बिरामी बोकेर काठमाडौँ आएको भ्यान त्रिशुलीमा खस्यो

काठमाडौँ, ११ मंसिर । प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा दुई जनाको ज्यान गएको छ । चालकसहित चार जना यात्रु सवार भ्यान आज विहान ५ : ३० बजे इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा खसेको थियो ।

भ्यान खस्दा एक जना घाइते भएका थिए भने बाँकी तीन जना भ्यान सहित नदिमा वेपत्ता भएका थिए । चितवन प्रहरीले भ्यान सहित वेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनकाले लु १ च ९७३१ नम्बरको पिकअप भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको जानकारी दिएको छ ।

जिप्रकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले दुई जनाको शव भ्यानभित्र भेटिएको बताए । बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ ।

सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालीम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको हो ।

घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *