कोभिड-१९ को विषयमा एमाले स्वास्थ्य विभाग प्रमुख खगराज अधिकारीले भेटे प्रधानमन्त्री, दिए यस्तो सुझाव

काठमाडौँ, २३ बैशाख । सत्तारुड दल नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले पछिल्ला दिनमा देशमा देखिएको कोभिड संक्रमणको बृद्धि र यसबाट भएका क्षतिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका पार्टीका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख खगराज अधिकारीको नेतृत्वमा बुधबार  गएको प्रतिनिधि मण्डलले  प्रधानमन्त्री ओलीलाई भेटी कोभिड – १९ को महामारी नियन्त्रण गर्नका लागि सरकारले तत्कालै चाल्नुपर्ने कदमका बारेमा सुझाव दिएको हो ।

सो टोलीले प्रधानमन्त्रीलाई संक्रमणको बर्तमान अवस्था, यहि गतिमा बढ्दै गएमा केही दिनमा आउनसक्ने अवस्थाको बारेमा समेत जानकारी गराएको छ । उसले सरकारले अब तत्कालै लिनुपर्ने रणनीति प्रस्तुत गर्दै त्यसमा क कसले के गर्ने भन्ने विषयमा समेत जिम्मेवारी लिएर अघि बढ्नुपर्ने बताएको छ ।

यस्तो छ एमाले स्वास्थ्य विभागले प्रधानमन्त्री ओलीलाई प्रस्तुत गरेको कोभिड १९ संक्रमण रोकथाम र उपचार व्यवस्थापन सम्वन्धी रणनीति :

वर्तमान अवस्था
कोभिड- १९ को पहिलो संक्रमण देखि हाल (मंगलबार) सम्म  नेपालमा आरटीपीसीआर विधिबाट परिक्षण गरिएका ३,५१,८०५ केसहरू पुष्टी भएका छन् । बुधबार विहानसम्म ३,४१७ जनाको मृत्युको पुष्टी भएको छ । मंगबार १६,७०२ परिक्षण गरिएकोमा ७,६६० जना पोजिटिभ भेटिएका छन् । मंगलबार मात्रै ५५ जनाको कोभिड १९ बाट मृत्यु पुष्टी भएको छ । २० वटा जिल्लामा आज ५०० भन्दा वढि केशहरू देखिएका छन् । विश्व व्यापी रूपमा हेर्दा मृत्यु हुनेदर २.१ प्रतिशत रहेकोमा नेपालमा १.२ प्रतिशत रहेको छ ।

संक्रमणको अनुमान
एसईआईआर विधिबाट गरिएको अनुमानमा मृत्युको हिसावले आगामी जुन महिनाको ३ तारिकमा संक्रमण उच्च रहनेछ, जसमा एक दिनमा १५० जना सम्म्को मृत्यु हुन सक्ने छ ।

अहिलेको अवस्थाबाट नै अगाडी बढेमा अगष्ट १, २०२१ सम्ममा जम्मा ११ हजारको मृत्यु हुने सक्ने देखिन्छ । अप्रिलको १९ देखि अगष्ट १ तारिक सम्म मात्रै ८,००० जनाको मृत्यु हुन सक्ने अनुमान सो मोडेलले देखाएको छ ।

मास्क र स्यानिटाइजरको पूर्ण प्रयोगले माथि उल्लेखित संख्यामा ३,००० मृत्यु कम हुन सक्ने देखाउछ । खोप समयमै उपलव्ध गराउन सकिएमा अगष्ट १ सम्म हुने मृत्युमा थप १,००० ले कमि ल्याउन सकिने देखिन्छ । मे महिना देखि अगष्टको अन्तिमसम्म अस्पतालमा सामान्य र आइसीयू शैयाहरूमा ठुलो चाप पर्ने देखिन्छ ।

अबको बाटो

१. कोभिड १९ विरूद्धको खोप उपलव्ध गर्न सरकार प्रमुखबाट उत्पादक मुलुकहरू भारत, चीन, बेलायत, अमेरिका र रुसका सरकार प्रमुखहरूसंग कुटनैतिक पहल गर्ने ।

२.  खोप उपलव्ध गर्न सम्बन्धित मुलुकका स्वास्थ्य मन्त्रालय र उत्पादकहरूसंग पहुच भएका व्यक्तिहरूलाई विषेश दुत नियुक्ती गरी खटाउने ।

३. आफ्नो मुलुकलाई चाहिने भन्दा वढी बुकिङ्ग गरेका राष्ट्रहरू क्यानाडा, अमेरिका र बेलायतसंग कुटनैतिक छलफल गरी आयात गर्ने व्यवस्था मिलाउने ।

४. अक्सिजन, अत्यावस्कीय औषधि, पिपिइ र आवश्यक उपकरणहरूमा आयात सहज पार्न छिमेकी मुलुकहरू भारत र चीनसंग सरकार प्रमुखले विषेश पहल गर्ने ।

५. अक्सिजन सहितको आइसोलेशन सेन्टरहरूबाट बिरामीको अवस्था हेरी वीर अस्पतालमा रेफर गर्ने । वीर अस्पतालको नयाँ भवनलाई इमरजेन्सी रिफरल हव बनाई त्यहाँको चिकित्सक टोलीको निर्णयमा काठमाडौंस्थित अरु अस्पतालहरूमा आइसीयू बिरामीको उपचारको व्यवस्थापन गर्ने । सो का लागि आर्थिक र प्रशासनिक अधिकार सहितको बरिष्ठ चिकित्सक खटाउने ।

६. अक्सिजन, औषधि र उपकरणहरूमा हुने कृतिम अभाव र कालावजारी नियन्त्रण गर्न अख्तियर सम्पन्न वहुपक्षिय टोली गठन गरी परिचान गर्ने ।

७. कोभिड परीक्षणलाई व्यवस्थित गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बृध्दि गर्ने । कन्ट्रयाक्ट ट्रेसिङ्गका लागि सुरक्षा निकायलाई आवश्यकता अनुसार परिचालन गर्ने ।

८. होम आइसोलेसनमा बसेका व्यक्तिहरूलाई आवश्यक स्वास्थ्य सल्लाह प्रदान गर्न मेडिकल काउन्सिल, नर्सिङ्ग काउन्सिल, स्वास्थ्य व्यवसायी परिषद, फार्मेसी काउन्सिल र आयुर्वेद काउन्सिललाई एकीकृत योजना बनाई परिचालन गर्ने ।

९. कोभिड १९ को महामारीमा अन्य रोगहरूबाट हुने समस्याको उचित व्यवस्थापन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विषेश योजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिने ।

गम्भीरतापूर्वक लिनुपर्ने विषय :

  • संक्रमण बढ्दै गएको अवस्थामा जनस्वास्थ्य सेवा ऐनको दफा ४८ अनुसार स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने ।
  • स्वास्थ्यको बजेट कम्तीमा १० प्रतिशत पुरयाउनुपर्ने ।
  • स्वास्थ्यकर्मी तथा चिकित्सकको सुरक्षा : ड्युटीमा रहेको स्वास्थ्यकर्मीलाई हातपात गरेमा सुरक्षाकर्मीलाई हातपात गरे सरह सजाय हुने, यस विषयलाई जनस्वास्थ्य ऐनमा थप्ने ।
  • स्वास्थ्यकर्मीलाई कोभिड भएमा तिनको उपचार र उद्धार सुनिश्चित गर्ने र बीमाको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीका लागि केन्द्रमा २ देखि ४ शैय्या सुनिश्चित गर्ने ।
  • जनस्वास्थ्य ऐनको दफा ४८ बमोजिमको उद्धार टोली दुरुस्त राख्ने ।
  • सिमा नाकाको आवतजावतलाई कडाईका साथ रोक्ने, कालोबजारी नियन्त्रण गर्ने ।
  • उपचार सम्वन्धी स्तरीय प्रोटोकल बनाउने र लागू गर्ने ।
  • वीर अस्पताल, त्रिविको सुरेश वाग्ले क्यान्सर अस्पताल, राधा स्वामी धाम बसुन्धरा, क्षयरोग केन्द्र भक्तपुरमा कोभिड बेडका लागि व्यवस्थापन मिलाउने ।
  • अक्सिजन व्यवस्थापनका लागि एक सय देखि डेढ सय स्थानमा प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउने । लिक्वड अक्सिजनको लागि प्लान्ट निर्माण गर्ने ।
  • स्थलमार्ग र हवाई मार्ग गरेर छिमेकी देशबाट तत्काल सिलिन्डर ल्याउने । सिलिन्डरको व्यवस्थापन एचईओसीले गर्ने ।
  • अन्तराष्ट्रिय तहबाट सहयोग जुटाउन परराष्ट्र मन्त्रालयबाट अघि बढाउने ।
  • आउन बाँकी खोप तत्काल ल्याउन पहल गर्ने र थप मुलुकसंग ताकेता गर्ने ।
  • रेम्डेसिभिर उपलव्धता सहज बनाउने ।
  • तराईँका विभिन्न स्थानमा फिल्ड अस्पताल बनाउने र सञ्चालनमा ल्याउने ।
  • कन्ट्याक्ट ट्रेसिङलाई थप व्यवस्थित गरि तिब्रता दिने ।
  • अस्पतालको मूल्य निर्धारण : एउटा साझा दर सरकारी र निजीको (विशेषगरी मेडिकल कलेजको बनाउने) त्यसमा निजीले ५० प्रतिशत थपेर लिन पाउने । क्याविन र विशेष व्यवस्था गरिएका सेवा शुल्क पारदर्शी बनाएर वा बडापत्रमा सूचना दिएर मात्रै लिन पाउने ।
  • अस्पतालको कोभिड सेवा शुल्कमा औषधिको मूल्य समावेश भएको हुनुपर्ने ।
  • औषधिको व्यवस्थापनका लागि औषधि व्यवस्था विभागलाई विशेष रुपमा परिचालन गर्ने ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *