मचारीहरु, औद्योगिक क्षेत्रमा कार्यरत कर्मचारीहरु र मजदुरहरु, माइती नेपालले संरक्षणमा राखेका महिला तथा किशोर किशोरीहरु, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवारहरु र ३० बर्ष माथि उमेरका व्यक्तिहरु पनि यसपटक खोप लगाउने प्राथमिकतामा परेको बताए ।
स्वास्थ्य कार्यालयले सो मापदण्ड बनाएपनि आजबाट महानगर भित्रका खोप केन्द्रहरुमा खोप लगाउनका लागि एप्समा दर्ता भई विद्युतीय दर्ता नम्बर लिएर पुग्ने १८ बर्ष माथिका सबै व्यक्तिले खोप पाएका छन् ।
खोप लगाउनका लागि अहिले नागरिकता वा कुनै निकायले जारी गरेको परिचय पत्र र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहित नम्बर लिएर खोप केन्द्रमा जानु पर्दछ ।
सम्पर्क इमेल : [email protected]