बाल अस्पताल निर्माणका लागि चुरोट कम्पनीबाट ५ करोड सहयोग लिदै डा. भगवान कोइराला

काठमाडौँ, १० बैशाख । बरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको काठमाडौँ इस्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई नेपालकै सबैभन्दा ठूलो चुरोट कम्पनी सूर्य नेपालले आर्थिक सहयोग गर्ने भएको छ । सूर्य नेपालले सामाजिक उत्तर दायित्वको नाममा अस्पताल बनाउन ५ करोड रुपैयाँ सहयोग गर्न लागेको हो ।

आज अपरान्ह मेरियट होटलमा हुने सहयोग आदानप्रदान सम्वन्धी सम्झौँता पत्रमा किओचका तर्फबाट डा कोइराला र चुरोट कम्पनीका तर्फबाट सूर्य नेपालका उपाध्यक्ष रबि केसीले हस्ताक्षर गर्नेछन् ।

उक्त सम्झौँता पछि बन्ने अस्पताल भवनमा सूर्य नेपालको सहयोगमा बनेको भनेर सिलापत्र राखिने बताइएको छ ।

डा कोइरालाले आफ्नो अगुवाईमा बनाउन लागेका बाल अस्पताल (किओच) का लागि सूर्य नेपालले संस्थागत उत्तरदायित्व अन्तरगर्त ५ करोड रुपैयाँ दिन लागेको बताए । उनले उक्त रकमबाट बन्ने भवनमा सूर्य नेपालको नाम रहने समेत स्पष्ट पारे । तर डा कोइराला यसअघि सुर्तीजन्य पदार्थ प्रयोगलाई नियन्त्रण गर्न बनाइएको नेपालको कानून कडाईका साथ लागू गर्नुपर्छ भन्दै सार्वजनिक फोरममा आफ्नो धारणा राख्दै आएका थिए ।

सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका ऐन २०६८ को दफा १० मा सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रायोजन गर्न नपाइने व्यवस्था छ । त्यसैलाई टेकेर बनाइएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २२ को १ ले सरकारी वा गैरसकारी वा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्संग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राविधिक, भौतिक संरचना ताथ अन्य कुनै पनि प्रकारको सहयोग उत्पादक लगायतले प्रदान गर्न पाउने छैन भनिएको छ ।

सोही धाराको उपदफा २ मा कसैले पनि उत्पादक लगायतले प्रदान गर्ने आर्थिक भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउने छैन र उत्पादक लगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन् भनिएको छ । उपदफा ६ मा सार्वजनिक निकायका पदाधिकारीहरुले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने लगायतका कुनै पनि गतिविधि वा कार्यक्रममा सुर्ती उद्योगहरुको सहभागिता र सहकार्य गर्नु हुँदेन भनेर लेखिएको छ ।

यसैबीच सुर्तीजन्य पदार्थ नियन्त्रणमा क्रियाशिल छ वटा संस्थाले शुक्रबार पत्रकार सम्मेलन गरी चुरोट कम्पनीबाट आर्थिक सहयोग लिएर बाल अस्पताल बनाउने डा कोइरालाको योजना कानूनविपरित रहेको भन्दे आपत्ति जनाए । उनीहरुले डा कोइराला स्वयं सुर्तीजन्य पदार्थ नियन्त्रणको अभियानमा पहिले देखि नै क्रियाशिल भएको व्यक्ति भएको भन्दै एक्कासी सुर्ती उद्योगको अफर स्वीकारेको सुन्दा आश्चर्य लागेको बताए ।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानूनले बर्खिलाप गरेको र सारा नेपालीको आइडल भएको डा कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालमा सुर्ती उद्योगको सहयोग लिनुपर्ने अवस्था आउनु दुर्भाग्य रहेको बताए । ‘कानूनको पालना गराउन विगतमा थुप्रै पटक सहकार्य गरेको स्मरण गर्दै चन्दले डा कोइरालाले यस्तो गल्ती नगर्न आग्रह गरे । अझै पनि समय छ, डा कोइराला अवैध सहयोग नलिनुहोला,’ उनले भने ।

प्राथमिक स्वास्थ्य शिक्षा स्रोत केन्द्र रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्नुपर्छ भनेर सार्वजनिक फोरम र टेलिभिजनबाट सन्देश बाँडदै हिड्ने डा कोइरालाबाट यस्तो कार्य हुन नहुने विचार व्यक्त गरे ।

नेपाल विकास अनुसन्धान परिषदका कार्यकारी निर्देशक जयकुमार गुरुङले सुर्ती उद्योगहरुले आफ्नो प्रभाव जमाउन विभिन्न गतिविधिहरु गर्ने गरेको र बाल अस्पतालको नाममा सूर्य नेपालले सहयोग गर्ने भनिएको त्यसैको एउटा कडी रहेको बताए । उनले डा कोइरालाले उनीहरुसंग सहयोग लिनु नमिल्ने जिकिर गरे ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र कडरिया, नार्गार्जुन डेभलपमेन्ट कम्युनिटीक खेमराज जोशी , क्यान्सर सोसाइटी नेपालका अध्यक्ष रामनाथ मैनालीले सुर्य नेपालबाट डोनेशन लिन नियम र नैतिकता दुबै हिसावले नमिल्ने बताए ।

डा कोइरालाले भने सूर्य नेपालले खर्च गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तरगर्तको रकम सहयोग स्वरुप लिन लागेको प्रतिक्रिया दिए ।

नेपालमा बार्षिक २७ हजार बढीको सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुने गरेको छ । सोही मृत्युलाई नियन्त्रण गर्न सरकारले विसं २०६८ सालमा कानून निर्माण गरेको थियो । सूर्य नेपाल सोही कम्पनी हो जसले सरकारले बनाएको कानूनको निरन्तर उलंग्घन गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *