चिकित्सा शास्त्र स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउन देखि हुने निश्चित

काठमाडौँ, १५ असार । कोभिड – १९ को महामारीपछि रोकिदै आएको चिकित्सा शास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउन देखि शुरु हुने निश्चित भएको छ ।

आयोगले सोमबार कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को तर्फबाट परीक्षा सञ्चालनका लागि अनुमति पाएपछि ९ साउन देखि परीक्षा हुने पक्का भएको हो ।

आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले कोभिडका कारणले सर्दै आएको परीक्षा ९ साउन देखि करीब ५ दिन सञ्चालन हुने बताए । उनले त्यस सम्वन्धी विस्तृत सूचना आज प्रकाशित हुने समेत जानकारी दिए ।

‘कोभिड-१९ को कारणले परीक्षा रोकिदै आएको हो । अहिले परीक्षा चलाउनका लागि सीसीएमसीसंग अनुमति लिनु पर्छ । सोमबार (हिजो) हामीलाई ९ साउन देखि प्रवेश परीक्षा सञ्चालन गर्न सकिन्छ भनेर अनुमति पत्र प्राप्त भएको छ । अब बाटो खुल्यो,’ प्रवक्ता लुईटेलले भने ।

उनले यसपटक परीक्षा काठमाडौँ बाहेक मोफसलका चार स्थानमा पनि सञ्चालन हुने बताए ।

‘यसपटक काठमाडौं मात्रै होइन धरान, चितवन, पोखरा र नेपालगञ्जमा पनि परीक्षा हुनेछन् । त्यसका लागि हामीले यसअघि नै विद्यार्थीहरुलाई पायक पर्ने ठाँउ कहाँ हो भनेर सोधेका पनि छौँ । त्यसै आधारमा परीक्षाको तयारी बढाइएको छ,’ उनले भने ।

केही विद्यार्थीहरुले धेरै विषयका परीक्षा दिने भएकाले परीक्षा फरक फरक समय र दिनमा गर्नु परेको समेत उनले स्पष्ट पारे ।

यसपटक परीक्षामा ३२ हजार ८०० बढीले फारम भरेका छन् । त्यसमा सबैभन्दा बढी एमबीबीएसमा रहेको आयोगले जानकारी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *