यतिकेमले ल्यायो कोरोनाबिरुद्ध प्रयोग हुने रेमडिसिभिर औषधि

काठमाडौँ, १३ भदौ । कोरोना भाइरस (कोभिड – १९)को संक्रमणमा परि गम्भिर अवस्थामा पुगेका बिरामीलाई चलाउन सिप्ला कम्पनीबाट उत्पादित रेमडिसिभिर औषधि नेपाल भित्रिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्न लागेको ‘क्लिनिकल ट्रायल’का लागि औषधि व्यवस्था विभागको अनुमति पछि सिप्लाको आधिकारिक आयातकर्ता यतिकेम डिस्ट्रीब्युटर प्रालिले रेमडिसिभिर औषधि भित्र्याएको हो ।

यतिकेमका प्रमुख प्रभुराज बैद्यले आज (शनिबार) विहान ४८० भाइल औषधि काठमाडौँ आइपुगेको बताए । उनले अर्को ४८० भाइल रेमडिसिभिर केही दिनमै आइपुग्ने जानकारी दिए ।

‘रेमडिसिभिर औषधि आइपुगेको छ । त्यसको जानकारी औषधि व्यवस्था विभागलाई गराईसकेका छौँ । अब आवश्यकताका आधारमा सरकारको मापदण्ड अनुसार तोकिएको अस्पतालमा यी औषधि वितरण हुनेछन् । आजै चाँही टेकुस्थित शुक्रराज अस्पतालमा चाहिएको छ भन्ने जानकारी आएको छ । त्यहाँबाट वितरण शुरु गर्नेछौँ,’ उनले भने ।

यतिकेमले प्रति भाइल औषधिको एमआरपी मूल्य ६ हजार ४ सय रुपैयाँ भएको जानकारी दिएको छ ।

यसअघि विभागले सिप्लासहित माइलन र हिटेरो कम्पनीबाट उत्पादित औषधि आयात गर्न नेपालका आयातकर्ताहरुलाई अनुमति दिएको थियो । अरु दुई कम्पनीको औषधि पनि नेपालमा भित्रिईसकेको बताइएको छ ।

सरकारले अति गम्भीर बिरामीका लागि मात्रै कोभिड – १९ का लागि तोकिएको अस्पतालमा तोकिएको मापदण्डमा रहने गरी रेमडिसिभिर औषधि प्रयोग गर्न सक्ने बताएको छ ।

कोभिड – १९का अति गम्भिर बिरामीलाई दिइने यो महंगो औषधिको खर्च भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैले व्यहोर्ने स्पष्ट पारेको छ । मन्त्रालयले अस्पतालहरुले बिरामीहरुलाई औषधि प्रयोग गरिसकेपछि त्यसको खर्च सोधभर्ना गरिदिने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *