प्रदेश प्रमुख झाद्वारा ३२ औँ पटक रक्तदान

काठमाडौँ, २४ चैत । प्रदेश नं २ का प्रमुख राजेश झाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गरेका छन् । सोमबार उहाँले ३२ औँ पटक रक्तदान गरेका हुन् ।

“रक्तदानमा युवा सहभागिता बढाउनुपर्नेछ । म नियमित रक्तदाता भएकामा गर्व गर्दछु”, उनले भने। उनले विशेष गरी प्रदेश २ मा रक्तसञ्चार सेवा वृद्धि गर्न नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुका साथै समुदाय केन्द्रित चेतना कार्यक्रम बढाउन देशभरिका रक्तसञ्चार केन्द्रलाई सुझाव दिएका थिए ।

सो अवसरमा प्रदेश प्रमुख झालाई सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले रक्तदातापिन लगाइदिँदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराएका थिए । उनले भने, “रगतका अभाव हुन नदिन सोसाइटीले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।”

केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा  नेपालको रक्तसञ्चार सेवाको अवधारणा’ अनुसार रक्तसञ्चार गतिविधि अघि बढाइएको जानकारी दिए । उनले रक्तदान गरेमा प्रदेश प्रमुख झालाई धन्यवाद पत्रसमेत प्रदान गरे । हालैमात्र उनले निर्देशक पदको जिम्मेवारी सम्हालेका थिए ।

सुलभ, गुणस्तरीय र मर्यादित रक्तसञ्चार सेवाका लागि प्रदेश नं २ र कर्णाली प्रदेशमा पनि प्रदेशस्तरीय रक्तसञ्चार केन्द्र बनाउने जानकारी उनले दिए । उनका अनुसार विगत चार महिनाका अबधिमा मात्र केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र कालीमाटीले दशहजार भन्दा वढी युनिट रगत सङ्कलन गर्न सफल भएको छ । सङ्कलित रगत विरामीको आवश्यकता अनुसार वितरण समेत गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *