‘केडीसी जनरल हस्पिटल’को मेडिकल डाइरेक्टरमा डा. बिक्रम कार्की नियुक्त

काठमाडौँ, १ साउन । बसुन्धरास्थित केडीसी जनरल हस्पिटलको नयाँ मेडिकल डाइरेक्टरमा डा. बिक्रम कार्की नियुक्त भएका छन् । कान्तिपुर डेन्टल कलेजद्धारा सञ्चालित १०० बेडको उक्त हस्पिटलको सञ्चालक समितिले शुक्रबार डा. कार्कीलाई मेडिकल डाइरेक्टर नियुक्त गरेको हो ।

डा.कार्कीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस र काठमाडौँ मेडिकल कलेजबाट इन्टरनल मेडिसिनमा एमडी गरेका छन् ।

सो अवसरमा बोल्दै केडीसी जनरल हस्पिटलका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले डा कार्कीको आगमनंसंगै जनरल हस्पिटलले नयाँ उचाई लिने बताए । उनले अब हस्पिटलमा विहान ७ बजे देखि बेलुका ७ बजेसम्म जनरल ओपिडी चल्ने समेत जानकारी दिए ।

त्यसो त केडीसी जनरल हस्पिटलले कोभिड – १९ को पहिलो र दोस्रो वेवमा विरामीको उपचारमा उत्कृष्ठ कार्य गरेको छ । ‘कोरोना संक्रमित सयौँ गम्भीर बिरामी केडीसीमा उपचार गरि स्वस्थ भएर घर फर्केका छन् । हाम्रो सेवा उत्कृष्ठ भनेका छन्,’  डा. श्रेष्ठले थपे ।

केडीसी जनरल हस्पिटलमा अहिले अर्थोपेडिक, प्रसूति तथा स्त्रीरोग, युरोलोजी, जनरल सर्जरी, ड्रमाटोलोजी, इएनटी, ग्यास्ट्रो इन्टेरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी, न्युरोलोजी, न्युरोसर्जरी लगायतका सेवा उपलव्ध छ ।

हस्पिटलले क्रेनियो म्याक्जिलोफेसियल ट्रमा सेन्टर स्थापना गरिसकेको छ । यस्तै १७ बेड आइसीयू सहित हस्पिटलले अहिले कोभिड परीक्षणका लागि पीसीआर ल्याव समेत सञ्चालनमा ल्याएको छ । यसैगरी प्याथोलोजी, फिजिओथेरापीसमेतका सेवा उपलव्ध भएको हस्पिटलले जनाएको छ ।

मुख तथा दन्त उपचार सेवामा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर देशकै उत्कृष्ठ संस्थाको रुपमा परिचित छ । ‘केडीसी जनरल हस्पिटललाई पनि हामी त्यस्तै उत्कृष्ठ बनाउने योजना अनुसार अघि बढेका छौँ,’डा. श्रेष्ठले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *