चितवनमा १६५ जनामा स्क्रबटाइफस


चितवन, २१ कात्तिक । जिल्लामा साउन यता १६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको सङ्ख्या ३३ रहेको छ ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु सङ्क्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् । अन्य बाहिरी जिल्लाका बिरामी यहाँका अस्पतालमा उपचार गराउने क्रममा रोग देखापरेको हो ।

कार्यालयका अनुसार डेङ्गु सङ्क्रमित बिरामी भरतपुर महानगरपालिकाका १५, खैरहनी नगरपालिकाका तीन, माडी नगरपालिकाका एक, रत्ननगर नगरपालिकाका पाँच, राप्ती नगरपालिकाका एक र कालिका नगरपालिकाका दुई जना रहेका छन् । भरतपुर महानगरका ४२, खैरहनी नगरपालिकाका १०, माडी नगरपालिकाका सात, रत्ननगर नगरपालिकाका १०, राप्ती नगरपालिकाका नौ र इच्छाकामना गाउँपालिकाका एक जनामा स्क्रबटाइफस देखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक गीता आचार्यका अनुसार गत वर्ष जिल्लामा चार हजार ८०४ जनामा डेङ्गु भएको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको थियो । त्यसै गरी स्क्रबटाइफस १३९ जनामा भएकोमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष स्क्रबटाइफस वढेको छ भने डेङ्गु घटेको छ ।

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो मध्ये एक डेङ्गु हो । यसको सङ्क्रमणमा शुरूआती दिनमा शरीरमा रातो रातो डाबर आउने, एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने गर्दछ ।

यस्तै मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने ब्याक्टेरियाको कारणले स्क्रबटाइफस हुने भरतपुर अस्पतालका फिजिसियन डा महेन्द्र अग्रहरिले जानकारी दिए । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ । किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डिस हुने र पेट दुख्ने अग्रहरिले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *