वीरलाई ‘कोभिड-१९ अस्पताल’ बनाउने सरकारको निर्णय

काठमाडौँ, २१ भदौ । सरकारले वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को आइतबार बसेको बैठकले वीरमा कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने र त्यहाँको सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट उपलव्ध गराउने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा संक्रमण बढेसंगै वीरमा कोभिड – १९ संक्रमितको उपचार गर्ने अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय भएको बताए । उनले त्यहाँबाट हुँदै आएको सेवा संगै रहेको राष्ट्रिय ट्रमा सेन्टरबाट हुने निर्णय भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बुधबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स उपकुलपति प्राडा डीएन साह, वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरी सहितको टोलीसंग बुधबार छलफल गरेका थिए । सोही अनुसार आइसीएसले आज निर्णय गरेको हो ।

वीर अस्पतालका निर्देशक डा सेन्चुरीले काठमाडौँ उपत्यकामा कोभिड-१९को संक्रमण बढी रहेको र अहिले पनि वीरमा कोभिडको विरामीको उपचार भइरहेको सन्दर्भमा अव थप बेड छुट्याएर उपचार गर्ने निर्णय भएको बताए ।

डा सेन्चुरीले भर्ना भएका नन् कोभिड बिरामीहरुको अवस्था हेरेर डिस्चार्ज गर्ने वा ट्रमामा सार्ने भन्ने बारेमा तयारी भएको बताए । तर उनले आकस्मिक कक्ष र डायलासिस युनिट भने वीरमै सञ्चालन हुने बताए ।

ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले वीरबाट हुने सेवा ट्रमा सेन्टरबाट उपलव्ध गराउनका लागि आवश्यक तयारी भइरहेको बताए । उनले चौथोमा ट्रमाका सर्जिकल बिरामी, पाँचौँमा मेडिकल, छैटौँमा सर्जिकल र प्लास्टिक सर्जरीका बिरामी राख्ने तयारी भएको बताए ।
ट्रमाको भुइतल्लामा आकस्मिक कक्ष र ओपिडी, दोस्रोमा आइसीयू, तेस्रोमा कार्यालय प्रसाशन राखिएको छ ।

‘ट्रमामा हामीले स्पेश मात्रै लिने हौँ । यहीकै जनशक्ति गएर सेवा गर्ने भन्ने व्यवस्था मिलाउँदै छौँ,’ डा सेन्चुरीले भने ।

वीरमा कुल बेड ४६० छ । तर अहिले सो अस्पतालमा ३८० बेड जति मात्रै सञ्चालनमा आएको छ । निर्देशक डा सेन्चुरीले ती मध्ये करीब ३०० बेडहरु कोभिड १९ का लागि छुट्याउने तयारी भएको बताए ।

अहिले अस्पतालमा आएका बिरामी र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ८१ जना कोरोना पोजेटिभको उपचार भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *