प्रधानमन्त्री ओली र श्रीमती राधिकाको कोरोना रिपोर्ट नेगेटिभ


काठमाडौँ, १७ असोज । शुक्रबार कोरोना परीक्षणका लागि नमूना दिएका आफ्ना तीन जना सल्लाहकार तथा सचिवालयका केही सदस्यहरुको कोरोना रिपोर्ट पोजेटिभ आए पनि प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको रिपोर्ट नेगेटिभ आएको छ ।

तर,  यो रिपोर्ट चार दिन अगाडीको हो ।

सचिवालय सदस्य रामशरण बजगाईँका अनुसार प्रधानमन्त्री ओली, उनकी पत्नी राधिका, सहयोगी राजेश बज्राचार्य, दीपेन्द्र दाहाल लगायतले बुधबार विहान नै पीसीआर परीक्षणका लागि नमूना दिएका थिए । सोही दिन बेलुका आएको रिपोर्टमा नेगेटिभ छ ।

सचिवालयका केही सदस्यहरुले विहीबार नमूना दिएको भएपनि रिपोर्ट आइसकेको छैन् । शुक्रबार नमूना दिएको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकारी सूर्य थापा, परराष्ट सल्लाहकार डा राजन भट्टराई, स्वकीय सचिव इन्द्र भण्डारी, फोटोग्राफर राजन काफ्ले लगायतको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रेस सल्लाहकार थापाले आफूसहितका सल्लाहकार टोलीहरुमा अहिलेसम्म स्वास्थ्य समस्या नदेखिएको बताए ।

उता सचिवालय सदस्य बजगाईँले सल्लाहकार र सचिवालयका सदस्यहरुमा संक्रमण देखिएपछि प्रधानमन्त्रीको भेटघाट कार्यक्रम बन्द गरिएको जानकारी दिए ।

कसरी फैलियो संक्रमण ?
प्रेस सल्लाहकार थापाका अनुसार केही दिन अघि केही सुरक्षाकर्मीमा संक्रमण देखिएपछि त्यहाँ भित्र रहेका सबैको परीक्षण गराउन थालिएको हो । सो क्रममा बुधबार प्रधानमन्त्री र उनीसंग नजिक रहने सदस्यहरुको नमूना लिइएको थियो । त्यसपछि क्रमस अरुको पनि जाँच हुन थालेको हो ।

‘ केही दिन अघि केही सुरक्षाकर्मी साथीहरुमा संक्रमण देखिन थाल्यो । त्यो कहाँबाट कसरी संक्रमण भयो भन्ने पनि एकीन हुन सकेन । त्यसपछि संक्रमित सुरक्षाकर्मीको संख्या समेत बढदै जान थाल्यो । त्यसपछि हामी सबैले परीक्षण गराएका हौँ । यो हिजो आजको मात्रै होइन दुई चार दिन अघि देखिकै हो,’ थापाले भने ।

उनले बालुवाटारमा अहिलेसम्म दुई दर्जनबढी सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *