धौलागिरि अस्पतालमा डाइलायसि सेवा विस्तार

 

गलकोट, ३२ साउन । धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डाइलायसिस सेवा विस्तार गरिएको छ । यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डाइलासिस मेसिन (डाइलोजर)अस्पताललाई पठाएको थियो ।

चार श्यामा सञ्चालमा आएको सो सेवा अब छ श्ययामा प्रदान गरिने छ । अस्पतालमा डाइलासिस गर्ने बिरामीको चाप उच्च भएपछि सेवा थप गरिएको धौलागिरि अस्पतालले जनाएको छ ।

डाइलासिस सञ्चालनका लागि जनशक्तिको अभाव भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए । “ गण्डकी प्रदेश सरकालाई हामीले मन्त्रालयमै पुगेर अस्पतालको समस्या र तत्काल आवश्यक उपकरण पठाउन आग्रह गरेका थियौँ, स्वास्थ्य मन्त्रालयले दुई डाइलासिस मेसिन पठाएको छ”, उनले भने, “अस्पतालका अनुगमनमा आएका मन्त्री मधुमाया अधिकारीले डाइलासिस कक्षका क्षमता बढाउने औजार उपकरण पठाउने आश्वासन दिएका छन् ।”

विसं २०७५ वैशाखबाट अस्पतालमा सुुरु भएको अस्पतालको डाइलासिस कक्ष विस्तार नहुँदा १८ जनासम्म बिरामीले पालो कुर्नुपरेको अवस्था थियो । यसलाई सम्बोधन गर्न उपकरण थप भएको र बिरामीलाई राहत मिलेको स्वास्थ्यकर्मी दिपिका गौतमले जानकारी दिए । “डाइलासिस कक्षका लागि छुट्टै जनशक्ति नहुँदा केही समस्या छ, आवश्यक पर्दा अन्य मेडिकल डाक्टर सहयोग गर्न आउनुहुन्छ”, उनले भने, “अहिले नियमितरुपमा १८ बिरामीले नियमित सेवा पाइरहेका छन्, कसैको हप्तामा दुईपटक र कसैको तीन पटकसम्म बिरामीको अवस्था हेरेर डाइलासिस गर्नुपर्ने हुन्छ ।”

चार श्याको डाइलासिस कक्ष हुँदा दैनिक आठ जनाले डाइलासिस गर्दै आएकामा अब न्यूनतम १५ जनाले दैनिक सेवा लिनसक्ने जनाइएको छ । अस्पतालमा डाइलासिस हुँदा आफूलाई निकै सहज भएकोे पर्वत जलजला गाउँपालिकाका दिलबहादुर खत्री बताए ।

दुवै मिर्गौला फेल भएपछि प्रत्यारोपण नगरुञ्जेल बिरामीलाई नियमित डाइलासिस गर्न आवश्यक हुन्छ । आर्थिक हैसियत भएका बिरामीले आफूलाई मिल्ने मिर्गौला प्रत्यारोपण गर्ने भए पनि प्रत्यारोपण गर्न नसक्नेले जीवनभर नियमित डाइलासिस गर्नुपर्ने जनाइएको छ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *