कोभिड-१९ र भदौ-१९ को कस्तो संयोग : सबै नतिजाले गर्‍यो ‘रेकर्ड ब्रेक’ !


काठमाडौँ, १९ भदौ । संयोग नै मान्नु पर्ला आज भदौ -१९ को दिन विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड -१९ को परीक्षणमा आएका नतिजाले आज नेपालमा एक पछि अर्को रेकर्ड राखेको छ ।

त्यो रेकर्ड के मा भने  आज  सबै भन्दा बढी संक्रमण, सबैभन्दा बढी संक्रमण मुक्त, सबैभन्दा बढी आईसीयू र सबैभन्दा बढी भेन्टिलेटरमा उपचाररत । अनि सबैभन्दा बढी मृत्यु पनि आजकै दिन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सुनाएको विवरण एक पछि अर्को रेकर्ड राख्दै थियो ।  जस्तो कि,  आज काठमाडौँ उपत्यकामा ४५४ जनामा कोरोना संक्रमण भएको सुनाए । यो संख्या उपत्यकामा एकै दिन देखिएको सबैभन्दा बढी हो । त्यसो त काठमाडौको संक्रमण ३८६ जना भनियो । यो पनि अहिलेसम्म एकैदिनमा देखिएको सबैभन्दा बढी हो ।

यस्तै देशमा संक्रमितको संख्या १ हजार ३ सय ५९ देखियो । यो संख्या पनि नेपालमा एकै दिनमा थपिएको कोरोना संक्रमितको सबैभन्दा बढी हो ।

देशभर आज संक्रमित महिलाको संख्या ४६४ रहेको छ । यो पनि अहिलेसम्म महिलामा एकै दिन देखिएको सबैभन्दा बढी संक्रमण हो ।

यस्तै आज देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनबाट १ हजार ३५४ जना कोरोना मुक्त भएका छन् । यो संख्या पनि एकै दिन सबैभन्दा बढी डिस्चार्ज भएको संख्या हो ।

यस्तै डा गौतमका अनुसार आज विभिन्न अस्पतालमा आइसीयूमा १५१ र भेन्टिलेटरमा २६ जना कोरोना संक्रमित उपचाररत छन् । यो संख्या पनि अहिलेसम्ममा एकै दिन देखिएको सबैभन्दा बढी हो ।

यस्तै मन्त्रालयले पछिल्लो चौविस घण्टामा कोरोनाबाट १४ जनाको ज्यान गएको बताएको छ । मन्त्रालयको यो विवरण अनुसार एकै दिन सबैभन्दा बढी संक्रमितको मृत्यु भएको पनि आज नै हो ।

लकडाउन खुलेपछि त्यसअघि नियन्त्रण उन्मुख भएको कोभिड १९को फैलावटमा निकै तिब्रता देखिएको छ । तर यहि बेला कतिपय व्यक्तिले कोरोना केही होइन भन्ने गरी अफवाह फैलाउन थालेका छन् ।

प्रवक्ता डा गौतमले त्यसरी अफवाह फैलाउने र गलत सूचना दिने काम रोक्न सम्वन्धीत पक्षलाई र त्यस्ता सूचनाको पछि नलाग्न आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *