रुपन्देहीमा तीन जना कोरोना संक्रमितको मृत्यु

0
Shares


रुपन्देही, १९ भदौ । रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण आज तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका सङ्क्रमितको मृत्यु भएको हो ।

होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका –८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए । मिर्गौलाले काम नगरेपछि चितवनमा डायलायसिस गरेर फर्किएका उनको बिहान मृत्यु भएको बताइएको छ ।

यस्तै बुटवल उपमहानगरपालिका– १० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर – ७ की ६४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यही भदौ ४ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचाप, मधुमेह, मिर्गौला र निमोनियाको समस्या रहेको र कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि बिहान बुटवल उपमहानगरपालिका – ८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो । यससँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *