भेरी अस्पताल स्वास्थ्यकर्मी कुटपिट मुद्दाका तीनजना आरोपी धरौटीमा रिहा

बाँके, ७ असार । नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सक र नर्समाथि कुटपिट मुद्दाका तीनजना आरोपी धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतल बाँकेले घटनाको तीन साता पछि उनीहरुलाई ५० हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले कुटपिट मुद्दाका आरोपी दाङका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई आइतबार धरौटीमा छाड्न आदेश दिएको हो ।

बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार उनीहरुलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

गत १३ जेठ बेलुकी  दाङ तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५४ वर्षीय कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित बनेका उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए । उनीहरुमध्ये मानबहादुर मृतकका भाइ र दुईजना छोरा हुन् ।

भेरी अस्पतालमा भएको उक्त घटनाको चौतर्फी विरोध भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । उनीहरुलाई तत्कालै हिरासतमा लिएर छानविन गरिएको थियो ।

नेपालगञ्ज घटना पछि सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्वन्धी अध्यादेश जारी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *