कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुबर्षीय योजनाका लागि ६८ करोड बजेट प्रस्ताव, अर्थको सहमति

काठमाडौँ, २८ मंसिर ।  अर्थ मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना अन्तर्गत शिक्षक तथा कर्मचारी आवास भवन, शैक्षिक भवन निर्णाण लगायतका कार्यक्रमका लागि राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको ६८ करोड रुपैयाँको बजेटमा सहमति दिएको छ ।

कुल बजेटमध्ये ४४ करोड रुपैयाँ अर्थबाट र २४ करोड रुपैयाँ प्रतिष्ठानले बेहोर्ने गरी कुल ६८ करोड रुपैयाँ बजेटका लागि सहमति दिएको हो ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले सभाको छैटौँ र सातौँँ बैठकबाट स्वीकृत बहुबर्षीय गुरुयोजना अन्तगर्त पहिलोचरणको शिक्षक र कर्मचारी आवास, प्रतिष्ठान देखि च्यारे चौरसम्मको बाटो र च्यारे चौरमा बेसिक साइन्स भवन बनाउनका लागि आवश्यक बजेटका लागि अर्थले सहमति दिएको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विगत तीन बर्ष देखिएको प्रयास सफल भएको भन्दै यसमा सहयोग गर्ने स्वास्थ्य मन्त्रालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयलाई धन्यवाद दिएका छन् ।

प्रतिष्ठानका प्रशासकीय प्रमुख अमृत भण्डारीले प्रतिष्ठानका लागि शैक्षिक कार्यक्रम शुरु हुँदै जाँदा आवासीय भवन र बेसिक साइन्स भवन आवश्यक परिसकेको अवस्थामा अर्थको सहमतिपछि बजेट स्वीकृत हुनेमा विश्वस्त रहेको बताए । उनले प्रतिष्ठानको सभाबाट २०६९ सालमा ३ अर्व ५८ करोडको बहुवर्षीय गुरु योजना अघि सारिएको भन्दै पहिलो चरणमा १ अर्वको लागतमा ३ सय शैय्याको अत्याधुनिक अस्पताल भवन निर्माण गरिएको र अब स्वीकृत हुने क्रममा रहेको दोस्रो चरणको बजेटले शिक्षक तथा कर्मचारी आवास भवन तथा वेसिक साइन्स भवन बन्ने बताए । सोही बजेटबाट नयाँ भवनका जाने बाटो समेत तयार हुने बताए ।

प्रतिष्ठानको शैक्षिक कार्यक्रम फटाफट अघि बढ्दै

प्रतिष्ठानले यसबर्ष देखि विशेषज्ञ चिकित्सकका लागि अध्यापन शुरु गरेको छ । यसैबर्ष देखि ३ सिट एमडीजीपी, १ एनेस्थेसिया र १ बालरोग विषय गरी कुल ५ सिटमा पोष्ट ग्राजुएट्स तहको पढाई सञ्चालन गर्दैछ ।

अहिले त्यहाँ हेल्थ असिस्टेन्ट, ब्याचलर नर्सिङ, ब्याचलर अफ मिडवाइफ्री, व्याचलर अफ पब्लीक हेल्थ लगायतका विषयमा कक्षा सञ्चालन गरिरहेको छ ।

त्यस्तै एमबीबीएस कक्षा सञ्चालनका लागि समेत आवश्यक जोडबल गरेको छ ।

रजिष्ट्रार काफ्लेलले चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि सम्भाव्यता अध्ययनका लागि छिटै नै एक टोली जुम्ला आउन लागेको बताए ।

प्रतिष्ठानले पछिल्लो समय कर्णाली सहित अन्य प्रदेशका विभिन्न जिल्ला तथा प्रदेश अस्पतालसंग समन्वय गरी आफ्ना जनशक्ति पठाई स्वास्थ्य सेवा उपलव्ध गराउन थालेको छ ।

प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेले यसबाट दुर्गम क्षेत्रका जनताका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको बताए । ‘डाक्टर जान मुस्किल हुने कर्णाली तथा दुर्गमका अस्पतालमा हामीकहाँबाट चिकित्सकहरु जानुभएको छ । त्यसले जिल्लाका जनतालाई चिकित्सक चाहिँदो रहेछ भन्ने भोक जगाईदिएको छ । कतिपय ठाँउमा प्रष्तिष्ठानका चिकित्सक फर्किएपछि आफै चिकित्सक राख्न थाल्नु भएको छ । यो हाम्रा लागि समेत खुशीको कुरा हो,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *