रोग प्रतिरोधी क्षमता बढाउन नि:शुल्क चुर्ण वितरण गर्दै आयुर्वेद चिकित्सालय

काठमाडौँ, ११ असोज । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणमा कमी आएको छैन् । उपत्यकाका केन्द्रीय अस्पतालहरु संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका छन् । तर नरदेवीस्थित आयुर्वेद चिकित्सालय (अस्पताल) भने संक्रमण नै नहोस वा भईहाले पनि छिटो निको होस् भन्ने अभियानमा जुटेको छ ।

उसले त्यसका लागि ठिक एक महिना अघि देखि आम सर्वसाधारणका लागि निशुल्क चुर्ण वितरण गर्दै आएको छ । अहिले औषधालयमा आएर दैनिक तीन देखि चार सय जनाले निशुल्क रुपमा चुर्ण लिएर जाने गर्दछन् ।

चिकित्सालयका निर्देशक डा प्रदीप केसीले गत ११ भदौ देखि आम सर्वसाधारणका लागि निशुल्क रुपमा जेष्ठवासादि, गुडूची र यष्ठिमधु मिसाइ तयार पारिएको चुर्ण वितरण गरिएको बताए । यो चुर्णमा १२ वटा आयुर्वेदिक जडिवुटिहरुको प्रयोग भएको उनले जानकारी दिए ।

‘हामीले कोरोनाविरुद्ध नै हो भनेर तोकेका त छैनौँ । यो खासगरी भाइरसजन्य संक्रमणविरुद्ध लड्न र रोकथामको लागि प्रयोग हुने चुर्ण हो । यसको नियमित सेवनले भाइरसजन्य संक्रमण घटाउँछ र रोग प्रतिरोधी क्षमता बढाउँछ । यतिवेला कोरोना भाइरसको विगविगी भएका बेला यसको प्रयोग फाइदा जनक हुने देखेर निशुल्क वितरण गरेका हौँ,’ डा केसीले भने ।

चुर्ण तयार गर्न औषधालय आफैले जडिबुटि खरीद गर्दछ । र आफैकहाँ तयार गर्दछ । ‘हामीले चुर्ण यहि तयार गर्दछौँ । कच्चा पदार्थ मात्रै बाहिरबाट ल्याउने हो,’ उनले भने ।

अस्पतालले एक पटकमा एक सातालाई पुग्ने गरी आम सर्वसाधारणका लागि निशुल्क चुर्ण उपलव्ध गराउँछ ।

पछिल्लो समय अस्पतालमा आउने आम सर्वसाधारण बाहेक, प्रहरी, सेना, क्लव, टोल सुधार समिति जस्ता समुह र समुदायस्तरमा वितरण गर्न समेत यि जडिबुटि समिश्रणयुक्त चुर्णको माग हुन थालेको छ ।

कोरोना भाइरसविरुद्ध नयाँ औषधि र खोप बनी नसकेको अवस्थामा यसबाट जोगिन आयुर्वेदिक पद्धतीको उपचार तथा जडिबुटिको प्रयोगका माग बढेर गएको छ । त्यसको उदाहरण नरदेवीमा जाने आम सर्वसाधारणको भिडले पुष्टि गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *