बैतडी : ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम

184
Shares


बैतडी, १ फागुन । कोरोना कहरका कारण स्थगित भएको ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा आएको छ । निःशुल्करुपमा गाउँघरमै चिकित्सकीय सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

हालसम्म जिल्लाका तीन स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न भइसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए । मेलौली नगरपालिका सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ । उनले भने, “प्रत्येक स्थानीय तहमा दुई दिने शिविर सञ्चालन गरेर सेवा दिन्छौँ ।” तीनवटै स्थानीय तहमा गरेर एक हजार ६०० लाई सेवा प्रदान गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

शिविरमा जनरल ओपीडी, अल्ट्रासाउण्ड, प्रयोगशाला, परिवार नियोजन, दन्त, अपाङ्गता परिचयपत्रका लागि सिफारिस, औषधि वितरणलगायतका सेवा प्रदान गरिँदै आएका छन् । ग्रामीण क्षेत्रका नागरिकलाई गाउँघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो ।

जिल्ला अस्पतालमा पुग्न सहज नभएका पालिकाका नागरिकलाई गाउँघरमै चिकित्सक पुगेर सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको डा जोशीले बताए । चालु आर्थिक वर्षमा जिल्लाका पाँचवटा दुर्गम पालिकामा शिविर सञ्चालन गरेर विभिन्न सेवा एकीकृतरुपमा दिने लक्ष्य रहेको जिल्ला अस्पतालले जनाएको छ । प्रदेश सरकारको कार्यक्रमअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनाका शिविर सञ्चालन भइरहेको हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *