ह्याप्पी माइन्स् डट हेल्थले अनलाइन मार्फत मानसिक स्वास्थ्य सम्वन्धी सेवा उपलव्ध गराउने

काठमाडौँ, १५ बैशाख । मानसिक स्वास्थ्य सम्वन्धी सेवा अनलाइनमार्फत उपलव्ध गराउने उद्देश्यले ‘ह्याप्पी माइन्स् डट हेल्थ’को शुभारम्भ भएको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा ‘ह्याप्पी माइण्ड्स् डट हेल्थ’ शुभारम्भ गरिएको हो ।

गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले ‘ह्याप्पी माइन्ड्स् डट हेल्थ’ को औपचारिक उद्घाटन गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले खासगरी युवाहरुलाइ अनिवार्य रुपमा ध्यान गर्न सुझाव दिइन् । संगीतले पनि थेरापीको काम गर्ने बताउंदै उनले आफ्नो शारीरिक साथै मानसिक स्वास्थ्यको पनि ख्याल गर्न सबैलाई आग्रह गरिन् । उनले सही समयमा सही सेवा शुरु गरेको भन्दै ‘ह्याप्पी माइन्ड्स् डट हेल्थ’ को सफलताको कामना पनि गरिन् ।

कार्यक्रममा ‘ह्याप्पी माइण्ड्स् डट हेल्थ’ अनलाइनबाटै मानसिक स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने अनलाइन प्लेटफर्म भएको जानकारी दिइयो ।

जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको ह्याप्पी माइन्ड्स् डट हेल्थका माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने उक्त संस्थाले बताएको छ ।

‘महामारीका बेला मानसिक स्वास्थ्य समस्या’

मनोचिकित्सक डा। सुरज शाक्यको नेतृत्वमा ह्याप्पी माइण्ड्स् डट हेल्थमा नेपाल, अमेरिका र अष्ट्रेलियाका काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ रहेका छन् । डा शाक्यले कोभिड महामारीका बेला मानिसहरुमा मानसिक स्वास्थ्य समस्या पनि निकै बढेर गएको बताउंदै रोजगारदाताहरुलाइ आफ्ना कर्मचारी र शैक्षिक संस्थाहरुलाइ आफ्ना विद्यार्थीहरुको मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गरे।

मानसिक समस्यालाई समयमै सम्बोधन नगर्दा डिप्रेसन तथा आत्महत्याका घटनाहरु पनि बढ्दै गएको भन्दै उनले आफ्नो परिवारका सदस्य तथा साथीहरुमा त्यस्तो समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न र विज्ञहरुबाट परामर्श लिन आग्रह गरे।

ह्याप्पी माइन्ड्स्‌की प्रबन्ध निर्देशक श्रेया गिरीले अनलाइनबाटै मनोचिकित्सा सेवा प्रदानका लागि ह्याप्पी माइन्ड्स् डट हेल्थ सुरु गरिएको बताइन् ।

‘कोरोना प्रकोपपछि विश्वभरि मानसिक समस्या विकराल बनिरहेको छ, नेपालमा पनि यो अवस्था निकै गम्भीर रुपमा देखिएको छ,’ प्रबन्ध निर्देशक गिरीले भनिन्, ‘यही समस्याको न्यूनिकरण र निराकरणको उद्देश्यका साथ हामीले युवाहरूको टिम बनाएर ह्याप्पी माइन्ड्स् डट हेल्थ शुरु गरिएको हो ।’

ह्याप्पी माइन्ड्स् डट हेल्थले आफ्नो सेवा अनलाइन माध्यमबाटै गोपनीयताका साथ जुम र अनलाइनको सहायताले विशेषज्ञहरूले सञ्चालन गर्ने प्रबन्ध निर्देशक गिरीले बताइन् ।

प्रबन्ध निर्देशक गिरीले नै यो सेवा र प्लेटफर्मको अवधारणा ल्याएकी हुन् । गत वर्ष लन्डनमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका बेला कोभिड–१९ प्रकोप शुरु भएपछि आफू पनि मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएको उनले बताइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *